१३७ ग्रामको सुनको औंठी र सिक्रीसहित प्रहरीले त्रिभुवन विमानस्थलबाट दुई जनालाई नियन्त्रणमा लिएको छ।
बुधबार हिमालय एयरलाइन्सको उडान मार्फत नेपाल आएका दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सुनसरी बराह क्षेत्र नगरपालिका वडा नं-१ बस्ने ३८ वर्षीय सन्चा कुमारी राई र धादिङ शिद्धलेख गाउँपालिका वडा नं-३ घर भएकी २६ वर्षीय उर्मिला मगर रहेका छन्।
उनीहरुका साथबाट भन्सार छलीको १३७ ग्राम बराबरको सुनको औंठी तथा सिक्री बरामद भएको त्रिभुवन विमानस्थलका प्रहरीले जनाएको छ।
‘उहाँहरूमाथि शंका लागि चेकजाँच गर्ने क्रममा १३७ ग्राम बराबरको सुनको औंठी तथा सिक्री भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला परेकाले नियन्त्रणमा लिएका हौं। उहाँहरुलाई आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाएका छौं।’ प्रहरीले भन्यो।
प्रकाशित: ३ फाल्गुन २०८० १५:१६ बिहीबार