१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

‘सँगसँगै बलियो हुँदै युरोपियन युनियन र नेपाल’

युरोपियन युनियन र नेपालले कूटनीतिक सम्बन्धको ५० औं वर्षगाँठ मनाइरहेका छन्।

५० औं वर्षगाँठको अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा दुवैले नियममा आधारित अन्तर्राष्ट्रिय मापदण्ड, शान्ति तथा संवृद्धि, मानवअधिकार र लोकतन्त्रको संरक्षण र प्रवर्धनको सन्दर्भमा साझा प्रतिबद्धता जनाएका छन्।

‘यो वर्ष हामी प्रतिबद्ध साझेदारीको ५० औं वार्षिकोत्सव मनाउँदै छन्। शान्ति तथा संवृद्धको लागि सँगसँगै काम गर्ने हाम्रो दृढ प्रतिबद्धताका कारण हाम्रो साझेदारी हरेक वर्ष थप बलियो हुँदै गएको छ,’ नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोले भने।

‘सँगसँगै बलियो हुँदै’ भन्ने नाराका साथ दुवैले ५० औं वर्षगाँठ मनाइरहेका छन्। युरोपियन युनियन र नेपालको राजनीतिक तथा आर्थिक सम्बन्ध सन् १९७४ मा स्थापित भएको थियो। विगत ५० वर्षको यात्राको दौरानमा दुवै साझेदारहरूमा उल्लेख्य परिवर्तनहरू भएका छन्।

नेपाल संघीय लोकतन्त्रको रुपमा स्थापित भएको छ भने तत्कालीन युरोपियन आर्थिक समिति सन् १९९३ मा युरोपियन युनियन भएको छ। यसैगरी सन् २०१० मा युनियनले युरोपियन एक्सटर्नल एक्सन सर्भिस स्थापना गर्दै साझा वैदेशिक तथा सुरक्षा नीति तर्जुमा गरेको छ।

यसबिचमा, दुवै साझेदारहरूले लोकतान्त्रिक तथा आर्थिक क्षेत्रको विस्तार गर्दै उनीहरूको साझा हितलाई मजबुत समेत बनाएका छन्।

सन् २०२६ सम्ममा अल्पविकसित देशहरूको सूचीबाट नेपाल स्तरोन्नति गर्ने सन्दर्भमा युरोपियन युनियन र यसका सदस्य राष्ट्रहरू, अर्थात् ‘टिम युरोप’ ले नेपालको विकासको तीन क्षेत्रहरू समावेशी हरित वृद्धि, मानव संसाधन विकास र सुशासनमा सहायतालाई निरन्तरता दिने जनाएकाे छ।

यस अवसरमा राजदूत लोरेन्जोले वर्षभरि मनाइने विभिन्न कार्यक्रमबारे जानकारी दिएका थिए। त्यसमध्ये नेपाल युरोपियन युनियन चलचित्र महोत्सव मार्च २० मा सुरु हुने उनले बताए।

यसैगरी अगस्ट महिनामा फोटो प्रतियोगिता आयोजना हुनेछ भने सेप्टेम्बर महिनामा देशको सातै प्रदेशमा ‘इरासमस रोड सो’  को आयोजना गरिने राजदूत लोरेन्जोले बताए।

युरोपियन युनियन र नेपालबिच सन् १९९६ को जुन १ मा साझेदारी सम्झौता सम्पन्न भएको थियो। 

प्रकाशित: ३ फाल्गुन २०८० १५:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App