१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भारतसम्म पुग्छ म्याग्दीको चरेस

म्याग्दी सदरमुकाम बेनीको कालीपुलबाट एक युवालाई चार किलो ४६ ग्राम चरेससहित प्रहरीले पक्राउ गर्‍यो। प्रहरीले ती युवालाई हिरासतमा राखेर अनुसन्धान गर्दैगर्दा पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२, रुमका ३४ वर्षीय तिलक विकको घरबाट चरेस बनाउने मेसिनसहित ठुलो मात्रामा बजारमा लैजान तयार पारिएको साम्रगी बरामद भयो।

पछिल्लो एक दशकयता जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा बरामद भएको लागुऔषधको परिणाम र प्रहरी प्रतिवेदनलाई लागुऔषध ओसारपसारको तथ्यांक भयावह देखिएको छ। दशकयता म्याग्दीका विभिन्न स्थानमा प्रहरीले चरेससहित पक्राउ गरेका अधिकांश व्यक्ति पश्चिम म्याग्दीका छन्।

ग्रामीण क्षेत्रबाट झारिने गाँजाचरेस पोखरा हुँदै देशका विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारतसम्म पुर्‍याउन बेनीबजारलाई ‘ट्रान्जिट प्वाइन्ट’का रूपमा प्रयोग गरिरहेको देखिन्छ। चरेसको माग बढ्दै जान थालेपछि आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ सम्मको तथ्यांकमा म्याग्दीबाट भारी मात्रामा गाँजा र चरेस बाहिरिन लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ।

१० वर्षमा म्याग्दी प्रहरीले जिल्लाभित्र लागुपदार्थको ओसारपसारमा संलग्न ७८ जनालाई सामानसहित पक्राउ गरेको छ। केही वर्ष अगाडिसमेत रुमबाट बुटवलतर्फ लैजाने तयारीमा दरबाङबाट २३ किलो ५० ग्राम चरेससहित तीन महिला पक्राउ परेका थिए। गाउँका तीन महिलालाई प्रहरीले पक्राउ गरेपछि म्याग्दीबाट चरेसको ओसारपसार हुन्छ भन्ने तथ्य सार्वजनिक भएको थियो।

म्याग्दीका खेतबारीमा व्यावसायिक रूपमा गाँजा खेती नगरिए पनि प्रहरीको नियमित नजर नपुग्ने क्षेत्रमा लागुखेती गरिएको पाइन्छ। जिल्लामा लागुऔषध बाहिरबाट भित्रिने भए पनि ग्रामीण क्षेत्रमा गाँजा खेती गरी चरेस बनाउने सूचनाका आधारमा निरन्तर निगरानी गरिरहेको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए।

‘प्रहरीले विगतका तथ्यांक हेरेर निगरानी गरिरहेको छ, लागुपदार्थ पश्चिम क्षेत्रबाट बागलुङ हुँदै बाहिरिने गरेको अनुमान छ’ प्रनाउ कुँवरले भने।

उनले समुदायमा प्रहरी अभियान चलाएपछि सचेत समुदायले प्रहरीलाई सूचनासमेत दिन थालेको बताए। प्रहरीले प्रयोगकर्तालाई तयारी अवस्थामा लैजाने गरेको चरेस बरामद भएकाले ग्रामीण क्षेत्रमा चरेस बनाउने मेसिन, प्याकेट बनाउन प्रयोग हुने गुललगायतका औजारसमेत बरामद गरेको छ। ग्रामीण भेगमा गाँजा र चरेस भण्डारण गरेको शंकास्पद क्षेत्रमा निगरानी बढाएको प्रहरीले जनाएको छ।

म्याग्दीमा लागुऔषधको ओसारपसार गर्दा हुने दण्ड–जरिवानाबारे जानकार नहुँदा पैसाको लोभमा परेर भरियाले यस्ता काम गर्ने गरेका छन्। युवालाई कुलतमा डुबेको देखिनु राम्रो नभएकाले लागुऔषध उत्पादन, भण्डारण, ओसारपसार एवम् बिक्रीवितरण नियन्त्रणमा पहलकदमी लिन अभिभावकको साथ आवश्यक रहेको प्रहरी नायव उपरीक्षक कुँवरले बताए।

प्रकाशित: १४ फाल्गुन २०८० ०८:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App