१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

छोराछोरी पढाउने सपनाले इराक गएकी आमा पीडित बनेर फिर्ता

घर फर्कन चार लाख रुपैयाँ बुझाउन बाध्य

वैदेशिक रोजगारीका लागि इराक पुगेकी एक महिला भने अनुसारको काम नपाएपछि खेत बेचेर रकम जुटाई घर फर्केकी छन् । उनी एजेन्टलाई उल्टै चार लाख रुपैयाँ बुझाई केही साताअघि मात्रै स्वदेश फर्किएकी हुन्। 

सर्लाहीकी यी ३४ वर्षीया महिला स्वदेशमा राम्रो आम्दानी नभएकै कारण गत असोजमा बिदेसिएकी थिइन् । विदेश गएको केही महिनामै स्वदेश फर्कन फेरि उनले घरखेत बेच्नुपरेको छ । चार छोरी र एक छोरासहित सात जनाको परिवार भएकी ती महिला कमजोर आर्थिक अवस्थाका कारण बिदेसिएकी थिइन् । छोराछोरी पढाउने स्रोत जुटाउन बिदेसिन खोजेकी उनको सपना पूरा हुन डेढ महिना लागेको थियो । 

दुबईको एक होटेलमा १५ दिन बसेर इराकको राजधानी बगदाद पुग्दा उनी मनमनै खुसीले चिच्याएकी थिइन् । पातलो तर हृष्टपुष्ट शरीर भएकी उनमा विदेश पुगेपछि मच्चिएर काम गर्नुपर्छ भन्ने दृढता थियो । त्यो दृढता केही दिनमै डगमगाएको थियो । इराक पुगेकी उनले विमानबाट उत्रिने बित्तिकै परिवार सम्झेर लामो सास फेरेकी थिइन् ।  

‘म त्यहाँ पुग्दा कति धेरै ढुक्क थिएँ,’ उनले नागरिकसँग आफ्नो अनुभव सुनाइन्, ‘अब काम गर्नुपर्छ भन्ने सोच बन्यो । चार वर्षकी छोरी छोडेर गएकी थिएँ । त्यसको अनुहार झलझली आँखामा आउँथ्यो । तिनैका निम्ति पैसा कमाउने सोचले खुसी थिएँ ।’

त्यो खुसीसँग धेरै ठुलो डर थियो उनमा । नेपाली एजेन्टले सम्पर्क गराइदिएको इराकी एजेन्टले उनलाई कहाँ पुर्‍यायो भन्ने भेउ पाउन सकिनन् । ‘त्यहाँ आफ्नो भन्ने कोही थिएन,’ उनले भनिन्, ‘कतै नेपाली भेट्दा स्वर्गमा पुगेको अनुभूति हुन्थ्यो । धेरै गाडी परिवर्तन गर्दै इराकको राजधानीबाट एजेन्टको अफिस पुग्न समय लाग्यो । उसले कताकता घुमाउँदै अफिस पुर्‍यायो । कुन ठाउँ भन्ने थाहा भएन ।’

ती महिलाको पढाई लेखाइ थिएन । स्वदेशमा हुँदा पारिवारिक अवस्थामा रुमलिएकी उनको हातमा कुनै सीप थिएन । आफू नपढे पनि छोरोछोरीलाई पढाउँनुपर्छ भन्ने बुझेकी थिइन् । तर, त्यहाँ पुगेपछि उनी धेरै दिनदेखि परिवारको सम्पर्कमा आउन पाइनन् । एजेन्टको कम्पनीमा पुगेको धेरै दिनपछि बल्ल पतिसँग कुराकानी भयो । इराक पुगेलगत्तै उनको मनमा केही गडबडी छ भन्ने लागिरहेको थियो ।  

‘एजेन्टको अफिसमा पुगेपछि अन्य धेरै नेपाली महिलालाई भेटेँ,’ उनले भनिन्, ‘त्यहाँ उनलाई काम लगाइदिने भन्दै अड्काइरहेका थिए । कोही महिला शारीरिक शोषणमा परेर एजेन्टको अफिसमा फर्केका थिए ।’

केही दिनको बसाइमै त्यहाँ महिलाहरू काम गर्न जाने र फर्कने क्रम जारी थियो । प्रायः यसरी फर्केर आएका रुन्थे । ‘त्यो देखेर मन साह्रै चिसो हुन्थ्यो,’ ती महिलाले भनिन् । 

एजेन्टले उनलाई इराकमा घरभित्रको काम मिल्ने आश्वासन दिएको थियो । एजेन्टले घरभित्रै बच्चा हेर्ने, सरसफाइ गर्ने, भाँडा माझ्ने, कपडा धुनेलगायत काम गर्दा मासिक तीन सय डलर (करिब ४० हजार रुपैयाँ) कमाइ हुने बताएको थियो । इराक जान उनले ऋण गरेर नेपालकै एजेन्टलाई ५० हजार रुपैयाँ बुझाएकी थिइन् ।

उनका पति धेरै वर्षपहिले भारतमा काम गरेर छोरीछोरी भएकै कारण स्वदेश फर्किएर गाउँमै ज्याला–मजदुरी गर्ने गरेका थिए । ‘गाउँमा ज्याला गरेर कमाएको आन्दानीले के टाल्न पुग्नु,’ उनले भनिन्, ‘एउटा बच्चालाई पढाउन पनि पुग्दैन । आफूले त दुःख पाएँपाएँ, छोराछोरीले दुःख नपाऊन् भनेर राम्रो पढाउने सुरसारले इराक गएकी थिएँ तर इराक पुग्नेबित्तिकै बिरामी पर्न थालेँ । टन्न खान पनि पाइन्नथ्यो ।’

उनले भनिन्, ‘धेरै बिरामी थिएँ । काम गर्न सक्ने अवस्था थिएन । एजेन्टले काम लगाइदिने भनेर एउटा घरमा पु¥यायो । त्यहाँको भाषा केही बुझ्दिनथेँ । बस्नै नसक्ने अवस्था भएपछि एजेन्ट अफिसमै फर्किएँ ।’

उनलाई फेरि एजेन्टले अर्को घरमा पु¥यायो । त्यो समयमा घरमालिक नै ती महिलालाई एजेन्टको कार्यालयमा लिन पुगेका थिए । घरको काममा काम गर्न नजाने भन्दाभन्दै उनलाई जबर्जस्ती गाडीमा हालेर लगिएको थियो ।  

‘मलाई जबर्जस्ती तानेर गाडीमा हाले,’ उनले भनिन्, ‘गाडीभित्रै मेरो शरीरका विभिन्न भागमा छुन थालियो । धेरै चिच्याएँ । त्यहाँ मानवता भएका कोही रहेनछन् । उनीहरूले बोलेको भाषा पनि बुझिएन । छोराछोरीले पढेको सुनेर होला ‘नो टच मी’ भन्न आएछ । तर, पनि उनीहरूले छोडेनन् ।’

‘घर पनि कहाँ हो कहाँ एकान्तमा थियो । गाडीमा त छुने चलाउने गरे । तर, घर पुगेपछि त दुर्व्यवहार नै भयो । ती दिन सम्झन मन छैन । घरभित्र पसेपछि जबरजस्ती नराम्रो व्यवहार गर्न खोजे । उनीहरूले भनेको नमान्दा पेस्तोल देखाउँथे । धेरै कुटपिटसँगै यातना पनि दिन्थे । भोक भोकै उनीहरूले भनेको मान्नुपर्थ्यो । सपनामा पनि उनीहरूले यातना दिएको देख्थेँ ।’

उनको नारकीय दिन त्यस घरमा बितिरहेको थियो । उनलाई त्यहाँ घर मालिकले थुनेर राखेको थियो । उनले त्यो घरमा तीन दिनको नारकीय जीवन बिताइन् । उनले फोनमार्फत एजेन्ट अफिसमा सबै बेलिबिस्तार लगाइन् । एजेन्ट अफिसकी नेपाली महिलाले नै उनलाई उल्टै गाली गर्दै काम नगर्ने भए किन विदेश आइस् भनेर धम्की दिएकी थिइन् । उनको धेरै पटकको हारगुहारपछि बल्ल एजेन्टले आफ्नो कम्पनीमा ल्याएको बताइन् । 

उनी एजेन्ट कम्पनीमा फर्केपछि पनि उद्धार भएको थिएन । त्यहाँ पनि उनले तीन नेपाली एजेन्टबाटै धेरै दिनसम्म कुटाइ मात्रै खानुपरेको थियो । ‘कसैको हातबाट कुटाइ खाएको थिइनँ । तर, त्यहाँ मुख छाड्दै धेरै कुटे । यहाँ रानी हुन पाउँछु भनेर आएकी होला भन्दै नाइलनको डोरीले हान्ने गर्थे । उनीहरूले घरभित्र राम्रो काम पाउँछ भनेर त्यहाँ पुर्‍याए । सबै चोर हुने रहेछन् । आफू त सोझो परियो,’ उनले भनिन् । 

उनको पहिलो र दोस्रो घर मात्रै यस कामका लागि अन्तिम थिएन । उनलाई स्वदेश फर्कने मन भए पनि एजेन्टहरूले भाँडा माझ्ने, लुगा धुने र सरसफाइ गर्ने भनेर पुनः तेस्रो घरमा पनि पुर्‍याए । तर, त्यो घरमा पनि उनलाई दुर्व्यवहार भयो । ‘त्यो देशको भाषै गाह्रो । काम त गरेकै हो । तर, खानै  नदिने, खाली गाली मात्रै गर्ने  । उनीहरूको खाने पानी छुन पनि मिल्दैनथ्यो । ट्वाइलेटमा भएको धाराको पानी थापेर खान्थेँ । अलि राहत मिल्थ्यो,’ उनले भनिन्, ‘फेरि पनि एजेन्टलाई काम गर्दिनँ भनेर निकाल्न धेरै जोड गरेँ । खानै नपाए पनि आफ्नै देश फर्कन्छु भनेर बिन्ती बिसाएँ । परिवारलाई पनि सम्पर्क गरेर उद्धारका लागि चित्कार गरेँ । केही दिनपछि एजेन्टहरूले लिन आएर कुट्दै अफिस पुर्‍याए ।’

उनी पुनः एजेन्ट कार्यालयमा आइन् । तर, त्यहाँका नेपाली एजेन्ट नै मिलेर चार लाख रुपैयाँ मागेको बताइन् । एजेन्टलाई उद्धृत गर्दै उनले भनिन्, ‘चार लाख दिएको खण्डमा नेपाल फर्काउने हो । त्यत्तिकै कहाँ फर्किन पाइन्छ र ? भात खान सजिलो छ भन्ठानेको होला । पैसा निकाल् अनि जा ।’

ती महिला रुँदै कराउँदै आफ्ना पतिलाई सम्पर्क गरिन् । उनले इराकमा भोगेको सबै कुरा सुनाइन् पनि । ‘यहीँ मर्छु होला बुढो ? अब बाँच्ने ठाउँ नै देखिनँ । चार लाख रुपैयाँ मागेको छ । कसरी दिनु ? मरेँ भने छोराछोरीलाई हेरचाह गर्नु है,’ इराकमा हुँदा पतिसँग फोनमार्फत गरेको संवाद ती महिलाले सुनाइन् । 

विदेशबाट आएकी पत्नीको रुवाबासीले ती महिलाका पतिलाई मरेतुल्य बनायो । उनका पति ऋण खोज्नतिर लागे ।  उनले ऋण कहीँ पाएनन्  । पत्नी इराक जाँदा लागेको ऋण चुक्ता भएकै थिएन । अब उनलाई ऋण कसले दिने ? 

‘बुढीको रुवाइसँगै दिनदिनै फोन आउँथ्यो,’ ती महिलाका पतीले भने, ‘नजिकै रहेका प्रहरी चौकीसम्म पुगेँ । प्रहरी ‘फर्काउन सक्दैनौँ भन्थे । एजेन्टलाई भन्दा सिधै पाँच लाख रुपैयाँ मागेका थिए । उपाय भनेकै पैसा बुझाए बुढी आउँथिन् ।’

उनी पत्नीलाई उद्धार गर्ने भन्दै चारैतिर ऋणका लागि हात फैलाउँदै हिँडे । तर, उनलाई कसैले पत्याएनन् । तब उनी आफ्नो पैतृक सम्पत्ति बेच्न बाध्य भए । उनले खेत बेचेर आएको चार लाख रुपैयाँले बिदेसिएकी पत्नीलाई उद्धार गरे । 

इराक नेपाली श्रमिकहरूका लागि प्रतिबन्धित मुलुक हो । प्रतिबन्धित मुलुक भए पनि एजेन्टहरूले विभिन्न मुलुक ट्रान्जिट बनाएर अवैध प्रक्रियामार्फत नेपाली श्रमिकलाई लैजाने गरेका छन् । 

नेपाल फर्केकी ती महिलालाई अब विदेश भनेर सम्झनु पनि छैन । उनका अनुसार त्यहाँ उनी जस्तै अरू थुप्रै नेपाली महिला थिए । त्यहाँ धेरै महिलाले बाध्य भएर देहव्यापार गर्नुपरेको थियो । अन्य महिला पनि नेपाल फर्कन्छु भन्दा एजेन्टले लाखौँलाख रुपैयाँ माग्ने गरेको उनले त्यहाँको दुःख सुनाइन् । 

त्यसरी इराकको नारकीय जीवन बिताएर नेपाल फर्केकी ती महिलाले मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी दिएकी छिन् । ब्युरोका डिएसपी ज्ञानबहादुर विष्टका अनुसार अप्ठ्यारोमा परेका महिलालाई नै त्यस्ता ठाउँमा पुर्‍याउँछन् । किनकि एजेन्टले विभिन्न प्रलोभन देखाएकै कारण एक पटक भनेकै भरमा विदेश जान तयार हुने गर्छन् । 

त्यसरी श्रमिक पुर्‍याएबापत एजेन्टलाई रोजगारदाताले लाखौँलाख दिने गर्छन् । त्यहाँ पुर्‍याइसकेका श्रमिक नेपाल फिर्ता पठाउनुपरेको अवस्थामा एजेन्टले फेरि रोजगारदातालाई पैसा बुझाउनुपर्ने हुँदा श्रमिकसँग पैसा असुल्ने गरेको उनको बताए । 

प्रकाशित: ९ फाल्गुन २०८० १३:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App