१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सात महिनाको अवधिमै ६० जनाले गुमाए ज्यान

भयावह सडक दुर्घटना

पूर्व–पश्चिम महेन्द्र राजमार्गको पिलुवाहामा सवारी जाँच गर्दै ट्रफिक प्रहरी। तस्बिर: नागरिक

पथलैया–हेटौंडा त्रिभुवन राजपथ, पथलैयादेखि पूर्व जाने पूर्व–पश्चिम महेन्द्र राजमार्ग, वीरगन्ज–पथलैया व्यापारिक मार्ग र वीरगन्ज–कलैया–बरियारपुर हुलाकी सडकमा सवारी दुर्घटना संख्या भयावह देखिएको हो।

सवारी दुर्घटनामा परी ठूलो संख्यामा मानिसले ज्यान गुमाउने, घाइते भएर अंगभंग हुनुका साथै सवारीसाधन पनि क्षति हुँदै आएका छन्। राजमार्गमा चल्ने सवारीसाधन जाँच गर्न जताततै ट्रफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी देखिए पनि सवारी दुर्घटनामा कुनै कमी आएको देखिएको छैन। गत फागुन २२ मा जितपुरसिमरा उपमहानगरपालिका–२२ मा पर्ने ३ नम्बर पुल भन्ने स्थानमा दुर्घटना हुँदा त्यसमा सवार २४ जना घाइते भएका थिए।

हेटौंडा–पथलैया सडकखन्डमा धनगढीबाट विराटनगरतर्फ आइरहेको ना६ख ९०३० नम्बरको बस पुलनजिक खोलामा खसेका बसमा सवार २४ जना घाइते भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीले बताएका छन्।

बसका चालकले तीव्र गतिमा बस चलाएकाले बस दुर्घटनामा परेको भन्दै चालकलाई इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा राखेर कारबाही प्रक्रिया अगाडि बढाएको बोगटीले बताए। दुर्घटनामा परेर घाइते भएकाहरू विभिन्न अस्पतालमा उपचार गराएर घर चारजनाबाहेक सबैजना घर फर्किएको उनले बताए।

फागुन ९ गते जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित आधाभारमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भयो। सिमराबाट हेटौंडातर्फ जाँदै गरेको ना६ख ३३५२ नम्बरको ट्रक र हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च १३३४ नम्बरको बुलेरो पिकअप एक आपसमा ठोक्किएर भएको दुर्घटनामा दुईजनाले ज्यान गुमाएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले  जनाएको छ।

सवारी दुर्घटनामा बुलेरो पिकअपका चालक नुवाकोट विदुर नगरपािलका–९ कोल्नी निकासी सुजन मगराती र भारत बिहार मोतिहारी जिल्ला कुन्दनपुर निवासी चन्दन चौहानको मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्रफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक भिमकिरण बोगटीले बताएका छन्।

पुस ६ गते कलैया–वीरगन्ज हुलाकी राजमार्गअन्तर्गत दुधौरा खोलाको पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा कलैया उप–महानगरपालिका वडा नम्बर–१३ बस्ने कुन्दन मेहता र वडा नम्बर १२ सितलपुर बस्ने अभिमन्यु कुशवाहा रहेको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताए।

यस्तै, कलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको मोटरसाइकल दुधौरा पुलको बायाँ साइडको पिलरमा ठोकिँदा मोटरसाइकलमा सवार दुवैजना घाइते भएका थिए। घाइते दुवैजनाको उपचारको क्रममा मृत्यु भएको न्यौपानेले बताए। गत पुस ३ गते जिल्लाको अमलेखगञ्ज र निजगढमा भएको सवारी दुर्घटनामा पाँचजनाको मृत्यु भयो।

जितपुरसिमराको अमलेखगन्जस्थित ३ नम्बर पुलनजिकै ट्रक र बस एक आपसमा ठोकिँदा तीनजनाको मृत्यु भएको थियो भने निजगढमा दुईवटा मोटरसाइकल एक आपसमा ठोकिदा थप दुईजनाको मृत्यु भएको थियो।

झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना७ख ७३०० नम्बरको ट्रक एक आपसमा ठोकिएको ट्रक चालक तनहुँ पिपरटार बस्ने पूर्ण गुरुङ र बसचालक मकवानपुर हेटौंडा–३ का हरिशमशेर सुयाल थापा र अर्का अर्का झापा दमक–४ बस्ने बसमा सवार कालिराम धिमाल गरी तीनजनाको मृत्यु भएको प्रहरी प्रवक्ता न्यौपानेले बताए।

त्यसैगरी, पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत निजगढमा निजगढ देखी उदयपुरतर्फ जाँदै गरेको मोटरसाइकल र रौतहटदेखि निजगढतर्फ आउँदै गरेको मोटरसाइकल एक आपसमा ठोकिँदा जिल्ला उदयपुर कटारी–२ बस्ने ३४ का चन्द्रदीप लामा र जिल्ला रौतहट चन्द्रपुर–३ पौराई बस्ने वर्ष ३१ को बुद्ध बहादुर बलको मृत्यु भएको प्रवक्ता न्यौपानेले बताए।

मृतक दुवैजना मोटरसाइकल चलाक रहेको उनले बताए। एक आपसमा मोटरसाइकल ठोकिँदा दुवैजना घाइते भएको र उनीहरूको जिनगढ सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। सवारी दुर्घटना हुँदा ज्यान गुमाउने वा घाइते हुने यी घटना उदाहरण मात्रै हुन्।

चालु आर्थिक वर्षको साउनदेखि माघसम्ममा बारामा पाँच सय ५० वटा दुर्घटनामा ६० जनाले ज्यान गुमाएका छ भने र ९७७ जना घाइते भएको जिल्ला ट्रफिक कार्यालय निजगढ, बाराले  जनाएको छ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीले सवारी दुर्घटना हुनको मुख्य कारण चालकहरूले तीव्र्र गतिमा सवारीसाधन नै चलाउन रहेको बताएका छन्।

राजमार्गहरूमा ट्रफिक प्रहरीको जाँच भएका बेला चालकहरूले कम गतिमा सवारीसाधन चलाउने गरेको र जाँच नभएका स्थानमा तीव्र गतिमा सवारीसाधन चलाउँदा धेरैको ज्यान जाने गरेको छ भने धेरैजना घाइते भएर अंगभंग हुने गरेको उनले बताए।

मधेस प्रदेशका आठ जिल्लामा चालु आर्थिक वर्षमा सवारी दुर्घटनामा परी दुई सय ९० जनाले ज्यान गुमाएको जुन गत वर्षको तुलनामा कम भएको दाबी बोगटीले गरेका छन्। तीन हजार ६ सय १२ वटा सवारीसाधन दुर्घटनामा परी २९० जनाको ज्यान भएको छ भने पाँच हजार सात सय २६ जना घाइते भएका उनले बताए।

प्रकाशित: २७ फाल्गुन २०८० ०८:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App