७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

शिवाई पुल भत्केको ठाउँमा अस्थायी संरचना बनाइने

भत्केको २ वर्षसम्म पुन: निर्माण या मर्मत भन्ने टुंगो नलाग्दा अलपत्र परेको शिवाई पुल। तस्बिर : महेश्वर

उदयपुरको चौदण्डीगढी नगरपालिका ५ शिवाईस्थित त्रियुगा नदीमा निर्माणाधीन पुल भत्किएको दुई वर्ष पुगेको छ। सम्पन्न हुनै लाग्दा बाढीका कारण भत्किएको पुलको मर्मत नभएपछि अस्थायी संरचना बनाउन लागिएको हो।

चौदण्डीगढीको बाक्लो बस्ती रहेको ५ नं वडाका शिवाई, बेल्हा र आसपासका ९ र १० वडाका हडिया र जोगीदहबासी आउजाउ गर्ने पुल अलपत्र परेका कारण नगरपालिकाले त्यहाँ अस्थायी संरचना बनाउन लागेको हो।

झन्डै डेढ दशकदेखि निर्माणाधीन पुल कछुवा गतिमा काम गर्दै सकिन लाग्दा ०७८ असारको बाढीले भत्काएको थियो। बाढीले एउटा फाउन्डेसन पिल्लर भत्काएपछि २ स्पान भाँचिएको १५ दिनपछि फेरि बाढीले अर्को पिल्लर पनि भत्काएर ३ स्पान भाँचिएको छ। तर पुल भत्केको यतिका दिन बितिसक्दा पनि पुल पुनर्निर्माण या मर्मत के गर्ने भन्ने टुंगो लागेको छैन।

३ वडाबासी स्थानीयलाई नगरपालिका केन्द्र बेलटार बजार आउजाउ गर्न सो नाका महत्वपूर्ण रहेको ठाउँमा ०६६ देखि १२ स्पानको पक्की पुल निर्माण थालिएको थियो, तर विभिन्न कारण देखाउँदै ढिला काम गरेको ठकेदारलाई चारतिरको दबाबपछि काम सुचारु गरेर सक्नै लाग्दा ०७८ असारमा बाढीले भत्काएको थियो।

भत्किएपछि पुलको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरी फर्केको भोलिपल्टै बाढीले अर्को पिल्लर पनि भत्कायो। अर्को प्राविधिक टोलीले पुल पुनर्निर्माण या मर्मत गर्ने भन्ने मन्त्रालयमा टुंग्याउन प्रतिवेदन बुझाए पनि अहिलेसम्म काम हुन नसक्दा आउँदो बर्खामा आउजाउमा ठूलो समस्या आउने छ।

वर्षौंदेखि पुलको आसपासमा रहेका स्थानीयलाई पुल बन्ने टुंगो नलागेपछि बर्खामा सहज बनाउन अस्थायी पुल निर्माण गर्ने तयारी गरेको नगर प्रमुख कालुमान लामाले बताए।

त्यसका लागि आवश्यक कदम चाल्न सबै पक्षसँग प्रारम्भिक छलफल थालेको बताउँदै उनले तत्काल पुल बन्ने नदेखिएकाले आवश्यकता टार्न अस्थायी संरचना बनाउन छलफल थालेको बताए। पूर्व मेयर खगेन्द्र राई, वडाध्यक्ष, स्थानीय राजनीतिक दल र नागरिक अगुवासँग छलफल गरेर अस्थायी पुल निर्माण गर्ने टुंगोमा पुग्न लागेको उनको भनाइ छ।  

छलफलमा सहभागीहरुको सुझावअनुसार अस्थायी पुल बनाएर आउँदो बर्खाको कहर टार्ने प्रतिबद्धता मेयर लामाले जनाएको बताइएको छ। पुल नहुँदा बर्खामा ५, ९ र १० नं वडावासी स्थानीय जोखिम मोलेर डुंगामार्फत नदी तर्नुपर्ने बाध्यतामा छन्। भत्केको पुलआसपासमै फलामे अस्थायी पुल बनाएरै भए पनि आउँदो बर्खाको कहर टार्न नगरपालिकाले प्राविधिक टोली खटाएर प्रक्रिया अघि बढाउने वाचा पनि मेयर लामाले दिएका छन्।

पुल हतपत बनिहाल्ने छेकछन्दै नदेखिएकाले तत्काल कामचलाउकै लागि पनि त्यहाँ अस्थायी संरचना बनाउनुपर्ने निष्कर्ष छलफलले निकालेअनुसार नगरपालिका अघि बढ्न लागेको हो। छलफलको निगकर्ष प्रदेश र संघीय सरकारलाई जानकारी गराउँदै भविष्यमा हुन सक्ने कानुनी अप्ठ्यारा सहज पार्न तत्काल शिवाई–बेल्हा जोड्ने अस्थायी संरचना निर्माण गर्ने निर्णय भएको छ।

मेयर लामाले संघीय सरकारले पुल बनाउन नसक्ने भनेर लिखित जानकारी स्थानीय सरकारलाई दिए नगरपालिको क्षमताले भ्याएसम्म आफैं बनाउने पनि बताएका छन्।

नगर प्रवक्ता तथा वडा नं ९ का वडाध्यक्ष प्रकाश राउत, वडाध्यक्ष तुलसीराम ढकाल, लुङ्गराज राई, नेपाली कांग्रेसका नगर सभापति राजेन्द्र पौडेल, नेकपा एमालेका कार्यवाहक नगर अध्यक्ष कृष्ण खत्री, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष दिनेश वायुङ्ग राई, रास्वपाका नगर सभापति रमेश विष्ट, राप्रपाका नगर अध्यक्ष रामकुमार खत्रीलगायतको उपस्थिति थियो।

छलफलमा नगर प्रमुख कालुमान लामाले नगरपालिकाले विभिन्न मन्त्रालयमा यसअघि पेस गरेका योजनाका बारेमा ब्रिफिङ गर्दै उक्त सबै योजना संघीय सरकारबाट प्राप्त गर्न सबैले साथ सहयोग दिन आग्रह गरेका थिए।

पहाडी जिल्ला खोटाङ र भोजपुरलाई उदयपुर हुँदै तराई जिल्लाका सहर बजारलाई प्रत्यक्ष जोड्ने उद्देश्यले निर्माणाधीन पुल निर्माण भएमा चौदण्डीगढीलाई मात्र नभएर सिंगो जिल्लाबासी लाभान्वित हुनेछन्। त्यहाँ पुल नबन्दा नगरपालिका केन्द्र आउजाउ गर्न तथा वर्षायाममा बिरामीलाई उपचारार्थ अस्पताल जान समस्या हुने गरको छ। खासगरी सर्पले डसेका बिरामीको समयमा उपचार गर्न नसक्दा ज्यान गुमाउनुपर्ने बाध्यता स्थानीयलाई छ।  

महालक्ष्मी–लोकप्रिय कन्स्ट्रक्सन जेभी काठमाडौंले लिएको ठेक्का समयमा काम नभएपछि चौतर्फी दबाबका कारण सकिन लागेको थियो। ३ सय ७ मिटर लामो र ५ मिटर चौडा पुल सकेर उद्घाटन मितिसमेत तोकिसकेको बेला भत्किएको हो। पुल भत्कनुमा माटो परीक्षणमा कमजोरी भएको तथा गुणस्तरीय काम नभएको निष्कर्ष प्राविधिकले निकालेको छ। पुल निर्माणस्थलको माटो परीक्षण बालाजुस्थित स्वाइल कन्सल्टेन्सी कम्पनी काठमाडौँले गरेको जनाइएको छ।

पुल निर्माणको रेखदेख गर्ने जिम्मा पाएको गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरका प्रमुख (डिई) सञ्जीवकुमार मिश्रले सकिनै लाग्दा बाढीले भत्काएर अलपत्र परेको पुल पूरा गर्न पटकपटक मन्त्रालयलाई आग्रह गर्दै आएको बताए। त्यहाँको वस्तुस्थितिअनुसार कार्यालयको तर्फबाट पुल छिटो बनाइसक्न विभाग र मन्त्रालयसँग आवश्यक बजेट माग गरिरहेको पनि डिई मिश्रले बताए।

प्रकाशित: २४ फाल्गुन २०८० १२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App