१४ फाल्गुन २०८० सोमबार
समाज

राप्ती नदीमा घडियाल गोही जोगाउने चुनौती

बाँकेको कुसुमस्थित राप्ती नदीमा छाडिएका घडियाल गोही। तस्बिर: अर्जुन ओली/नागरिक

बाँके राष्ट्रिय निकुञ्जले गत वर्ष मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने बाँकेको कुसुमस्थित राप्ती नदीमा दुर्लभ घडियाल गोही छाड्यो। त्यतिबेला बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रबाट घडियाल ल्याएर राप्तीमा छाडिएको थियो।

नदीमा छाडिएका १० वटा गोहीमध्ये अहिले दुईवटा मात्रै बाँचेको अनुमान गरिएको छ। निकुञ्जका अनुसार राप्ती नदीको कुसुमस्थित बाँसखोली र बाघखोरमा दुईवटा गोही कहिलेकाहीं देखिन्छन्।

गोही रेखदेख गर्नका लागि निकुञ्जमार्फत तीन जना कर्मचारी खटिएका छन्। उनीहरूले दैनिक राप्ती नदीमा अनुगमन गर्छन्। निकुञ्जले यस वर्ष पनि कुसुमस्थित राप्ती नदीमै थप १० वटा घडियाल गोही छाडेको छ।

यसपटक भने चितवन राष्ट्रिय निकुञ्जबाट ल्याएर गोही राप्तीमा छाडिएको हो। यसपटक छाडिएका १० मध्ये शतप्रतिशत गोही जोगाउन सकिनेमा निकुञ्जका कर्मचारी नै विश्वस्त छैनन्।

निकुञ्जले हरेक वर्ष प्राकृतिक वासस्थानका रूपमा रहेको राप्ती नदीमा घडियाल गोही छाडे पनि संरक्षणमा भने चुनौती थपिएको छ। गोही विज्ञका अनुसार ‘मगर’ प्रजातिको गोहीभन्दा ‘घडियाल’ शान्त स्वभावको मानिन्छ। यसले मान्छेलाई आक्रमण गर्दैन। यसको प्रमुख आहारा नै माछा हो। सफा पानीमा मात्र यो  बस्न रुचाउँछ।

राप्ती नदी घडियाल गोहीका लागि उपयुक्त वासस्थान भए पनि नदी वरिपरि मानव बस्ती रहेको छ। राप्ती नदीमा आश्रित रहेका आदिवासी समुदायको बसोबास पनि यहाँ धेरै छ।

नदीमा माछा मार्ने, सुन चाल्ने समुदायहरू (खुना, कुमाल, वादीलगायत) राप्ती नदी आसपासका गाउँमा धेरै छन्। जसले गर्दा घडियाल गोहीलाई प्राकृतिक वासस्थानमै पनि जोगाउन चुनौतीपूर्ण रहेको सम्बद्ध सरोकारवाला बताउँछन्।

बाँके राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्का नदीमा आश्रित समुदायका लागि आयआर्जनको विकल्प नखोजेसम्म राप्तीमा घडियाल गोही संरक्षण गर्न चुनौती नै रहेको तर्क गर्छन्।

राप्तीमा आश्रित समुदायका कारण गत वर्ष र यस वर्ष नदीमा छाडिएका २० वटा घडियाल गोही शत प्रतिशत सुरक्षित हुन्छन् भन्न सक्ने अवस्था नरहेको उनले बताए।

‘अहिले पनि ठुलो समुदाय नदीमा आश्रित छ, माछा मार्ने र सुन चालेर जीविकोपार्जन गर्ने समुदाय पनि छ,’ उनले नागरिकसँग भने, ‘नदीखोलामा आश्रित समुदायलाई विकल्प खोजौं, समयमा विकल्प खोजेनौं भने गोही सुरक्षित हुन्छन् भन्न सकिँदैन।’

पर्यटकीय गतिविधिसँग जोडेर नदीमा आश्रित समुदायलाई जीविकोपार्जन सम्बन्धी काममा लगाउन सकिने उनको सुझाव छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज शाह पछिल्लो समयमा सिमसार क्षेत्र दिन प्रतिदिन चपेटामा परिरहेको अवस्थामा गोही संरक्षण गर्न चुनौती देखिएको बताउँछन्।

‘नदीनालामा माछाको कमी भइसकेको छ। गोहीको आहारा नै माछा हो। यस्तो अवस्थामा गोहीलाई संरक्षण गर्न चुनौती छ,’ उनले भने।

सबैको साझा प्रयासले मात्र गोही संरक्षण गर्न सम्भव हुने प्रमुख संरक्षण अधिकृत शाह बताउँछन्।

गोही विज्ञका अनुसार घडियाल विशेषगरी नेपाल र भारतमा मात्रै पाइन्छ। केही वर्ष अगाडि पाकिस्तान, भुटान र बंगलादेश लगायतका देशमा पनि घडियाल फेला परेको थियो।

घडियाल गोहीलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ ले पनि संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत गरेको छ। गोहीलाई कसैले मारेको खण्डमा कडा कानुनी सजाय हुने व्यवस्था गरिएको छ।

कसैले सिकार गरेमा वा मारेको ठहर भएमा एक लाखदेखि पाँच लाख रूपैयाँसम्म जरिवाना वा एक वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

 गोहीलाई एक देशबाट अर्को देशमा ओसारपसार गर्न पनि पूर्णतया प्रतिबन्ध गरिएको छ। तर, दुई देशबिचको सहमतिमा अनुसन्धानका लागि मात्रै ओसारपसार गर्न सकिन्छ।

बाँकेका पर्यटन व्यवसायी कृष्ण चौधरी राप्ती नदीको चारैतिर खुला रूपमा समुदायको ओहोरदोहोर हुने भएकाले गोही संरक्षण गर्न चुनौती रहेको बताए। ‘गोहीलाई संरक्षण गर्नका लागि स्थानीय समुदायलाई नै सहभागी गराउनुपर्छ,’ होमस्टे व्यवसायी महासंघका महासचिव चौधरीले भने, ‘गोहीलाई पर्यटनसँग पनि जोड्न सकिन्छ, यहाँ आउने पाहुनालाई नदीमा भ्रमण गराउन सकिन्छ।’

प्रकाशित: २९ माघ २०८० ०८:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App