१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विवाह गर्न नमान्दा प्रेमीले गरे बालिकाको हत्या

मोरङको पथरीशनिश्चरेमा सोमबार राति शौचालय जान निस्किएकी १५ वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ।

खोटाङको ऐंसलुखर्क गाउँपालिका–६ सल्ले घर भई पथरीशनिश्चरे नगरपालिका–७ स्थित लामा टोलीमा बस्दै आएकी १५ वर्षीया सन्जना भन्ने ज्ञानमति थुलुङ राईलाई धारिलो हतियार प्रहार गरेर हत्या गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए।

बालिकाको हत्या गरेको आरोपमा मोरङको ग्रामथान गाउँपालिका–४ घर भई हाल बारा जितपुर सिमरा उपमहानगरपालिकामा बस्दै आएका ३८ वर्षीय धिरेनकुमार खाँ चौधरीलाई पक्राउ गरिएको बताउँदै, एसपी कार्कीले भने, ‘प्रेमी चौधरीले आफूभन्दा २३ वर्ष कम उमेरका प्रेमिका राईको हत्या गरेको खुलेको छ। उनीहरूबिच केही समयदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो। सम्बन्धमा समस्या आएपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ।’

चौधरीका २ वटी आमा छन्। बुवाले कान्छी आमा ल्याएर ग्रामथानमा बस्न थालेपछि आफ्नी आमासँग सिमरा बस्दै आएका थिए। सिमरामा पनि चौधरीको घर छ। ३/४ महिनादेखि चौधरी ग्रामथान आएका थिएनन्। चौधरी मंगलबार बिहान २ बजेतिर बेलबारीस्थित भाउन्नेको जङ्गलबाट पक्राउ परेका थिए।

बालिकाको हत्या गरी पैदल घटनास्थलबाट पश्चिमतर्फ आउँदै गर्दा राति नै उ भाउन्ने जङ्गलमा हिँड्दै गरेको अवस्था फेला परेका थिए। प्रहरीले रातको समयमा एक्लै जंगलको बाटोमा हिँडेको देखेर रोक्न खोजेपछि डराएर भाग्न लाग्दा समातेको बताउँदै, एसपी कार्कीले भने, ‘शंका लागि सोधपुछ गरेपछि बालिकाको हत्यामा संलग्न रहेको खुलेको हो। धारिलो हतियार प्रहार गरेर बालिकालाई काटेपछि रगत लागेका लुगा अन्यत्र फालेर सफा लगाएका थिए। उसले घटना आफूले घटाएको स्वीकार गरेका छन्।’

चौधरी वैदेशिक रोजगारमा रहेको बेला राईसँग सामाजिक सञ्जालमार्फत प्रेमी प्रेमीका भएका थिए। चौधरीको श्रीमती र १४ वर्षको छोरा छन्। श्रीमान–श्रीमती नै वैदेशिक रोजगारमा गएका थिए। तर, चौधरी स्वदेश फर्के पनि उनकी श्रीमती अहिले पनि वैदेशिक रोजगारमा नै छिन्। छोरा आमा (हजुरआमा)सँग सिमरामा छन्। श्रीमतीसँग चौधरीको सम्बन्ध चिसिएपछि राईसँग नजिक भएको देखिन्छ।

वैदेशिक रोजगारबाट नेपाल फर्केका चौधरीले केही समय अगाडि प्रेमिका राईलाई भगाएर भारततर्फ लग्ने क्रममा सीमा क्षेत्र विराटनगरबाट माइती नेपालले पक्राउ गरेर परिवारको जिम्मा लगाएका थिए। त्यसपछि पनि सामाजिक सञ्जालमार्फत नियमित सम्पर्कमा रहँदै आएका थिए। चौधरीले बालिकाको नामबाट विभिन्न सामाजिक सञ्जालमा ‘एकाउन्ट’ खोलेर उसले चलाउने गरेको एसपी कार्कीले बताए।

सीमा क्षेत्रबाट पक्राउ गरेर परिवारको जिम्मा लगाएपछि परिवारले बालिकालाई उसँग सम्बन्ध नराख्न भनेको बताउँदै, एसपी कार्कीले भने, ‘चौधरीले फेसबुक म्यासेजमा विभिन्न प्रकारका फोटो पठाउँथे। केही दिनअघि मात्रै पनि उसलाई बालिकासँग सम्बन्ध नराख्न परिवारले भनेको थियो। चौधरीले परिवारका सदस्यहरुलाई फोनमार्फत दु:ख, धम्की दिने जस्ता कार्य गर्दै आएका थिए।’

राति साढे १० बजेतिर घर पछाडि रहेको शौचालय जाने क्रममा चौधरीले बालिकालाई हतियार प्रहार गर्दा गर्धनको पछाडिको भागमा काटिएको, अनुहार र दाहिने पाखुरामा गहिरो चोट लागेको बताउँदै, एसपी कार्कीले भने, ‘राति एक्कासि बहिनी कराएको आवाज सुनेर बाहिर आएर हेर्दा रगताम्य अवस्था ढलेको भेटिएकी थिइन्। तत्कालै हेर्दा बहिनीको ढुकढुकी मात्रै थियो। दाजु विनोदले भने। घटना हुँदा दाजुभाउजू सुतिसकेका र एक्कासि आवाज आएपछि बाहिर आएका थिए। घटना थाहा पाएको केहीबेरमै बालिकाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’

बुवा दानबहादुर राईको निधनपछि बालिका पथरीमा आफ्नो मामाका छोरा (दाजु)को घरमा बसेर पढ्दै आएकी थिइन्। खोटाङबाट २ वर्ष अघि आएर दाजु विनोद राईको घरमा बसेर पथरीशनिश्चरे–१ को पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा पढ्दै थिइन्। घरमै दाजुले खाजा नास्ताको होटेल सञ्चालन गरेका छन्। होटलमा सहयोग गर्दै घरमा बसेर पढ्दै आएकी थिइन्। बालिकाको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ। पोस्टमार्टमको रिपोर्ट आएपछि मात्रै घटनाको थप कुरा बाहिर आउने प्रहरीले जनाएको छ। 

प्रकाशित: २२ फाल्गुन २०८० २०:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App