नेपाली सेनामा भर्ती गराइ दिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोगमा इलाका प्रहरी कार्यालय कोहलपुरले दैलेख भगवती गाउँपालिका–७ तप्लुङका ३० वर्षीय रमेशकुमार थापालाई पक्राउ गरेको हो।
उनलाई सुर्खेतको सदरमुकाम वीरेन्द्रनगर–११ स्थित पिपिराबाट सुर्खेत प्रहरीको सहयोगमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले जानकारी दिए।
कोहलपुर–११ बसपार्ककी बालकुमारी टमटा र गोविन्द विकबाट नेपाली सेना बनाइदिन्छु भन्दै चार लाख रुपैयाँ लिई ठगी गरेको डिएसपी तिवारीले बताए।
अहिले नेपाली सेनाका लागि छनौट प्रक्रिया चलिरहेको छ। सोही मौकामा ठग्ने नियतले थापाले पैसा असुली गरेको प्रहरीले जनाएको छ।
प्रकाशित: २७ माघ २०८० १९:२३ शनिबार