१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कास्कीका स्थानीय तहः रुपा अब्बल, पोखरा महानगर सबैभन्दा कमजोर

वित्तीय सुशासनमा रुपा गाउँपालिका कास्कीका पालिकाहरुमध्ये अब्बल ठहरिएको छ।

जिल्ला समन्वय समिति कास्कीले जिल्लास्थित स्थानीय तहको आर्थिक वर्ष २०७९/८० को वित्तीय सुशासन जोखिम मूल्याङ्कन (फ्रा) को नतिजामा रुपा गाउँपालिका ६७ अंक प्राप्त गर्दै कास्कीमा अब्बल ठहरिएको हो।

सो नतिजा अनुसार पोखरा महानगरपालिका भने सबभन्दा कमजोर देखिएको छ। पोखरा महानगर ६० अंक प्राप्त गर्दै वित्तीय सुशासन मूल्यांकनमा कास्कीका पाँच स्थानीय तहमध्ये सबैभन्दा पुछारमा परेको हो।

जिसस कास्कीले बुधबार सार्वजनिक गरेको वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा माछापुच्छ्रे गाउँपालिका दोस्रो, अन्नपूर्ण गाउँपालिका तेस्रो र मादी गाउँपालिका चौथो स्थानमा छन्। मूल्याङ्कनमा माछापुच्छ्रे गाउँपालिकाले ६४.५, अन्नपूर्ण गाउँपालिकाले ६२ र मादी गाउँपालिकाले ६०.५ अंक प्राप्त गरेको जिसस कास्कीका प्रमुख लीलाधर पौडेलले जानकारी दिए।

प्रमुख पौडेलले कास्कीका स्थानीय तहहरु वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मध्यम जोखिम देखिएको बताए। ‘सबै स्थानीय तहहरुले ६० भन्दा बढी अंक प्राप्त गरेका छन् । यसरी हेर्दा मध्यम जोखिम देखिन्छ। त्यसैले अब सबै स्थानीय तहहरुले वित्तीय सुशासनमा अब्बल बन्ने लक्ष्य लिनुपर्छ,’ उनले भने।

प्रमुख पौडेलले सुशासन र समृद्धिको जग वित्तीय सुशासन भएकाले त्यसतर्फ सबै सचेत रहनुपर्ने बताए। सुशासन सबैको साझा दायित्व भएको उल्लेख गर्दै उनले भने, ‘अब सबै स्थानीय तहहरुले बैरुजुरहित हुनेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ।’

जिसस कास्कीले वित्तीय सुशासन जोखिम मुल्याङ्कन कार्यविधि–२०७७ लाई आधार बनाइ योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मुल्याङ्कन तथा लेखा परीक्षण र राजश्व व्यवस्थापनका  विषय क्षेत्र तोकेर कुल ११८ वटा सूचकमा आधारित भएर १०० पूर्णाङ्कमा मूल्याङ्कन गरेको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिए।

काम गराई र बुझाइमा एकरूपता नहुनु, नतिजाको प्रभावकारी कार्यान्वयन र समीक्षाको अभाव, अभिलेख व्यवस्थापन प्रभावकारी नहुनुलगायतका कठिनाईहरु देखिदा नतिजा सोंचे अनुरुप नआएको उनले प्रष्ट्याए।

प्रकाशित: ३० फाल्गुन २०८० १५:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App