१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

श्रीमती हत्या आरोपमा श्रीमानसहित चार पक्राउ

सिरहाको गोलबजार नगरपालिका–६ गोलबजारस्थित होटलमा भएको महिला हत्याको अनुसन्धानको क्रमममा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ। ३५ वर्षीया अनिताकुमारी साहको हत्या अनुसन्धानमा उनका श्रीमान महेन्द्रकुमार साहसहित चारजना छन्।

शनिबार बिहान करिब २ बजेतिर धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा अनिताको शव फेला परेको सिरहा प्रहरी प्रमुख एसपी सन्तोष आचार्यले बताए। घटनाको सुक्ष्म ढंगले अनुसन्धान थालिसकेको जानकारी दिँदै एसपी आचार्यले अनुसन्धानको क्रममा प्रहरीले मृतकका श्रीमानसहित अर्का एक पुरुष र दुई महिला गरी चारजनालाई नियन्त्रणमा लिएको बताए।

प्रहरीले हत्या भएको होटलको पछाडि सिमेन्टको टायल भिजाउने पोखरीबाट हत्यामा प्रयोग गरिएको खुकुरी बरामद भएको जनाएको छ। पछिल्लो एक वर्षदेखि साह दम्पतीले गोलबजारमै दुई अलगअलग ठाउँमा सामान्य होटल चलाउँदै आएका थिए। शव भेटिएपछि धनुषाको लालगढबाट ल्याएको तालिम प्राप्त कुकुरको सहयोगमा प्रहरीले अनुसन्धान  गरेको छ।

गोलबजार प्रहरी प्रमुख प्रहरी निरीक्षक सुनिल कार्कीका अनुसार स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर चलाइएको होटलको कोठामा धारिलो हतियारले गर्धन काटिएको र टाउकोमाथि सिलौटो प्रहार गरी हत्या गरिएको अवस्थामा सुत्ने खाटनजिकै शव फेला परेको थियो।

घटनाको अघिल्लो रात साह दम्पत्तीका सात वर्षीया छोरी तथा पाँच र तीन वर्षका छोरा अर्को कोठामा सुतेका थिए। स्थानीयका अनुसार राति अबेर अनिताका श्रीमान् अत्तालिंदै बाहिर आएर हो–हल्ला गरेपछि छिमेकीले घटनाबारे थाहा पाएका थिए। घरभित्र के भएको छ भन्ने समेत नसुनाई आफूलाई उपचारका लागि अस्पताल पुर्‍याउनु भने,’ स्थानीयलाई उद्धृत गर्दै प्रहरीले भने, ‘छिमेकीले उनलाई गोलबजारस्थित लङलाइफ अस्पताल पुर्‍याएर फर्किएपछि मात्र कोठाभित्र उनकै श्रीमतीको हत्या भएको शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।’

मृतकका श्रीमान् महेन्द्र यसअघि पनि शरीर बन्धक र बलात्कार मुद्दामा तीन वर्ष जेल सजाय भुक्तान गरिसकेको अनुसन्धानको क्रममा देखिएको प्रहरीले जनाएको छ। महेन्द्रको अपरधिक पृष्ठभूमिका कारण अनिता हत्यामा उनकै संलग्नता हुनसक्ने आशंका गरिएको छ।

प्रकाशित: २७ फाल्गुन २०८० ०७:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App