१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लोकसेवा आयोगको परीक्षामा पनि भेटिए ‘खेताला’

रुख चढ्नुपर्ने प्रयोगात्मक परीक्षामा उम्मेदवारले पठाए अर्कै व्यक्ति

लोकसेवा आयोगले लिने गरेका केही परीक्षामा खेताला लगाउनेसम्म गरेको पाइएको छ। आयोगका अनुसार एक वर्षमा ४ देखि ५ जना ‘खेताला’ भेटिने गरेका छन्।

परीक्षा दिनुपर्ने व्यक्तिले परीक्षा नदिई त्यो व्यक्तिले अर्को व्यक्तिलाई खेतालाका रूपमा परीक्षा दिन पठाएका घटना बाहिर आउन थालेका छन्।  

आयोगले शुक्रवार मात्र सूचना निकालेर आयोगको महेन्द्रनगर कार्यालयबाट लिइएको परीक्षामा खेताला प्रयोग भएको  भेटिएपछि उम्मेदवार रमेश विकको परीक्षा रद्द गरेको जानकारी दिएको छ।

आयोगले यही फागुन ९ गते लिएको श्रेणीविहिन वन स्काउट पदको परीक्षामा वास्तविक उम्मेदवार विकले प्रयोगात्मक परीक्षा अन्तर्गत रुख चढ्ने काममा आफू सहभागी नभई अर्को व्यक्तिलाई पठाएको पाइएको थियो। उक्त परीक्षा रद्द गरिएको आयोगले जनाएको छ। विकले अब उक्त परीक्षा फेरि दिने पाउने छैनन्।

आयोगकी प्रवक्ता गिताकुमारी होमेगाईका अनुसार एक वर्षमा ४/५ जना व्यक्तिले लोकसेवा आयोगले लिने गरेको विभिन्न परीक्षामा आफू सहभागी नभई अर्को व्यक्तिलाई सहभागी गराउने गरेको पाइएको छ।

‘केही नक्कली परिक्षार्थीहरु परीक्षा हल भित्रै भेटिन्छन्। गोप्य सूचनाको आधारमा भेटिने गरेका छन्’, उनले भनिन,‘यहाँसम्म कि अन्तरवार्ता समेत केही व्यक्ति आफू सहभागी नभई अर्को व्यक्तिलाई सहभागी गराउने गरेको पाइएको छ। त्यस्ता व्यक्ति अन्तर्वार्तामै भेटिने गरेका छन्।’ उनका अनुसार खासगरी सुरक्षा निकायको परीक्षामा यस्ता नक्कली परीक्षार्थीहरू भेटिन्छन्। ‘प्रशासन सेवा र प्राविधिक सेवामा पनि नक्कली परीक्षार्थीहरू भेटिइएको पाइएको छ’, उनले भनिन।

नक्कली परीक्षार्थी भएको थाहा पाउने बित्तिकै आयोगले परीक्षा लिने र परीक्षा दिने दुवै व्यक्तिलाई भविष्यमा आयोगको  परीक्षा दिनबाट रोक लगाउने गरेको छ। परीक्षामा सहभागी व्यक्ति खेताला भएको पत्ता लागेमा आयोगले लोकसेवा आयोग ऐन २०७९ को दफा ४१,२ (घ) बमोजिम कारबाही गर्ने  गरेको छ।

‘पहिले हामीले परीक्षा मात्र रोक लगाउने गरेका थियौ। अहिले कानुनमा संशोधन गरी अनैतिक काम गरेको आरोपमा जेल सजायसम्म हुने गरेको छ’, उनले भनिन। होमेगाइका अनुसार नक्कली परीक्षार्थी भएको थाहा पाउने बित्तिकै आयोगका कर्मचारीहरूलाई प्रहरीलाई जानकारी गराउँछन्।  

आयोगले निकालेको तथ्याङ्क अनुसार सरकारी सेवाप्रति युवामा आकर्षण बढ्दै गएको देखिन्छ। अघिल्लो आर्थिक वर्ष (आ. व. २०७८/७९) मा परेको कूल दरखास्त सङ्ख्याभन्दा आ. व. २०७८/७९मा परेका दरखास्तको सङ्ख्या ३२.२३ प्रतिशतले बढी भएको पाइएको छ।

आ.व. २०७८/७९मा ३ लाख ६५ हजार ४सय ३४ जनाबाट दरखास्त परेको थियो। आयोगका अनुसार पछिल्लो १० वर्षमा आयोगमा सबैभन्दा कम दरखास्त आ. व. २०७५/७६ मा परेको थियो। त्यस वर्ष १ लाख ४३ हजार ७सय ५३ जना व्यक्तिबाट मात्र दरखास्त परेको थियो। यसैगरी सबैभन्दा बढी दरखास्त आ. व. २०७३/७४मा परेको थियो। त्यस वर्ष ८ लाख ४४ हजार २सय ९७ जनाबाट दरखास्त परेको थियो। आ. वं २०७९/०८०मा ५ सय ३ बढुवा सूचना, १ सय ४७ आन्तरिक प्रतियोगितात्मक परीक्षा, २ सय ९९ खुला प्रतियोगितात्मक परीक्षा र ६ सय ६७ वटा विभिन्न समावेशी गरी १ हजार ६ सय १६ वटा विज्ञापन तथा बढुवा सूचनाहरू प्रकाशन गरिएको थियो।

आयोगको तथ्याङ्क अनुसार लोकसेवा आयोगको परीक्षामा सहभागी हुनका लागि किसानका सन्ततिहरूमा बढी देखिएको छ। आ। व। २०७९/८०मा दिइएका कुल दरखास्तमध्ये ७९ दशमलव ६४ प्रतिशत दरखास्त कृषि पेसा अँगालेका बाबुआमाका सन्ततिले दिएको आयोगको रिपोर्टमा जनाइएको छ। कुल दरखास्त दिएका मध्ये १० दशमलव ६४ प्रतिशत व्यक्तिका आमा बाबु मात्र व्यवसाय गरेको रिपोर्टमा जनाइएको छ। रिपोर्ट अनुसार उक्त आ। व।मा १ दशमलव ८५प्रतिशत श्रमिकका छोरा छोरीले आयोगको परिक्षाका लागि दरखास्त दिएका छन्।

प्रकाशित: १८ फाल्गुन २०८० १९:१३ शुक्रबार

लोकसेवा आयोग प्रयोगात्मक परीक्षा