१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

डा.सन्दुकको पर्खाइमा छन् आँखाका सैयौं बिरामी

विश्व विख्यात नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुईत आफैंले मोयिताबिन्दुका बिरामीको शल्यक्रिया गर्ने भएपछि उनको गृह जिल्ला ताप्लेजुङको फुङलिङमा आँखाका समस्या भएका सेवाग्राहीको भीड लागेको छ।

नेपाल नेत्रज्योति संघ ताप्लेजुङले फुङलिङ नगरपालिका र सेवा फाउन्डेसन सँगको सहयोगमा तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोग लिएर शल्यक्रिया सहितको आँखा शिविर सञ्चालन गरेपछि आँखाको परीक्षण तथा उपचारका लागि सेवाग्राहीको भीड देखिएको हो।

नेपाल नेत्रज्योति संघ ताप्लेजुङका कोषाध्यक्ष निरोज श्रेष्ठले बुधवार नाम दर्ता खुलेको केही समय भिड थाम्न गाह्रो भएपनि अब व्यवस्थापन मिल्दै गएको बताए। ‘अब व्यवस्थापन हुँदै गएको छ,जति सेवाग्राही आएपछि सहज ढंगले सेवा दिएर पठाउने छौँ’ नेत्रज्योति संघका जिल्ला सहसचिव युवराज गिरीले भने। अहिले नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आँखाको परीक्षण तथा उपचार भइरहेको छ। 

आँखाको परीक्षणका लागि आइपुगेको तिलगंगा आँखा अस्पतालबाट प्राविधिक टोलीले बुधवार सबेरैबाट आँखाको परीक्षण तथा उपचार सुरु गरेको छ। परीक्षणका क्रममा छनौट भएका मोतियाबिन्दुका बिरामीको डाक्टर रुईतको नेतृत्वमा रहेको टोलीले शल्यक्रिया गर्ने डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले बताए। रुईत बुधवारै फुङलिङ आइपुग्ने र उनी नेतृत्वको चिकित्सकीय टोलीले बिहीबार र शुक्रवार मोतियाबिन्दुको समस्या भएका बिरामीको आँखाको शल्यक्रिया गर्ने समेत उनले जानकारी दिए।

नेत्रज्योति संघले यसअघि नै मैवाखोलाको ढुङ्गेसाँघु र मिक्वाखोलाको खोक्लिङमा पुगेर आँखाको परीक्षण गरी ३७ जना मोतियाबिन्दुका बिरामीको छनौट गरिसकेको छ। उनीहरूको आँखाको शल्यक्रिया समेत यही गर्ने योजना रहेको गुरुङले सुनाए। रुईत ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलामा जन्मिएका हुन्। आँखा स्वास्थ्य क्षेत्रमा उनलाई धेरैले ‘भगवान’उपनामा दिने गर्छन्। 

प्रकाशित: १६ फाल्गुन २०८० १३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App