समयावधि भन्दा पहिले नै प्रश्न पत्र बाहिर ल्याएको भन्दै अर्घाखाँचीको मालारानी गाउँपालिकाले एक शिक्षकलाई निलम्बन गरेको छ।
मालारानी गाउँपालिका वडा नम्बर-८ मा रहेको बाल शिक्षा माध्यमिक विद्यालयका शिक्षक बुद्धिबहादुर बिकलाई प्रश्न पत्र बाहिर ल्याएको भन्दै पालिकाले कारबाही गरेको हो।
प्रश्न पत्र आउट गरेकाले एक महिनाको लागि निलम्बन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण कँडेलले जानकारी दिए।
यसै वर्षदेखि गाउँपालिकाले शिक्षाको गुणस्तरमा सुधार गर्न पालिकाले आफै प्रश्न पत्र बनाएर मर्यादित परीक्षा सञ्चालन गर्दै आएको थियो। परीक्षा सुरु हुनु अगावै प्रश्न पत्र बाहिरिएपछि प्रश्न पत्र बाहिर ल्याउने शिक्षक बिकलाई कार्यपालिका बैठकले १ महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको हो।
प्रारम्भिक अनुसन्धानमा दोषी देखिएकाले बिकलाई एक महिनाका लागि निलम्बन गरिएको र थप अनुसन्धान गरिरहेको पालिकाले जनाएको छ।
शैक्षिक सुशासनमा आघात पुर्याउने जोसुकैलाई कारबाहीको दायरामा ल्याउने समेत पालिकाले चेतावनी दिएको छ।
गत माघ २५ गते देखी दोस्रो त्रैमासिक परीक्षा सञ्चालन गरेको पालिकाले यसै शैक्षिक सत्र देखी आफै प्रश्न पत्र निर्माणको थालनी गरेको थियो। २६ गते बाल शिक्षा माध्यमिक विद्यालयमा सबै विषयका प्रश्न पत्र बाहिरिएका थिए।
पालिका भित्र रहेका शिक्षकका पेसागत संघ–संगठनहरुले प्रश्न पत्रको गोपनीयता कायम नभएको विषयमा सत्य तथ्य छानबिन गर्न विज्ञप्ति मार्फत गाउँपालिकाको ध्यानाकर्षण समेत गराएका छन्।
प्रकाशित: ५ फाल्गुन २०८० २०:५३ शनिबार