गिद्दलाई प्रकृतिको कुचीकार मानिन्छ। मानिसलाई लाग्ने हैजा, झाडापखालालगायतका रोग महामारीबाट जोगाउन पनि गिद्दको भूमिका अतुलनीय हुन्छ भनिन्छ। तर पछिल्लो समय प्रकृतिको कुचिकार मानिने गिद्द लोपोन्मुख अवस्थामा छन्।
गिद्द संरक्षण अभियान सञ्जालका अध्यक्ष डिल्लीबहादुर रावतका अनुसार नेपालमा नौ प्रकारका गिद्द पाइने भए पनि पछिल्लो समय हराउँदै जाने चिन्ता बढको छ। ‘हामीले संरक्षण अभियान चलाइरहेका छौं’, उनले भने, ‘त्यसमा सरकारले पनि ध्यान दिनुपर्छ।’
हाल गिद्द संरक्षणका लागि नेपालभर सातवटा गिद्द रेस्टुराँ सञ्चालनमा छन्। यद्यपि ती रेस्टुराँ सञ्चालन गर्न चुनौती रहेको पंक्षी संरक्षण संघका कार्यक्रम अधिकृत भुपाल नेपालीको भनाइ छ। हाल दाङमा दुइवटा, घोचोक पोखरा, गैंडाताल रूपन्देही, नवलपरासी पूर्व, कैलाली, कोशी टप्पुमा एकएकवटा यस्ता रेस्टुराँ छन्।
रेस्टुराँ सञ्चालन धेरै खर्चिलो हुने गरेकाले समस्या हुने गरेको अध्यक्ष रावतले बताउँछन्। उनका अनुसार रेस्टुराँमा बुढा भएका गाईवस्तु राखिन्छ। ‘उनीहरूको रेखदेखका लागि खर्च ठूलो हुन्छ। उनीहरूलाई पराल खुवाउनुपर्ने र हेरचाह गर्न कर्मचारी राख्नुपर्ने हुन्छ। त्यहाँ पालिएका पशु मरेपछि मात्रै गिद्दको आहारा बन्ने गर्छन्’, उनले भने। गिद्द रेस्टुराँमा पर्यटक आउने भए पनि त्यसलाई सरकारले संरक्षण गर्न सके निरन्तरता पाउने उनको भनाइ छ।
हाल पशुमा दिइने डाइक्लोफेनेक औषधिकै कारण गिद्द हराउने अवस्थामा रहेको उनको भनाइ छ। साथै प्राकृतिक बासस्थान, आहारमा ह्रास र मानवनिर्मित विद्युतीय तारबारलगायतका कारण गिद्दको संख्या घट्दो रहेको उनको भनाइ छ।
लुम्बिनी प्रदेश वन मन्त्रालयका अधिकृत धनिश्वर न्यौपानेले अग्ला रुखहरूलाई संरक्षण गर्ने, सुरक्षित आहाराको व्यवस्थापनको काम भइरहेको छ। सरोकारवाला, तीनै तहका सरकार, संरक्षित क्षेत्र, डिभिजन वन कार्यालय, पशु विज्ञ केन्द्र र संरक्षणमा आधारमा सबै गैरसरकारी संघसंस्थाहरूको सहकार्यको खाँचो रहेको बताए।
गिद्द संरक्षणका लागि सरकारी स्तरबाट पहिलोपटक लुम्बिनी प्रदेश सरकारले मात्रै बजेट विनियोजन गरेको छ। प्रदेश सरकारले गिद्द संरक्षणसँगै लोपोन्मुख प्रजातिका मौवा, सतिसाल, विजयसाललगायतका लागि तीन करोड २८ लाख बजेट विनियोजन गरेको छ। यसअघि सरकारी स्तरबाट गिद्द तथा लोपोन्मुख वनस्पति संरक्षणका लागि बजेट विनियोजन भएको थिएन।
नेपालमा विभिन्न नौ प्रजातिका करिब १३ हजारभन्दा बढी गिद्द रहेको अनुमान गरिएको छ। हिमाली र चिसो स्थानमा रहने हाडफोर प्रजातिका गिद्द निकै कम संख्यामा छन् भने अन्य प्रजातिका गिद्द हिमालीबाहेक सबैजसो स्थानमा पाइन्छ। नेपालमा डङ, सानो खैरो, खैरो, राज, हिमाली, सुन, सेतो, हाडफोर र लामो ठुँडे गरी नौ प्रजातिका गिद्द पाइएको छ।
नेपालमा सबैभन्दा बढी हिमाली प्रजातिका गिद्द करिब १० हजारको हाराहारीमा रहेको तथ्यांक छ भने खैरो, राज र लामो ठँुडे प्रजातिका गिद्द भारत, पाकिस्तान, चीन, बर्मा, थाइल्यान्डलगायतका देशबाट जाडो छल्न नेपाल आउने गर्दछन्।
विश्वमै पहिलोपटक नेपालमा गिद्द संरक्षणको थालनी भएको र संकटापन्न अवस्थामा रहेका तिनकोे संरक्षणमा यस्ता प्रयास फलदायी हुने जनाइएको छ। प्रकृतिमा छाडिएका गिद्दका पखेटामा नम्बरसहितको ट्याग लगाइएको छ भने सेटलाइटबाट अनुगमन गर्न सकिने गरी गिद्दको ढाडमा रेडियोकलर जडान गरिएको छ।
विगत १० वर्षमा नेपालमा ९१ प्रतिशत र भारतमा ९९.९ प्रतिशत गिद्द मासिएपछि यी दुवै देशका साथै अन्य मुलुकले पनि गिद्द संरक्षणमा जोड दिन थालेका छन्। –रासस
प्रकाशित: २८ फाल्गुन २०८० १२:४५ सोमबार