१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हुक्का तान्ने किशोर-किशोरीको सूचना अभिभावकलाई

म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र हुक्का तान्न प्रतिबन्ध लगाइएपछि अनुगमनलाई तीव्रता दिइएको छ। नगरपालिकाभित्रका १० वटै वडामा हुक्का सेवन, बिक्रीवितरणमा प्रतिबन्ध लगाइएपछि नगर प्रहरीले अनुगमन गर्दै आएको छ। साथै नगरपालिकाले सार्वजनिक अपिलमार्फत र व्यवसायीलाई पत्र पठाएर सचेत गराएको छ।

फागुन १६ गतेदेखि सुरु भएको प्रतिबन्धपछि पनि हुक्का सेवन गरिरहेको अवस्थामा भेटिएका २० वर्षमुनिका किशोरकिशोरीबारे अभिभावकलाई सूचना तथा सेवन गर्दा भेटिएका वयस्क र व्यवसायीलाई सचेत गराइएको बेनी नगरपालिकाका नगरप्रमुख शंकर पौडेलले बताए।

‘पहिलोपटक सचेत बनाएर छोडेका छौं, सेवनकर्ताले सूचना नभएको भन्दै अटेर गरेको पाइयो, केही विद्यार्थीका अभिभावकलाई नै फोन गरेरसमेत सूचना दिएका छौं,’ पौडेललले भने।

बेनीबजारभित्र हुक्का सेवन र बिक्रीवितरण गर्ने सबै ठाउँमा पुगेर सचेत बनाइएको छ भने नियमित बिक्रीवितरण गर्ने ठाउँमा छड्के अनुमगमन, होलसेल र बिक्रेता वा डिलरलाई हुक्कामा प्रयोग हुने पोडसहित अन्य बस्तु फिर्ता गर्न तथा अटेर गरे जफत नै गरिने भन्दै सचेत गराइएको छ।

बेनी नगरपालिकाका मेयर सुरत केसीले छिमेकी जलजला, रघुगंगा र मंगला गाउँपालिकासँग समेत समन्वय भइरहेको बताए।

बेनी नगरको प्रतिबन्धले अन्य पालिकामा समेत सेवनकर्ताको जक्सन बन्न सक्ने सम्भावनालाई ध्यानमा राखी हुक्काको मानव स्वास्थ्यमा पर्ने गम्भीर असरबारे समेत सचेत बनाउन आवश्यक रहेकाले समन्वय भएको छ।

जनस्वास्थ्यमा प्रभाव पार्ने गरेको निष्कर्ष निकाल्दै गएको माघ २५ गतेको कार्यपालिकाको बैठकले गरेको निर्णयअनुसार फागुन १६ गतेदेखि पूर्ण रूपमा बिक्रीवितरण र सेवनमा निषेध गरिएको थियो। पछिल्लो समय बजार क्षेत्रमा कुलतमा फस्ने युवापुस्ताको संख्या बढ्न थालेपछि कार्यविधि बनाएर बिक्रीवितरण निषेधसँगै अटेर गरेमा जरिवानासहित प्रक्रियामा अगाडि बढेको नगरप्रमुख केसीको भनाइ छ।

क्षणिक रमाइलोका लागि हुक्का सेवन गर्ने गरिन्छ। सेवनकर्तामा किशोरीको समेत आकर्षक ह्वात्तै बढेको छ। नगरपालिकाले बेनीबजारमा बाहिरी जिल्लाबाट हुक्कामा पोडलगायत बिक्रीवितरणमा आएमा समेत जरिवान गरिनेछ। एक खिली चुरोट तान्दा लगभग आधा लिटर धुवाँ तान्ने गरिन्छ भने एक सर्को हुक्काको प्रयोग गर्दा दुई सय लिटरसम्म धुवाँ शरीरभित्र पु¥याउने गरिन्छ।

हुक्कामा राखिएको फ्लेबर सुर्तीको चारकोलको धुवाँबाट कार्बन मोनोअक्साइड र पोल्यारोम्याटिक हाइड्रो कार्बोन निस्कन्छ। यो मानव स्वास्थ्यका लागि विष सेवन गरेजस्तै हुन्छ। एक खिली चुरोट पिउन पाँचदेखि १० मिनेट समय लाग्छ भने हुक्का पिउन आधा घण्टाभन्दा बढी समय लाग्छ। यसै कारणले पनि रोगले सजिलै आक्रमण गर्ने बेनी अस्पतालका मेडिकल अधिकृत गोविन्द पोख्रलले बताए।

हुक्काको पाइप राम्रोसँग सफा नगरेको अवस्थामा विभिन्न प्रकारका सरुवा रोगसमेत लाग्ने खतरा बढी हुन्छ। यसैबीच सदरमुकाम बेनीसँगै जोडिएको म्याग्दीको रघुगंगा, मंगला गाउँपालिका र पर्वतको जलजला गाउँपालिका सेवनकर्ताको सेन्टर बन्न सक्ने भन्दै त्यहाँका जनप्रतिनिधिले समेत हुक्का नियन्त्रणका लागि चासो देखाएका छन्।

दुध डेरी र चिया पसलमा चुरोट सेवन गर्न नपाइने

बेनी नगरपालिकाले दुध डेरी र चिया पसलमा समेत चुरोट तथा सुर्तीजन्य पदार्थ बिक्रीवितरण नगर्न सार्वजनिक अपिल गरेको छ। नगरपालिकाले फागुन १७ गते सूचना जारी गर्दै त्यस्ता पसलमा बिक्रीमा राखिएका सुर्तीजन्य पदार्थको जफत गर्ने चेतावनी दिएको छ। हुक्कालाई प्रतिबन्ध निषेध गरेपछि नगरपालिकाले डेरीमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको भेटिए कानुनअनुसार कारबाही गरिने जनाएको छ।

खैनी, चुरोट, गुट्खा, सुर्तीजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक भएकाले सूचना सार्वजनिक गरी पसलहरूको अनुगमन सुरु गरेको नगरपालिकाले जनाएको छ।

धूम्रपान सेवन गर्दा निकोटिन, टार, कार्बन मोनोअक्साइड, एमोनिया, आर्सनिकजस्ता केमिकलले स्वास्थ्यमा असर गर्छ। सूचना सार्वजनिक गरे पनि अनुगमनलाई तीव्रता दिएको छ। नगरपालिकाले सुर्तीजन्य पदार्थ सेवन गरिरहेको अवस्थामा भेटिएकालाई बिहीबारदेखि नै सचेत बनाउने गरिएको छ।

नगरपालिकाको टोलीले डेरी पसलमा चुरोट सेवन गरिरहेकालाई सचेत गर्ने र अर्को पटक भेटिएमा कारबाही हुने चेतावनी दिएको छ। बेनीबजारमा कलिला बालबालिकाले समेत चुरोट सेवन गर्ने व्यापक जनगुनासोपछि नगरपालिकाले लागुपदार्थको सेवनलाई रोक्ने गरी थप सचेतनामूलक कार्यक्रम ल्याउने जनाएको छ।

प्रकाशित: १९ फाल्गुन २०८० ०९:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App