३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

गुल्मीमा बन्द भएको २० वर्षपछि खाद्य डिपो पुन:स्थापना

गुल्मीमा बन्द भएको २० वर्षपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा पुन:स्थापना गरिएको छ। खाद्य सुरक्षाको सुनिश्चितता, खाद्यान्नको अभावमा जीवन जोखिमको न्यूनीकरण तथा महामारी र प्रकोपमा खाद्यान्न अभाव हुन नदिने उद्देश्यले खाद्य डिपो स्थापना गरिएको हो।

२०६० सालपछि यहाँका शाखा कार्यालय र डिपो बन्द गरिएको थियो। डिपो अत्यावश्यक भएपछि स्थानीय तहहरूको पहलमा बन्द भएको बिस वर्षपछि शाखा पुन:स्थापना भएको हो।

रेसुङ्गा नगरपालिकाको हाटबजार, मदाने गाउँपालिकाको बाँझकटेरी, मालिका गाउँपालिकाको अर्खाबाङ र रुरुक्षेत्र गाउँपालिकाको बलेटक्सार गरी जिल्लाका चार स्थानीय तहमा खाद्यको डिपो सञ्चालन गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गुल्मी शाखा प्रमुख पुष्पा पाण्डेयले जानकारी दिइन्।

माघ १७ गते देखि औपचारिक रुपमा विक्री वितरण सुरु गरेको कम्पनीले चार वटा डिपो मार्फत मोटा, सावा र जिरा मसिनो गरी आठ सय पचास क्विन्टल चामल बिक्री गरिसकेको छ। चामलसहित दाल, नुन, तेल, चिनी लगायतका सबै खाद्य सामग्री सुपथ मूल्यमा बिक्री गर्ने लक्ष रहेको कम्पनीबाट अहिले तीन प्रकारका चामल सुपथ दरमा बिक्री भइरहेको डिपो प्रमुख पाण्डेयले बत्ताइन्। सावा, मोटा र जिरा मसिनो चामल बिक्री गरिरहेको डिपोले अन्य खाद्यान्न सामाग्री छिट्टै उपलब्ध गराउने गरी काम अगाडि बढाइएको उनले बत्ताइन्।

जिल्लामा उत्पादित रैथाने बाली लगायतका कृषिजन्य वस्तुको बजारीकरणको सुनिश्चितताका लागि सबै डिपोहरूबाट व्यवस्थापन हुनेगरी कम्पनीसँग सम्झौता गरी प्रक्रिया अघि बढाएको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए। ‘मूल्यमा स्थिरता, सहज आपूर्ति र बजारीकरणमा टेवा पुर्‍याउने हाम्रो उद्देश्य हो,उनले भने,‘गाउँको रैथाने बाली खरिद गरेर बिक्री तथा प्रवर्द्धन पनि गर्ने योजना छ।’

डिपोमा सरकारले खाद्यान्न नि:शुल्क ढुवानी गर्ने भएकाले नागरिकले ७ प्रतिशतसम्म सहुलियतमा खाद्यान्न प्राप्त गरिरहेका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व लक्षित सुपथमुल्य पसल सञ्चालन गर्दै आइरहेको छ।

हाल थप परिस्कृत सेवा सहित शाखा कार्यालय पुन:स्थापित भएको छ। विक्री केन्द्रबाट एक जनाले एक क्विन्टलसम्म खाद्यान्न खरिद गर्न सक्नेछन्।

प्रकाशित: १० फाल्गुन २०८० १९:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App