१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पर्यटकको पर्खाइमा उदयपुरको ‘पुरानो गढी’

नवनिर्मित गढीभित्र प्रतिस्थापित काली मन्दिर। तस्बिर : नागरिक

जिल्लाको पुरानो सदरमुकाम उदयपुरगढीस्थित ‘पुरानो गढी’ को पुनर्संरचना गर्ने काम लगभग अन्तिम चरणमा पुगेको छ। जिल्लाको मुख्य प्रशासनिक केन्द्र रहेको उदयपुरगढीबाट ०२८ सालमा गाईघाटमा सदरमुकाम सारिएपछि तीव्र रुपमा बसाइँसराइ हुन थालेपछि उराठ र खण्डहर बनेको गढी ०७४ मा स्थानीय तह पुनर्संरचनासँगै घुमौँघुमौँ लाग्ने भएको छ।

गढीको ऐतिहासिक, सामरिक र पुरातात्विक महत्वलाई उजागर गर्दै प्रमुख पर्यटकीयस्थलका रुपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले आर्थिक वर्ष ०७५-७६ देखि पुरानो गढीको पुनर्संरचना थालेको थियो।

जसअनुसार पृथ्वीनारायण शाहको राज्य विस्तारका क्रममा पूर्वतर्फ संक्रमण गरेको गोर्खाली फौजले १८३० सालमा उदयपुरगढीको युद्धपोत कब्जा गरेको इतिहास छ। त्यसबेलाको युद्धपोतको भग्नावेश पुनर्संरचना गर्ने काम गाउँपालिकाले पाँच वर्ष लगाएर सक्न लागेको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईका अनुसार पुरानो गढीको पुनर्संरचनामा झन्डै साढे ४ करोड बजेट खर्च भइसकेको छ। गुरागाईका अनुसार बहुवर्षीय योजनाअन्तर्गत गाउँपालिकाले हालसम्म १ करोड १८ लाख ७१ हजार ३ सय ९९ रुपैयाँ लगानी गरिसकेको छ भने पर्यटन मन्त्रालयबाट प्राप्त २ करोड २३ लाख ७ हजार ९९ रुपैयाँ खर्च भएको छ। कुल बजेट ४ करोड ४१ लाख ७८ हजार ४ सय ९८ रुपैँयामा पुरानो गढीको पुनर्संरचनाले आकार ग्रहण गरिसकेको गुरागाईले बताए।

गढीको पुनर्संंरचनाअन्तर्गत साविक पुरानो गढी रहेको थुम्कोमा १ सय २० मिटर व्यासको आकर्षक अष्टकोण गढी निर्माण गरिएको छ। गढीको बीचमा हतियार राख्ने खजाना र उत्तरपट्टि छेउमा शक्तिकी देवी काली मन्दिर बनाइएको छ। वरिपरि बङ्कर र फलामे पुलमार्फत गढी पस्ने कलात्मक प्रवेशद्वार बनाइएको छ।

गढीको दक्षिणतर्फ घोड सवार उदय सेन राजाको मूर्ति ठड्याइएको छ, जसको नामबाट जिल्ला लाई ‘उदयपुर’ नामकरण गरिएको भनाइ छ। आसपासमै फलामे भ्युटावर निर्माण गरिएको छ, जहाँबाट टाढाटाढाका दृष्यावलोकन गर्न सकिन्छ। गढीको दक्षिणतर्पm सभा–सम्मेलन गर्ने टुँडीखेल र सार्वजनिक शौचालय तथा चौकीदार भवन बनाइएको छ।

लगभग १५ रोपनी क्षेत्रफल जमिनमा फैलिएको गढी क्षेत्रको वरिपरि जङ्गल र दक्षिणतर्फ मानव बस्ती रहेको छ। गाउँपालिका केन्द्रदेखि १ किलोमिटर पश्चिममा अवस्थित पुरानो गढी परिसर प्रवेशद्वारदेखि झण्डै डेढ सय मिटर कलात्मक सिंढीसहितको अपांगगमैत्री बाटो निर्माण गरिएको छ। उतिबेलाको गढीको झलक दिन कुँदेर चिल्याइएको ढुंगाको गारो र सिंढी निर्माण गरिएको छ, जसले १८औँ शताब्दीको हस्तकलाको संकेत गर्छ।

गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले उदयपुरगढी ऐतिहासिक, सामरिक र पुरातान्विक महत्वको भएको भन्दै यसलाई जिल्लाकै आकर्षक पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना सुनाए। सोही योजनाअनुसार ०७४ को स्थानीय तह निर्वाचन जितेलगत्तै पहिलो कार्यकालमै गढी पुनर्संरचनाको योजना अघि सारेर गाउँपालिकाबाटै सुरुवाती बजेटबाट पुनर्संरचना थालेको उनको भनाइ छ।

एकैचोटी सरकारसँग बजेट माग्नुभन्दा आफैंले सुरु गरेर काम थालेको उनले बताए। आर्थिक वर्ष ०७५-७६ मै ५० लाख गाउँपालिकाबाट छुट्याएर पुनर्संरचना कार्य थालेर प्रगतिसहित पर्यटन मन्त्रालयलाई देखाउँदा बहुवर्षीय योजनाअन्तर्गत सवा २ करोड प्राप्त भएको अध्यक्ष मगरले बताए। अझै थप पूर्वाधार संरचना बनाउन बाँकी रहेकाले त्यसका लागि मन्त्रालय र अन्य निकायसँग स्रोतको खोजी गरिरहेको उनको भनाइ छ।

अध्यक्ष मगरका अनुसार उदयपुरगढीको झन्डै अढाई सय वर्ष लामो प्रशासनिक तथा सामरिक इतिहास छ। उनका अनुसार १८३० मा कब्जा गर्नुअघि नेपाल–अंग्रेज युद्ध १८१४–१८१६ ताका तत्कालीन काजी बख्तावरसिंह थापाको कमान्डमा तोपसहित नेपाली सेनाको फौज तैनाथ गरिएको यियो, तर त्यतिबेला युद्ध भने नभएको इतिहास उनले सुनाए। ००७ सालको राणाविरोधी आन्दोलनताका त्यहाँ रहेको सेनाको गरुढ दल कम्पनी भोजपुर सारिएको अध्यक्ष मगरले बताए।

सामरिक र ऐतिहासिकसँगै पुरातात्विक रुपमा पनि उत्तिकै महत्वपूर्ण उदयपुरगढीलाई गाउँपालिकाले प्रमुख पर्यटकीय स्थलका रुपमा विकास गर्न खोजेको छ। चारैतिर देखिने उचाइमा रहेको गढी क्षेत्रमा प्राचीनकालीन मन्दिर र देवालय पनि प्रशस्तै छन्।

पञ्चावती माई, गणेशथान, दर्जन हाराहारी संख्यामा सयौँ वर्ष पुराना वर–पीपलले घेरिएको उदयपुरगढीमा ४२ फिट अग्लो भ्युटावर पनि निर्माण भइसकेको छ। गाउँपालिकाका लेखापाल शेखर बुढाथोकीका अनुसार सो टावर भने स्थानीय तह पुनर्संरचना हुनुअघि नै निर्माण थालिएको हो।

पुरानो टुँडिखेल मैदानमा निर्मित टावर तत्कालीन जिल्ला विकास समिति र पञ्चावती गाविसको साझेदारीमा बनेको बुढाथोकीले बताए। निर्माण सम्पन्न भइसकेको टावर चढेर हिमाल, तराई मधेस तथा भारतका विभिन्न सहरको दृश्यावलोकन गर्न सकिने उनले बताए।

उपाध्यक्ष खड्काले गाउँपालिका केन्द्रसँगै ५ नं वडा, कक्षा १२ सम्मको पञ्चावती मावि, १५ शय्याको गाउँ अस्पताल, बैँक, प्रहरीलगायत आधारभूत तहका सबैजसो सरकारी कार्यालय स्थापना भई सञ्चालनमा रहेकाले गढीको महत्व बढ्दो छ।

पर्यटन पूर्वाधारका संरचना पनि धमाधम निर्माण भइरहेका छन्। मुख्य आकर्षण पुरानो गढीको पुनर्संरचना भइसक्नुले पनि पर्यटक आकर्षण गर्न थप बल पुगेको उपाध्यक्ष खड्का बताउँछन्।

गाउँपालिकाका प्रवक्ता सहेक विकका अनुसार उदयपुरगढी घुमघामका लागि उपयुक्त ठाउँ हो। सधैं चिसो र स्वच्छ हावापानी, टाढाटाढाका दृश्य देख्न पाइने, जिल्लाको पुरानो सदरमकुाम भएकाले इतिहास, भूगोल, सामरिक र पुरातान्विक महत्व बुझ्न पाइने यो ठाउँ एक किसिमको संग्रहालयसरह भएको विक बताउँछन्।

स्वास्थ्य, शिक्षा, सुरक्षा, बैँकलगायत सबैखाले सेवाको प्रबन्ध भइसकेकाले गढी क्षेत्र आकर्षणको केन्द्र बन्दै गएको प्रवक्ता विकले बताए। मुख्य समस्याका रुपमा रहेको खानेपानी पनि निर्माणको अन्तिम चरणमा पुगिसकेको र गढी क्षेत्रमा आधा दर्जन होमस्टे सञ्चालनमा रहेकाले आगन्तुक पर्यटकका लागि गढी क्षेत्र सुरक्षित र आनन्ददायी हुने उनको ठम्याइ छ।

गाउँपालिका ५ नं वडामा पर्ने उदयपुरगढी सदरमुकाम गाईघाटदेखि ३७.५ किलोमिटर पश्चिममा छ। समुद्री सतहदेखि ११६० मिटर उचाइमा रहेको उदयपुरगढीसम्म पुग्न गाईघाट–कटारी खण्डको मदन भण्डारी लोकमार्गले छोएको नेपालटारबाट ९ किलोमिटर उक्लिनुपर्छ।

उदयपुरगढी ७ स्थित नेपालटार बजारसम्म पक्की लोकमार्ग छाडेर गढीसम्म पुग्न आधा घन्टा उकालो कच्ची सडक गुडे पुग्छ। सो खण्डको सडक पनि चालु वर्षदेखि नै स्तरोन्नतिसहित कालोपत्रे गर्ने गरी ठेक्का प्रक्रिया अघि बढाउने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत गुरागाईले बताए।

प्रकाशित: २१ फाल्गुन २०८० ११:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App