उदयपुरका एक युवक ह्युमपाइपभित्र मृत फेला परेका छन्। सदरमुकाम त्रियुगा-२ खैजनपुरका १९ वर्षीय आनन्द चौधरी त्रियुगा नगरपालिका-३ भुल्के मोतिगडा–जोगीदह खण्डको सडक नजिकै ह्युमपाइपभित्र मृत फेला परेका हुन्।
वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार शनिबार बिहान घाँस दाउरा गर्न जंगल जाने क्रममा स्थानीयले देखेर गाउँलेलाई जानकारी गराएका थिए। उनीहरुको भनाई अनुसार गएर हेर्दा ह्युमपाइपभित्र मान्छे सुतेको जस्तो गरेका चौधरी मृत फेला परेको वडाध्यक्ष खत्रीले बताए। २ नं. वडाकै वरियार चौधरीका छोरा आनन्द उदयपुरगढी गाउँपालिका-६ नेपालटारस्थित एक ग्यारेजमा काम गर्दै आएको खत्रीले बताए।
भुल्के–जोगीदह खण्डको सडकस्थित घटनास्थल नजिकै क्रसर मेसिननेर बा १ प ६६२२ नं. को मोटरसाइकल लडिरहेको अवस्थामा फेला परेको छ। सो मोटरसाइकलमै सवार रहेर चौधरी आएको भन्ने खुलेको पनि वडाध्यक्ष खत्रीले बताए।
शनिबारको बिदा मनाउन उनी ग्यारेज सञ्चालक र एक अर्का साथीसँगै शुक्रबार दिउँसो नेपालटारमै खाजा खाएर गाईघाटतर्फ हिँडेका थिए। आउँदा त्रियुगा नगरपालिका ८ राजाबासस्थित बाटोमा एक होटल छिरेर तीनैजनाले खाजा र बियर (मादक पदार्थ) खाएको जानकारी पनि आएको छ।
‘ग्यारेज साहु र एक साथीसँगै चौधरीले राजाबासमा खाजा र बियर खाएर मोतिगडा आएको र साथीहरु मोतिगडामै बसेको तर, चौधरी घर जान्छु भन्दै राति ९ः०० बजेतिर हिँडेको भन्नेछ’ वडाध्यक्ष खत्रीले भने ‘बिहान ह्युमपाइपभित्र मृत भेटिनु शङ्कास्पद छ। घट्नाबारे यथार्थ जानकारी प्रहरी अनुसन्धानले मात्र खुल्ला।’
प्रहरीले घटनास्थलको सर्जमिन मुचुल्का गरेर मृतकको शव जिल्ला अस्पताल ल्याएको छ। आफन्तले पोष्टमार्टम प्रक्रिया अघि बढाउने र घट्नाबारे जाहेरी दिएर अनुसन्धान अघि बढाउने तयारी भइरहेको छ। कतिपय स्थानीयले चौधरी दुर्घटनामा परेको अर्थ लगाएका छन् भने कतिले हत्या भएको अनुमान गर्दै सूक्ष्म अनुसन्धान गर्नुपर्ने बताएका छन्।
घटनास्थलको प्रकृति हेर्दा दुर्घटना भएकोजस्तो नदेखिने भएकाले घटना रहस्यमय रहेको खत्रीको भनाई छ। मोटरसाइकल लडेको, घाउ चोट नलागेको, बरु ह्युमपाइपमा आरामले सुतेको अवस्थामा मृत भेटिनुले दुर्घटना भन्न नसकिने उनले बताए। घट्नाबारे अनुसन्धान गरेपछि मात्र थप खुल्ने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
प्रकाशित: १९ फाल्गुन २०८० १६:०५ शनिबार