१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

झापामा सरकारी जग्गा हिनामिना ३५९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झापामा सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाएको भन्दै नापी कार्यालय चन्द्रगढीका तत्कालीन प्रमुख नापी अधिकृतसहित ३५९ जनाविरुद्ध विशेष अदालतमा दुईवटा छुट्टाछुट्टै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

तत्कालीन नापी अधिकृत विष्णुकुमार न्यौपानेसमेत १७२ जना र तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुकसमेत १८७ जनाविरुद्ध छुट्टाछुट्टै दुईवटा मुद्दा अख्तियारले आइतबार दर्ता गरेको हो। 

मुद्दामा नापी कार्यालयका तत्कालीन अधिकृतहरूलाई दुईवटै मुद्दामा प्रतिवादी बनाइएको छ। दुई मुद्दामा गरी ५८ बिघा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरिएको अख्तियारको दाबी छ।  

दुवै मुद्दामा ७६ करोड २८ लाख रूपैयाँ बढी बिगो, सजाय, जरिवाना हरेक व्यक्तिलाई छुट्टाछुट्टै मागदाबी गरिएको छ। नापी कार्यालयका तत्कालीन अधिकृतहरू र जग्गादाताहरू कतिपयको मृत्यु भैसकेको छ। मृत्यु भए पनि उनीहरूका सम्बन्धित परिवारका नजिकका सदस्य पत्नीलाई प्रतिवादी बनाइएको छ।

नापी र मालपोत कार्यालय झापाका तत्कालीन प्रमुखदेखि कर्मचारीहरू यस मुद्दामा मुछिएका छन्। दमक नगरपालिका वडा नम्बर १३ र १४ कायम रहेको बालुवाटारको (रतुवा र दिपीनी खोलाको दोभानबाट उत्तरतर्फ) कित्ता नम्बर ७६० देखि ७६२, ७७३, ७८३, ७८४, ७८७, ७८८ र साविक दमक ६ ‘ग’ र ५ ‘ग’ बीचको मार्जिनका जग्गाहरू २०२१ सालको सुरु नापीमा सरकारी सार्वजनिक भएको फिल्डबुक र जग्गाधनी दर्ता श्रेस्ताबाट देखिएकोमा उक्त कित्ताहरू नापी कार्यालय चन्द्रगढी, मालपोत कार्यालय दमक र नापी कार्यालय दमक, झापाबाट पुनः नापीका बखत विभिन्न व्यक्तिहरूको जग्गामा घुसाई हालसाबिक प्रक्रियाबाट दर्ता भएको अख्तियारको दाबी छ।  

सार्वजनिक जग्गा जनिई नापजाँच भएको कुनै जग्गा कसैले आवाद, कमोत वा घरबास गरी भोग गरेको भए पनि नापजाँच गर्दा त्यस्तो जग्गा साबिक बमोजिम नै जग्गाको रूपमा दर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ। कानुनविपरीत सरकारी सार्वजनिक जग्गा हालसाबिक जग्गा दर्ता प्रक्रियाबाट व्यक्ति विशेषको जग्गामा घुसाई दर्ता गरेको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ।

पहिलो दर्ता मुद्दाको सार्वजनिक जग्गा २९ बिघा, १७ कट्ठा ४ धुर (३९७ रोपनी ८ आना ३ दाम) जग्गा गैरकानुनी रूपमा व्यक्ति विशेषको नाममा दर्ता छ। जुन जग्गाको न्यूनतम मूल्य ३४ करोड ६६ लाख ५४ हजार रूपैयाँ हुन आउने अख्तियारको हिसाब छ।

सरकारी सार्वजनिक जग्गा हिनामिनामा नापी कार्यालय चन्द्रगढी झापाका कर्मचारी १० जना, मालपोत कार्यालय दमक झापाका कर्मचारी ११ जना, नापी कार्यालय दमकका कर्माचारी सातजनाको मिलेमतो देखिएको अख्तियारको दाबी छ।

सरकारी सार्वजनिक जग्गा गैरकानुनी तरिकाले हालसाबिक दर्ता प्रक्रियाबाट आफ्नो जग्गामा घुसाई दर्ता कायम गरेका सुुरु जग्गा दर्तावाला ३६ जना छन्। बिगो असुलउपर तथा जग्गा जफत प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएका प्रतिवादीहरू १०८ जना गरी जम्मा १७२ जनालाई मुद्दा दर्ता गरिएको छ।

तत्कालीन प्रमुख नापी अधिकृत शशीकान्त झा (निधन भइसकेका) की पत्नी अनार देवीविरुद्ध ३० करोड २ लाख रूपैयाँ माग दाबी गरिएको छ। त्यस्तै अर्को मुद्दामा उनीविरुद्ध ४१ करोड रूपैयाँ मागदाबी गरिएको छ।

दोस्रो मुद्दामा स्ववासी जग्गा दर्ता प्रक्रियाबाट व्यक्ति विशेषको नाममा दर्ता गरेको खुलेको छ। सुरु नापीको सरकारी जग्गा स्ववासी जग्गा दर्ताबाट २८ बिघा १७ कट्ठा १३ धुर (३८४ रोपनी ८ आना १ दाम) व्यक्ति विशेषका नाममा दर्ता गरिएको हो।

जग्गाको न्यूनतम मूल्यांकन ४१ करोड ६२ लाख रूपैयाँ माग दाबी गरिएको छ। यो मुद्दामा नापी अधिकृतसहित स्थानीयलाई प्रतिवादी बनाइएको छ। गैरकानुनी तरिकाले स्ववासी जग्गा दर्ता प्रक्रियाबाट आफ्नो नाममा दर्ता कायम गरिएको छ।

मुद्दामा सुरु जग्गा दर्तावाला ६५ जना र बिगो असुलउपर तथा जग्गा जफत प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएका ११३ गरी जम्मा प्रतिवादी १८७ जना छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐनको दफा ८ को उपदफा (१) अनुसार कैद र बिगोबमोजिम सबैजनालाई छुट्टाछुट्टै जरिवानाको सजाय गरी बिगो असुलउपर हुनुपर्ने मागदाबी गरिएको छ।

प्रकाशित: १४ फाल्गुन २०८० ०६:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App