१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

राजनीतिमा मधेसी महिला

मधेस

आज राजनीतिमा महिला प्रतिनिधित्वका लागि होडबाजी भइरहेको छ। सरकार पनि महिला आरक्षणको व्यवस्था गरेर सामाजिक र राजनीतिक क्षेत्रमा महिला समावेशिताको वकालत गरेको छ। आज देश वा प्रदेशका अनेकौं महत्त्वपूर्ण पदमा महिला सहभागिताको सुनिश्चितता छ। निर्वाचन आयोगले कोटा निर्धारण गरेको छ। दलहरू महिला प्रतिशत निर्धारण गरेर उनीहरूको क्षमता र गुणको भरपूर उपयोग गर्दैछन्।

विगतको इतिहास केलाउँदा मधेसीप्रतिको धारणा कष्टपूर्ण त छँदै थियो, महिला त झन् घरआँगनमा समेटिएका, घुम्टोभित्र आफ्नो संसार सम्झने बनाइएका थिए। समयले सामाजिक, राजनीतिक परिवर्तनलाई अनिवार्य बनायो र आज परिस्थिति बदलिएको छ।

तर, यस्तो माहोलको सिर्जना हुनुमा अनेकौं कठिन वर्ष खर्चिएका छन्। सामाजिक, राजनीतिक विद्रूप्तताविरुद्ध खडा भएका आन्दोलन, संघर्ष र विद्रोहको पृष्ठभूमिबाट आएका प्रतिभा नै आजको यस परिवर्तनका सिर्जनकर्ता हुन्। परिवर्तनका यी प्रसङ्ग कोट्याउँदा पूर्वमा घटित केही प्रसङ्गतिर ध्यानाकर्षण हुनुपर्ने देखिन्छ।

प्रसङ्ग एक: २०४५ असोज १८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम भनी पदच्युत गरेपछि देउवा कांग्रेसले देशव्यापी विरोध कार्यक्रम सुरु गरेको थियो। काठमाडौंमा दैनिक प्रदर्शन, गिरफ्तारी हुने गथ्र्यो। प्रदर्शन आठौं चरणमा गइसकेको थियो।

त्यसै प्रदर्शनका क्रममा २०६१ वैशाख ८ मा आफ्ना राजनीतिक साथीसाथ सरकारको कडा विरोध गर्दै नारा र प्रदर्शनमा व्यस्त जमातलाई प्रहरीले छेकबार गरी ट्रकमा चढाउन थाले। त्यसको प्रतिकार गर्दै चारतारे झन्डा लिई नारा लगाइरहेकी एक महिलालाई जबर्जस्ती ट्रकमा कोच्न थालेको अवस्थामा ट्रक नै विद्युत् पोलमा ठोकियो र उनी सख्त घाइते भइन्।

उनलाई शिक्षण अस्पताल पुर्‍याइयो। तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकले २०६१ वैशाख ८ मा एउटा विज्ञप्ति प्रकाशित गरी प्रदर्शनमा घाइतेमध्ये उनको नाम प्रमुख रूपमा राखेर प्रसारित गर्‍यो। उक्त विज्ञप्ति काठमाडौंका सबै दैनिकले छापेका थिए।

प्रसंग दुई: तस्बिर हेरौं, महिला प्रहरीले एक महिलालाई चारैतिरबाट समात्दै भ्यानतिर लग्दैछन् र समातिएकी महिला सडकमा अडेर नारा लगाउँदै प्रतिकार गर्दैछिन्।

यो तस्बिर काठमाडौंस्थित भद्रकालीको हो, जहाँ २०५५ मा महिला अधिकारका निमित्त महिला विधेयक पारित गर्ने माग गर्दै ६० जिल्लाका महिलाको व्यापक प्रदर्शन भएको थियो। जसमा अत्यन्त उग्र रूपमा प्रस्तुत यी महिला सुरक्षा निकायका लागि पनि तारो बन्न पुगेकी थिइन् र झम्टेर उनलाई समात्न लाग्दा राजधानीका प्रमुख पत्रपत्रिकाले प्रथम पृष्ठमा यो तस्बिर छापेर प्रदर्शन र त्यसमा अहम् भूमिका निर्वाह गर्दै गरेको उक्त महिलाको संघर्षलाई मान्यता दिएका थिए।

प्रतिष्ठित दैनिक पत्रिकाहरूको मुख पृष्ठमा तस्बिरसहित ठाउँ पाउनु कम महŒवको कुरा थिएन।

यी माथिका दुवै प्रसङ्गकी महिलाबारे जिज्ञासा हुनु अस्वाभाविक होइन। उनी हुन् धुनुषाको बलहा कठाल घर भएकी तर स्थायी बसोबास जनकपुरधाम–१ भएकी सरस्वती चौधरी हुन्। पछि उनी नेपाली कांग्रेसबाट पहिलो संविधान सभाकी सदस्य भएकी थिइन्। जब प्रदेश बने, उनी तत्कालीन प्रदेश–२ को समानुपातिक सभासद्मा नेपाली कांग्रेसबाट निर्वाचित भएकी थिइन्।

तीन छोरा, एक छोरीकी आमा सरस्वती विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय भइन्। खास गरी २०३६ को जनमत संग्रहमा पनि उनी सहयोगी भूमिकामा थिइन्। २०४६ को जनआन्दोलनमा एक मात्र मधेसी महिलाका रूपमा भूमिगत रही आफूलाई पूर्ण रूपमा होमिदिएकी चौधरी प्रजातन्त्र पुनस्र्थापनापछि आजसम्म नेपाली कांग्रेसमै बसेर राजनीति गर्दै आएकी छन्।

२०४६ को जनआन्दोलनमा आफ्नो माझिल छोराका साथ सडकमा प्रदर्शन गर्दै हिँडेकी चौधरी त्यति बेला स्तब्ध भएकी थिइन्, जब सडकमा भइरहेको रोडाबाजीकै क्रममा कतैबाट उछिट्टिएर आएको ढुंगाले उनका छोराको नाकको हड्डी नै भाँचिएको थियो। पछि अप्रेसन गराउनुपर्‍यो र आजसम्म उनको नाक सोझो हुन सकेको छैन।

माथिका तीनवटै घटनामा शारीरिक, मानसिक र आर्थिक क्षति बेहोर्नुपरे पनि न त सरकार वा पार्टीप्रति नै उनको सद्भावमा कुनै फरक पर्‍यो, न उनले कहिल्यै याचना गरिन्। उनी सच्चा प्रजातन्त्रवादीका रूपमा पार्टीले खोजे निरन्तर सडकमा ओर्लिन्।

आन्दोलनको बेला घरबाट उनी हातमा चारतारे झन्डासहित सडकमा आउँथिन्। तब महल्लावासीलाई भन्नुपर्दैनथ्यो। उनीहरू बुझिहाल्थे–अवश्य पनि कतै जुलुस÷प्रदर्शन हुने हो। कुनै पनि नीति, अन्याय र प्रजातन्त्रविरोधी शक्तिविरुद्ध विरोधप्रदर्शन कार्यक्रम तय भएछ। त्यसमा सामेल हुन सरस्वतीलाई बोलाउनुपर्दैन। आमन्त्रण गर्नुपर्दैन। जानकारी मात्र होस्, उनी त्यही भाव, जोस र प्रतिबद्धतापूर्वक जुलुसमा सामेल हुन्छिन् र सामान्यतः अगाडिको ब्यानर नै बोकेर हिँड्छिन्।

२०६२ चैत्र २४ गतेदेखि प्रारम्भ भएको आम हड्ताल र विरोध प्रदर्शन कार्यक्रममा प्रहरी दमनको पूर्ण सम्भावना छँदाछँदै ब्यानर बोकी अगाडि अगाडि नै रहने उनको दृढताले नगरवासीलाई निकै हौसाएको थियो। आज राजनीतिमा मधेसी महिलाको कमी छैन। सभासद्कै रूपमा पनि विभिन्न दलबाट प्रशस्त महिलाहरू प्रतिनिधित्व गर्दैछन्। यो सुखद पक्ष हो। तर १५–२० वर्ष पहिलेको अवस्था सोच्दा जिउ सिरिंग हुन्छ।

जनआन्दोलनमा मधेसी महिलाको सशक्त भूमिकाको खोजी हुँदा सरस्वतीलाई कहिल्यै पनि बिर्सन सकिँदैन। उनी महिला संघकी जिल्ला सदस्य, सांस्कृतिक विभागकी केन्द्रीय सदस्य हुँदै थुप्रै संघसंस्थासँग आबद्ध थिइन्।

अहिले नेपाली कांग्रेसले उनको यही पार्टीप्रतिको प्रतिबद्धताकै कारण निर्विरोध महासमिति सदस्य बनाएको छ। उनको माउ पार्टीप्रतिको निरन्तरको समर्पण अरू दलका लागि पनि अनुकरणीय हुन सक्छ।

आफ्नो यस समर्पणलाई उनी कर्तव्य ठान्छिन्। भन्छिन्– ‘मधेसी महिलाको घुम्टो र आँगनमा जीवन बिताउने परम्परागत सोचमा बदलाव ल्याउनलाई नै मैले सामाजिक, राजनीतिक क्षेत्र वरण गरेकी हुँ। चुनौती कठिन छन्, आफूलाई स्थापित गर्न सक्ने कठिनाइ छ। जतिसुकै काम गरे पनि महिलाप्रतिको नकारात्मक सोचको सिकार म पनि भएकी छु। तर तराईमा मधेसी महिलाको जीवन्तता र प्रतिबद्धता अरू कसैबाट पनि कम रहेको छैन भन्ने भित्री भावले नै मलाई उत्प्रेरित गर्दै आएको छ। म पूर्ण सन्तुष्ट छु।’

अहिले समावेशी लोकतन्त्रमा यस्ता काम गर्ने महिलाप्रति खोजीनीति लिने हो कि?

–लेखक भ्रमर मधेश प्रज्ञाप्रतिष्ठानका अध्यक्ष हुन्।  

प्रकाशित: २६ फाल्गुन २०८० १०:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App