बाँकेमा अवैध औषधि पसल सञ्चालन गरी औषधि बिक्री वितरण गर्ने एक जनालाई नियन्त्रणमा लिइएको छ।
जिल्लाको डुडुवा गाउँपालिकाको वडा नम्बर-६ चौधरिपुर्वामा अवैध औषधि पसल सञ्चालन गर्ने विकास लखेरलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।
उनका अनुसार उक्त पसलमा ७५ प्रतिशत औषधि म्याद गुज्रेका र केही औषधि नेपालमा बिक्री वितरण गर्न रोक लगाइएको पाइएको छ।
उनीसँग यससम्बन्धी कुनै योग्यताको प्रमाणपत्र पनि नभएको प्रमुख पोखरेलले जनाए। उनलाई औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जसँग समन्वय गरी नक्कली बिक्रेता लखेरलाई औषधि बिक्री वितरण सम्बन्धी प्रचलित कानुनबमोजिम कारबाही गरिने उनले सुनाए।
‘औषधि पसल दर्ता पनि छैन। औषधि पनि वैधानिक छैनन्,’ उनले भने, ‘अवैध रुपमा औषधि बिक्री गरेपछि हामीले नियन्त्रणमा लिएका छौं।’ बजार अनुगमनका बेला यस्तो भेटिएको उनले बताए।
प्रकाशित: २४ फाल्गुन २०८० २०:५९ बिहीबार