१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटनमा ५० हजार सहभागी हुने

महानगरपालिकाले गर्न लागेको भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। महानगरपालिकाले मंगलबार (आज) पत्रकार सम्मेलन गरी फागुन १८ गते नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो।

भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ।

उद्घाटन कार्यक्रमका लागि कार्यक्रम स्थलमा स्टेज निर्माण, सरसफाइ, खानेपानी तथा शौचालय निर्माणलगायतको तयारी पुरा भइसकेको महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन्। कार्यक्रम स्थलमा र्‍याली पुग्ने गरी ट्राफिक प्रहरीको समन्वयमा रुट निर्धारण गर्ने कार्य पनि भएको छ। 

महानगरका गन्तव्यहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने, पर्यटकको संख्या र बसाइँ अवधि वृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने उद्देश्यले आयोजना गर्न लागिएको भ्रमण वर्षले यस आसपासका क्षेत्रहरूको आर्थिक तथा पर्यटन क्षेत्रलाई टेवा दिने अपेक्षा गरिएको महानगरपालिका प्रमुख दाहालले बताइन्।

उद्घाटन समारोहमा करिब ५० हजार जना सहभागी हुने अपेक्षा गरिएको उद्घाटन समारोहमा राष्ट्रिय कालकारहरूको प्रस्तुति रहनेछ भने, विभिन्न सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिनेछ। ‘घुमाैं भरतपुर’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको भ्रमण वर्ष सफल पार्न महानगर प्रमुख दाहालको संयोजकत्वमा २०२४ सदस्यीय मूल समारोह समिति तथा ७ सदस्यीय निर्देशन समिति गठन गरिएको छ।

यस्तै महानगरका उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसम्पादन समिति, जिल्लाका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू संलग्न सल्लाहकार समिति, विभिन्न ३० वटा विषयगत उपसमितिहरू गठन गरी कार्य विभाजनसहितको जिम्मेवारी प्रदान गरिएको छ। भ्रमण वर्षको तयारीका सन्दर्भमा विभिन्न राजनीतिक, दल, बुद्धिजीवी, समाजसेवी, निजी क्षेत्रलगायत सरोकारवाला सबैसँग पटक पटक छलफल तथा अन्तरक्रिया गरिसकेको महानगरले जनाएको छ। भरतपुर भ्रमण वर्ष २०२४ को मुख्य प्रवर्धक नेपाल पर्यटन बोर्ड रहेको छ।

भरतपुर भ्रमण वर्षमा विभिन्न निजी क्षेत्र तथा विभिन्न संघसंस्थाहरुको अगुवाइमा वर्ष भरी ५१ वटा विभिन्न कार्यक्रमहरू सञ्चालन हुनेछन्। भ्रमण वर्षमा करिब २ लाख बाह्य पर्यटक तथा ५ लाख आन्तरिक पर्यटक भित्र्याउने महानगरले लक्ष्य लिएको छ। पर्यटकले भरतपुर भ्रमण गरेर यहाँका पर्यटकीय क्षेत्रहरूको अवलोकन, यहाँका सम्भावनाहरूको पहिचान, तथा बद्लिएको भरतपुरको प्रत्यक्ष अनुभूति गर्ने अपेक्षा राखिएको उपप्रमुख अधिकारीले बताए।

भरतपुरलाई चिनाउँदै यहाँको आर्थिक सम्भावनाको खोजी, लगानीको वातावरण निर्माण गर्न पनि भ्रमण वर्ष कोशेढुंगा साबित हुने अपेक्षा गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले जानकारी दिए।

५ स्थानबाट र्‍याली निस्कने 

महानगरपालिकाका २९ वटै वडाका वडाध्यक्षको नेतृत्वमा विद्यालय, धार्मिक तथा जातीय समुदाय, विभिन्न सामाजिक सङ्घसंस्था, नागरिक समाज, विभिन्न जातजातिहरू सांस्कृतिक झाँकीसहित सहभागी हुनेछन्। उद्घाटन सत्रलाई मध्यनजर गर्दै भरतपुरका विभिन्न ५ वटा स्थानबाट र्‍याली निकालिने छ। वडा नम्बर ६, ८, ९, १३, २१, २२, २४ ले निकाल्ने र्‍याली हाकिम चोक, चौविसकोठी हुँदै उद्घाटन स्थल पुग्ने छ। यस्तै ५, ७, १४, १५, १८, १९, २०, २५, २६, २७, २८ नम्बर वडाको त्रिचोक चौविसकोठीबाट र्‍याली निस्कने छ। १०, ११, १२, २९ नम्बर वडाले गेस्ट हाउस चौर र चौविसकोठी, वडा नम्बर १ र २ ले क्याम्पा चौर र लायन्सचोक, वडा नम्बर ३, ४, १६ र १७ नम्बर बेलचोक सहिदचोक क्षेत्रबाट र्‍याली निकाल्ने छन्। र्‍याली व्यवस्थापनका लागि सुरक्षाकर्मी, स्वास्थ्य स्वयमसेवक, युवा सञ्जाल, नगर प्रहरीलगायतको टोली खटिने छन्। उत्कृष्ट र्‍याली निकाल्ने वडालाई रु १ लाखको जिन्सी पुरस्कारको घोषणा गरिएकाले वडागत रुपमा प्रतिस्पर्धा  हुनेछ। 

पाहुना राख्न १५ हजार बेड

भरतपुर र आसपासको क्षेत्रमा आउने पर्यटकलाई राख्न महानगरपालिकाले होटेल व्यवसायीहरूसँगको समन्वयमा करिब १५ हजार बेड तयारी अवस्थामा राखेको छ। जसमध्ये भरतपुरमा ७ हजारको बेड क्षमता रहेको भरतपुर महानगरका पर्यटन विज्ञ विश्वराज सुवेदीले बताए। यस्तै सौराहादेखि गैंडाकोटसम्म १५ हजार बेड छन्। भ्रमण वर्षमा आउने पाहुनाहरूलाई लक्षित गरी होटेल तथा रेष्टुरेन्टहरुले छुट सुविधा यसअघि नै घोषणा गरेका छन्। भ्रमण वर्ष भरी सञ्चालन गरिने विविध गतिविधिहरूले समग्र चितवनलाई नै पर्यटकीय तथा आर्थिक हबका रुपमा विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा पनि लिइएको छ।

यी हुन् भरतपुरका प्रमुख पर्यटकीय गन्तव्यहरू

भरतपुर महानगरपालिकाले २५ वटा गन्तव्यलाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा अघि सारेको छ । निकुञ्ज, विभिन्न सामुदायिक वन,  धार्मिक तथा सांस्कृतिक क्षेत्रलाई समेटेर गन्तव्य रुपमा राखेको छ।  प्रमुख पर्यटकीय गन्तव्यमा मेघौलीलाई पहिलो स्थानमा राखिएको छ। चौबिसकोठीबाट २५ किलोमिटर पश्चिममा रहेको मेघौली जङ्गल सफारीसँगै विभिन्न जात जातिका सांस्कृतिक प्रस्तुति तथा गोलाघाटबाट सूर्य अवलोकन गर्न सकिन्छ। दोस्रो नम्बरमा पटिहानीलाई राखिएको छ। त्यसैगरी देवघाट, बिस हजार ताल, नारायणी रिभर बिच, चौकीडाँडा, ज्ञानेश्वर ब्लक, जगतपुर, राइनो कुञ्ज, बाटुली पोखरी, कसरा, गोलाघाट, बागेश्वरी रहेका छन्। त्यस्तै महानगरले भरतपुर ११ को गणेशधाम, बी.पी. शान्ति नगर वन, गाँजीपुर, सिमरी टाउन, महाबौद्ध गुम्बा, राइनो ताल, धनगढी मन्दिर, चितवन प्रदर्शनी केन्द्र, बखान बहुउद्देश्य सहकारी संस्था, रानी पोखरी, प्राङ्गारिक कृषि उत्पादन सहकारी संस्था, संयुक्त राप्ती दुन सामुदायिक वन क्षेत्रलाई समावेश गरेको छ। 

प्रकाशित: १५ फाल्गुन २०८० १६:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App