२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

६ मुहानबाट गाउँमा खानेपानीकाे जाेहाे

भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ३ अन्नपूर्णका स्थानीयको पानी समस्या हटेको छ। यहाँका दुई सय ३८ घरपरिवारमा एक घर एक धारा निर्माण भएसँगै वर्षौंदेखिको पानी समस्या हटेको हो।

‘कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाज्’ ले अन्नपूर्ण बाख्राङ बाहुनगाउँ खानेपानी आयोजना निर्माण गरिदिएसँगै यहाँको पानी समस्या अन्त्य भएको हो। खानेपानी आयोजनाको रक्षा मन्त्रालयका सहसचिव बावुराम अधिकारीले हालै उदटन गरेका थिए।

आयोजना निर्माण गर्न दुई करोड १२ लाख खर्च भएको टेम्केमैयुङ– ३ अन्नपूर्णका वडाध्यक्ष पूर्णप्रसाद राईले बताए। आयोजना निर्माणमा ५२ लाख ६३ हजार बराबर उपभोक्ताको श्रमदान रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष चेवनराज राईले बताए। ६ वटा मुहानबाट संकलन गरेर बस्तीसम्म पानी ल्याइएको हो।  

आयोजनाको पाइप लाइन २६ हजार ९५ मिटर रहेको छ। यहाँ १५ सङ्कलन ट्यांकी र नौ वितरण ट्यांकी निर्माण गरिएका छन्। गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले पालिकाको आन्तरिक स्रोत कम भएकाले अरुलाई सहयोगका लागि गुहार्नुपरेको बताए।  

‘स्थानीयले अब स्वच्छ खानेपानी उपभोग गर्न पाएका छन्’, उपाध्यक्ष राईले भने। चालु आर्थिक वर्ष २०८०÷८१ मा थप ८० परिवारको घरमा पानी  पुर्‍याउने लक्ष्य रहेको उनले बताए।

कादुरी संस्थाका उपनिर्देशक विजयन्त शेरचनले खानेपानीसँगै विभिन्न क्षेत्रमा काम गर्दै आएको बताए। विसं २०७५ देखि आयोजना निर्माण थालिएको थियो। –रासस

प्रकाशित: ५ फाल्गुन २०८० ०८:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App