स्नातक सकेपछि जागिरको खोजीमा थिएँ। जागरण साकोसमा रोजगारी मिल्यो। २०७० सालको कुरा हो। पैसाको समस्या हल हुन्छ कि भनेर काम गर्न थालेको त, एक महिना बिनातलब काम गर्नुपर्ने रहेछ। तैपनि गरेँ किनकि मलाई पैसा मात्र भन्दा पनि केही गरेर देखाउने उत्कट अभिलाषा थियो। श्रीमान्बाट पनि राम्रै सहयोग प्राप्त भएको थियो।
यसैबिच श्रीमान्को निधन भयो, हृदयाघातका कारण। काखमा दुधे बालक। घरपरिवारको जिम्मेवारी। १७ महिने अबोध बालकको अनुहार आत्महत्याबाट जोगाउने कारण बन्यो। बिस्तारै आफूलाई सम्हाल्दै गएँ।
सहकारीमार्फत निरन्तर समुदायकेन्द्रित रक्तदान, स्वास्थ्य शिविर, ज्येष्ठ नागरिक सम्मान, छात्रवृत्ति वितरणलगायतका काम हुन्छन्। तिनैमा सहभागी हुन्छु र आफूलाई सम्हाल्छु ।
२०७६ सालमा व्यवस्थापकको जिम्मेवारी सम्हाल्ने अवसर पाएँ। ५० जना सदस्य र तीन करोड कारोबार भएका बेला छिरेकी थिएँ। यतिबेला अथक मेहनतका कारण सदस्य नै चार हजार पुगेका छन् भने कारोबार २० करोड पुगेको छ। यस अर्थमा कुनै बेला झन्डै झन्डै जीवन नै सिध्याइदिऊँ कि भन्ने निर्णयमा पुगेकी म चार हजार जनाको आशाको केन्द्र बन्न सकेकी छु।
यो पनि पढ्नुहोस्
नारी दिवस विशेष: प्रजातन्त्रकालका प्रेरक युवा महिलाप्रकाशित: २५ फाल्गुन २०८० १२:३६ शुक्रबार