आमा नभएको घर चार पर्खालले घेरिएको संरचना मात्र हुन्छ। त्यहाँ जीवन हुँदैन। आमाबिनाको घर नर्क हुन्छ। हो, त्यस्तै नारकीय अवस्थामा गुज्रिरहेका अनेकन् मध्येको एउटा घर छ काभ्रेमा। आमाको मृत्युपछि काभे्रकी १३ वर्षीया बालिका ‘क’ कामको खोजीमा होटलको ढोकामा पुग्छिन्। त्यसअघि ती नाबालिगले बच्चा हेर्नेजस्ता अन्य थुप्रै काम गरे तापनि होटलको अनुभव पहिलो पटक गर्दै थिइन्।
उनी आफैंमा बालिका भए पनि परिवारमा आफ्नै भाइ हेर्नुपर्ने जिम्मेवारीले समेत उनी किचिएकी थिइन्। सानो परिवार भए पनि कमजोर आर्थिक अवस्थाले परिवारलाई घाइते बनाएको थियो। त्यस परिवारमा पिताको भूमिका गैरजिम्मेवार हुँदा यो अवस्था आएको थियो।
आर्थिक दुरावस्थाकै कारण धेरै वर्षअघि उनीहरू ललितपुरस्थित हरिसिद्धि इँटा कारखानामा काम गरेर गुजारा चलाइरहेका थिए। त्यस परिवारमा छोरा र फूलजस्ती छोरी आमाबुबाको काखमा खेलिरहन्थे। पढाइलेखाइमा अब्बल छोरीको अध्ययन यात्रा बिचैमा रोकियो।
आमाबुबाको स्थायी बसोबास नहुँदा छोराछोरीको पढाइ खस्किन थालेको थियो। विपन्न परिवारमा जन्मेकै कारण उनको पढाइमा पूर्णविराम लागेको थियो। कामकै खोजीमा त्यो परिवार ललितपुर, भक्तपुर हुँदै धादिङ पुग्यो। आमाबाबु जता जान्थे, छोराछोरीको पढाइ पनि उतै हुन्थ्यो।
आमाबुबा शिक्षित नभएकै कारण उनीहरू साँझपख एकापसमा सधैंझैं झगडा गर्थे। त्यो सानो परिवारमा झगडाको बिउ भनेको रक्सी थियो। घरको जगै भत्किएपछि अन्य तला कसरी ठडिन्थ्यो र? हो, त्यो परिवारमा आमाबुबा रक्सी खाएर कुटपिट गरेकै कारण बालबालिकामा ठुलो असर परेको थियो। परिवारलाई जोडिराख्ने भावनात्मक पक्षको त्यहाँ सर्वथा अभाव थियो।
यसो हुँदैगर्दा छोरीलाई काम लगाइदिने क्रममा ओके इँटाभट्टाका नाइके प्रकाशमार्फत मने भन्ने व्यक्तिसँग त्यस परिवारको भेट हुन्छ। मासिक २५ सय पाउने आशाले बाबुले छोरीलाई मनेको घरमा बच्चा हेर्ने काममा लगाइदिए।
ती नाबालिका ‘क’ आफैंमा बच्चा थिइन्। बच्चाले नै बच्चा हेर्ने काम गरेको दुई महिना नपुग्दै उनीहरू पुनः काठमाडौं फर्किनुपरेको थियो। काठमाडौं फर्केलगतै आमाबाबुले छोरीलाई आम्दानीको प्रलोभनमा परेर रानीवनकी मञ्जु भन्ने महिलाको होटलमा पुनः बच्चा हेर्ने काममा लगाइदिए।
समय बित्दै गयो। परिवार तितरवितर हुँदै गएको थियो। यता काठमाडौंमा छोरी काम गर्दै थिइन् भने उता काभ्रेमा पारिवारिक कलहकै कारण आमाले आत्महत्या गरिन्।
आमाको मृत्युपछि गाउँ पुगेकी नाबालिका ‘क’ दुई साता नहुँदै काठमाडौं आएर नाम थाहा नभएको अर्को गेस्टहाउसमा काम गर्न पुगिन्। यसरी नै उनको दिनचर्या बितिरहेको थियो। त्यही होटलकी धनमाया भन्ने महिलाले नाम थाहा नभएका एक पुरुषसँग ती बालिकालाई पठाएपछि थप दुःखको पहाड उनीमाथि बज्रियो।
‘दिदीले चाउचाउ, जुस र सितारा माछा किनेर गेस्ट हाउसको कोठामा पु¥याउनुभयो,’ बालिकाले भनिन्, ‘दिदीले मलाई नचिनेको पुरुषसँग छाडेर आफ्नो मोबाइलसमेत मलाई दिनुभयो। ती पुरुषले मलाई जबर्जस्ती गर्न खोजेपछि ‘दाइ म यस्तो काम गर्न सक्दिनँ’ भनेकी थिएँ। ‘तिम्री दिदीलाई सात हजार दिएको छु। तिमीलाई पनि के चाहिएको छ, किनिदिन्छु’ भने। म रुँदै कराएँ पनि। तर, त्यहाँ सुन्ने कोही थिएन।
भोलिपल्ट फेरि नाबालिका ‘क’ को भेट धनमायासँग भयो। ‘दिदी, मलाई तपाईंले किन यस्तो काममा लगाउनुभएको ? म सानो मान्छे, मलाई साह्रै गाह्रो भयो। मैले त्यो मान्छेलाई दाइ, गाह्रो भयो भन्दा समेत मलाई छोडेन। मैले रुँदै कराउँदा समेत मेरो केही सिप चलेन,’ नाबालिका ‘क’ ले मानव बेचबिखन अनुसन्धान ब्युरोसँग ती महिलासँगको संवाद सुनाइन्।
ती महिलाले नाबालिकालाई दुरूपयोग गरी होटलमा आएका पुरुषसँग सात हजार लिएकी थिइन्। त्यस्तो कामप्रति बालिकाको अनिच्छा हुँदाहुँदै रात बिताउन बाध्य भएकी थिइन्।
आफ्नै गेस्टहाउसमा राख्दै आएकी धनमायाले पुनः दुई सातापछि सुरुवाल किन्ने बहानामा अर्को नयाँ पुरुषसँग नाबालिका ‘क’ लाई भेट गराइन्। नयाँ पुरुषसँगको भेटमा पनि नाबालिका ‘क’ ले सम्पर्कमा रहन अस्वीकार गरेकी थिइन्। त्यहाँ पनि उनको केही सिप लागेन्।
‘म जाँदै जान्नँ। अस्ति पनि त्यस्तो काम गर्दा मेरो पेट दुख्यो। कति गाह्रो भएको थियो,’ नाबालिकाको यस जवाफमा धनमायाले भनेकी थिइन्, ‘जाबो यति काम नि गर्न सक्दिनौ। जाऊ, तिमीलाई त्यो दाइले नयाँ कपडा किनिदिनुहुन्छ। साथै केही पैसा पनि दिनुहुन्छ।’ यसपटक पनि उनले हार खाइन्।
नयाँ हिंस्रक पुरुष र धनमायाका अगाडि ती बालिकाको केही लागेन। बालिका ‘क’ धनमायाले भनेअनुसारको काम गर्न बाध्य भइन्। यसरी परिवारमा भाइको मायाले बाध्यतामा परेकी ती बालिका पटकपटक आफू अन्यायमा परिरहिन्।
बालिकालाई शरीर बेचबिखनमा लगाउने क्रममा धनमाया नयाँ बसपार्कको प्रहरी फन्दामा परिन्। अन्य थुप्रै नाबालिकालाई यस्तो धन्दामा लगाएको बालिका ‘क’ ले प्रहरीलाई बेलीविस्तार लगाइन्।
ब्युरोले केही महिनाअघि मात्रै ती बालिका उद्धार गरेर माइती नेपालको संरक्षणमा राखी परामर्श दिइरहेको ब्युरोका अधिकारीहरूले बताए। मानव बेचबिखन तथा ओसारपसार विरुद्धको कार्य भएको हुँदा बालिकाको उद्धारसँगै जाहेरीका साथ उक्त कार्यमा लगाउने धनमाया रोकाया पनि हालै पक्राउ परेकी छन्।
त्यस्तै उदयपुर घर भएकी १७ वर्षीय नाबालिका ‘ख’ को ६ जनासहितको परिवारमा पनि आर्थिक संकट आएको थियो। नाबालिका ‘ख’का आमाबुबा रक्तचाप र अल्सरका बिरामी भएकै कारण उपचारमा खर्च भइरहेको थियो।
आमाबुबाको उपचारलाई सरल बनाउन चिनजानकै दिदीमार्फत उनी काठमाडौं आइन्। काठमाडौं लिन आएकी महिलाले उनीलगायत अन्य पाँच जना नाबालिकालाई लिएर रातोपुलस्थित ब्युटी पार्लर एन्ड स्पा सेन्टरमा पुर्याइन्।
ती बालिबालिकाहरूलाई दिनमा स्पाको काम गरेर राति त्यहीं बस्ने व्यवस्था मिलाइएको थियो। स्पा सञ्चालक दिनेश पौडेल र आरती शाहीले उनीहरूलाई उक्त काम लगाएका थिए।
‘उक्त स्पामा काम गर्ने सारा दिदीले मसाज सिकाएकै भरमा हामीले काम गरेका थियौं। त्यहाँ हामीलाई ड्राई मसाज, नर्मल ओएल मसाज, जडीबुटी ओएल मसाज र थाई मसाजको सुविधा थियो। सबैको रेट फरक फरक हुन्थ्यो,’ नाबालिका ‘ख’ ले भनिन्।
उनले थपिन्, ‘त्यहाँ महिला कहिल्यै आएनन्। सधैं पुरुष मात्रै आउँथे। पुरुषग्राहकले छानेका केटीले मसाज गर्नु पथ्र्यो। एक दिनमा पाँचदेखि बढीमा १८÷२० जनासम्म पुरुष ग्राहक आउँथे। पुरुषबाट प्राप्त रकमको २० प्रतिशत दिन्थे। यसबाहेक मासिक तलब भने थिएन। प्रत्येक दिन चारपाँच जनाको मसाज गरिदिन्थें।’
ती नाबालिकाले त्यहाँ काम गरेको करिब ४ महिना भएको थियो। आमाबुबा बिरामी थिए, घरबाट उनलाई सधैं फोन आउँथ्यो। उनी केही रकमसहित आमाबुबालाई भेट्न गाउँ फर्किन्। स्पामा काम गर्ने मान्छे नहुँदा उनलाई तलब बढाउने सर्तमा साहुले पटक पटक फोन गर्ने गरेका थिए। उनी पुनः त्यहीं फर्किन्।
‘ग्राहकको चाप बढेकाले मलाई छिटो बोलाएका रहेछन्। थाई मसाजको नाममा मलाई साहुले पुरुषहरूसँग यौनकार्यमा लगाउने योजना बुनेका रहेछन्। थाई मसाज महँगो थियो। एक जना ग्राहकले नाम पुकार्दै तपाईंको पनि लुगा खोल्नुहोस् भन्दा म अचम्म परें। मैले किन लुगा खोल्ने भन्दा जवाफमा साहुले पाँच हजार रूपैयाँ लिएको छ भन्ने खबर पाएँ,’ उनले भनिन्।
उनले थप बेलीविस्तार लगाइन्, ‘त्यही समयमा साहु आएर करायो। भनेको मानिनौ भने दिनुपर्ने पैसा पनि नदिने र कामबाट निकाल्नेसम्मको धम्कीपूर्ण अवस्था सिर्जना हुँदा म राजी भएँ। आँखाबाट आँसु बगिरहेको थियो। त्यो मान्छेले अस्थायी साधनबिनै शारीरिक सम्पर्क गर्यो। त्यस दिनबाट थप काम बढ्दै गयो।’ स्पा साहुले यौनकार्यमा सक्रिय भएको फोटो र भिडियो पनि खिच्ने गरेको नाबालिकाले ‘ख’ले बताइन्।
सानै उमेर र राम्री भएकै कारण ती नाबालिका ‘ख’ सँगै बस्न भनेरै दिनमा तीनचार जना ग्राहक आउने गरेका उनले बताइन्। उनी काम नगर्ने निर्णयमा पुगिन्। तर, साहुले भनेको नमान्दा यौनकार्यमा संलग्न फोटाहरू चिनजानको आफन्तलाई पठाइदिने धम्मी उनलाई दिन्थे। त्यहाँ उनीजस्तै अन्य नाबालिका पनि जबरजस्ती यौनकार्यमा संलग्न थिए।
मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले मंसिरमा उक्त स्थानमा छापा मार्दा स्पा सञ्चालक दिनेश पौडेल र अन्य व्यक्तिलाई पक्राउसमेत गरेको थियो। ती नाबालिका ‘ख’लाई मात्रै नभएर अन्य चारपाँच जना नाबालिकालाई पनि डर, धाक र धम्की देखाई विभिन्न कार्यमा लगाउने गरेको उनले मानव बेचबिखन अनुसन्धान ब्युरोसँग गुनासो गरेकी थिइन्।
त्यस्तै काठमाडौंस्थित नयाँ बसपार्क क्षेत्रका पश्चिम लुम्बिनी गेस्टहाउस सञ्चालक सुबिन अधिकारीले नुवाकोटकी एक बालिका ‘ग’ लाई पनि जबरजस्ती यौनकार्यमा लगाएका थिए। उसको पनि पारिवारिक अवस्था नाजुक भएकै कारण गाउँदेखि सहरमा कामका लागि आउन बाध्य भएकी थिइन्। उनले गेस्टहाउसमा काम गर्नुपूर्व विभिन्न साना खाजाघरहरूमा काम गर्दै आएकी थिइन्।
‘पहिला खाजाघरमा पनि यौनकार्यमा सहभागी हुन नमानेकै कारण काम छोडेकी थिएँ। आमाले विभिन्न ठाउँमा काम पनि लगाइदिनुभयो। खाजाघर, रेस्टुरेन्ट, डान्सबार हुँदै गेस्टहाउससम्म पुगें,’ उनले भनिन्।
‘गेस्टहाउसमा विभिन्न किसिमका मानिस आउँथे। साहुले जबरजस्ती यौनकार्यमा लगाउँथे। त्यस्तो काम गर्दिनँ भन्दा घर जानै नदिने धम्की दिन्थे,’ उनले भनिन्, ‘कुनै कुनै ग्राहकले पैसा पनि दिन्थे। मैले खाना खाजा खाएको पैसासमेत ग्राहकहरूले नै तिर्थे। पछि करिब वर्षदिन नपुग्दै शारीरिक अवस्था नाजुक हुँदै जान थाल्यो। काम नगर्ने भनेर भाग्न खोज्दा गेस्टहाउसमै रहेकी सपना तामाङले धेरै कुटपिट गरिन्।’
यसरी उनले नारकीय जीवन बिताउँदै गर्दा गेस्टहाउस नजिकैका स्थानीय व्यक्तिले प्रहरीलाई खबर गरेपछि गत असोजमा बालिकाको उद्धार भएको थियो। श्रमशोषणका साथ जबरजस्ती वेश्यावृत्तिमा लगाई यौन शोषणमा परेकाले मानव बेचबिखन तथा ओसारपसार विरुद्धको कार्य भएको हुँदा उनको जाहेरी ब्युरोमा परेको छ। अहिले उनलाई माइती नेपालले संरक्षण गरी परामर्श लिइरहेको छ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी एसपी कृष्णप्रसाद पंगेनीका अनुसार आर्थिक लाभकै कारण उपत्यकाभित्र रहेका ससाना खाजाघर, क्याफे, गेस्टहाउस, स्पा सेन्टरजस्ता विभिन्न ठाउँमा बालिकाहरूको दुरूपयोग हुने गरेको छ।
‘बसपार्क क्षेत्रमा त्यस्ता कार्य धेरै हुन्छन्। जहाँ मानिसको भिड लाग्छ। सबै सत्यतथ्य बाहिर आउँदैनन्। यस्तो धेरै अनैतिक कार्य भित्रभित्रै लुकेका छन्। जो अप्ठेरोमा परेका छन्, त्यस्ता पीडितहरू प्रहरीसम्म पुग्छन्। कतिपय भद्रभलादमी स्थानीयले गर्दा पनि पक्राउ तथा उद्धार हुने गरेको छ,’ उनले भने।
घरको आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढेलेखेका बालिकाहरूलाई क्याफे तथा गेस्टहाउसमा वेटरको काम लगाइदिने तथा आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी बोलाउने गरेको ब्युरोका प्रवक्ता पंगेनीले बताए।
बालिकाहरूलाई विभिन्न प्रलोभनमा पारी ग्राहकहरूसँग रकम लिई शारीरिक सम्पर्क राख्न लगाई सीमित रकम मात्र पीडितलाई दिने गरेको ब्युरोको अनुसन्धानमा खुलेको छ। नाबालिकाहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको गोप्य सूचनाका आधारमा ब्युरोबाट खटिएको टोलीले पीडकलाई पक्राउ र पीडित महिला तथा बालिकालाई उद्धार गर्दै आएको छ।
मुलुकी कानुनअनुसार देह व्यापार गर्नगराउन पाइँदैन। त्यसमा पनि नाबालिग किशोरीलाई कानुनले संरक्षण गरेको छ। यति हुँदाहुँदै पनि तिनको आर्थिक अवस्था र असहायपनबाट फाइदा उठाई दुरूपयोग गरिँदै आएको छ।
देशभरिबाट गत वर्ष मात्रै देह व्यापार पीडित बालिकामध्ये करिब १५० जना माइती नेपालको संरक्षण तथा परामर्शमा रहेका छन्। पछिल्ला दुई महिनामा करिब ८० जना बालिकालाई माइती नेपालले संरक्षणमा राखेको छ।
मानव बेचबिखन अनुसन्धान ब्युरोमा यस्तो प्रकृतिका ३४ वटा मुद्दा रहेका छन्। धेरै बालबालिकालाई उद्धार गरेर ल्याए पनि जाहेरी दिन नमानेका कारण कानुनी कारबाही गर्न सकिएको छैन।
‘गाउँगाउँमा यस्ता अवैध काम र मानव बेचबिखनबारेमा जनचेतना फैलाउनु आवश्यक छ,’ पंगेनीले नागरिकसँग भने, ‘यस्तो स्थितिमा सबैलाई कानुनी जानकारी दिने, स्कुलको पाठ्यक्रममा मानव बेचबिखनसम्बन्धी जानकारी समावेश गराउने, स्थानीय तहमै यसबारे ज्ञान फैलाउने काम गर्नुपर्छ।’
‘बालबालिकाको दुरुपयोग जघन्य अपराध’
विभिन्न आवरणमा बालिकामाथि हुने शारीरिक शोषणका घटना दिनहुँ घटिरहेका छन्। यस्ता शोषणलाई शून्यीकरण गर्न राज्यका निकायहरूले कसरी पहल गर्ने भन्ने सन्दर्भमा माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्कासँग गरेको कुराकानीको सम्पादित अंश:
नाबालिकालाई श्रमशोषणका साथै जबर्जस्ती देहव्यापारमा लगाउन नपाइने मुलुकी कानुन छ। तर, बालिकालाई दुरूपयोग गर्नुहुन्न भन्ने जानकारी कसैमा छैन, किन?
आन्तरिक बेचबिखनमा यसलाई डरलाग्दो घटनाका रूपमा लिइन्छ। बालबालिकालाई दुरूपयोग गर्नु कानुन विपरीत हो भन्ने थाहा हुँदैगर्दा पनि आर्थिक लाभकै कारण तिनलाई दुरूपयोग गर्ने गरेका छन्।
ससाना खाजा घर, गेस्ट हाउस, रेस्टुरेन्ट, डान्सबार र गोंगबु बसपार्क क्षेत्रमा नाबालिकालाई यौनकार्यमा लगाउने धन्दा व्यापक रूपमा छ। एकल आमा, पढ्दापढ्दै बिचमा पढाइ छुटेका, पारिवारिक विखण्डन भएका, लागुपदार्थ सेवन गर्ने, आर्थिक लाभमा परेका धेरै बालिका यस्ता कार्यमा संलग्न रहेका छन्।
प्रायः त्यस्तो कार्यमा १३/१४ वर्षका नाबालिका संलग्न छन्। गाउँदेखि सहर चिनाउँने भनेकै एजेन्टमार्फत हो। गाउँमा सोझा बालिकालाई गलफ्रेन्ड बनाई सहरमा ल्याएर विभिन्न कार्यमा संलग्न गराएका घटना धेरै छन्।
कतिपय दलालले काठमाडौंमा कोठाभाडा लिएर ती बालिकालाई राखिदिने अनि विभिन्न प्रलोभनमा पारेर रातको समयमा कोठामै ग्राहक बोलाइदिने र बिहानै पाँच बजे ग्राहकलाई फर्काइदिने गरेको पाइन्छ।
उपत्यकामा विशेष गरेर बसपार्क क्षेत्रमा यो कार्यको बिगबिगी छ। परिवारकै कारण धेरै बालिका यस्ता कार्यमा संलग्न पनि छन्। आर्थिक लाभकै कारण परिवारले उमेरै नपुगेका बालिकालाई आयआर्जनका निम्ति यस्ता ठाउँमा पठाउने गर्छन्।
यौनकार्यमा लगाउने एजेन्ट र गेस्ट हाउस सञ्चालकहरू नै ओभानो बन्छन्। ‘बालिका १९/२० वर्ष भएँ भनेर काम गर्न आफैं आएका हुन्। हामीलाई के थाहा नाबालिका हो भनेर’ यौनकार्यमा लगाउने व्यक्तिले भन्ने गर्छन्।
बालिकालाई किन जोगाउन सकिएन? बालिकाको संरक्षण कसरी गर्ने?
बालिकाको पहिलो घर शिक्षालय हो। परिवारले नै बालिकालाई संरक्षण गर्नुपर्ने पहिलो कर्तव्य हो। परिवार विखण्डन भएपछि यस्ता समस्या उत्पत्ति भएका हुन्। परिवार पाल्नकै निम्ति नाबालिका गाउँदेखि सहर निस्कनुपरेको छ। नाबालिकालाई कसैले अन्य काममा लगाउँदैनन्।
जहाँसुकै काम पाउन सहज नभएका कारण उनीहरू नजानीकन यौनकार्यमा संलग्न हुन्छन्। यो कार्यलाई रोक्न परिवार आफैं सजग हुनुपर्छ। विद्यालयको पाठ्यक्रममा यसबारे विशेष जानकारीमूलक पाठ राख्नुपर्छ। साथै यससँग सम्बन्धित निकाय नै चनाखो हुनुपर्छ।
प्रहरीले बालबालिकालाई उद्धार मात्रै गर्ने होइन, नाबालिकालाई देहव्यापारमा लगाउने व्यक्ति तथा एजेन्टलाई नै कडा कानुनी दायरामा ल्याउनुप¥यो।
यसरी व्यापक रूपमा आइरहेको समस्याको समाधान गर्न परिवार, समाज र राष्ट्र नै जिम्मेवार बन्नुपर्छ। यसबारे सम्बन्धित निकायहरूले व्यापक रूपमा प्रचारप्रसार गर्नुप¥यो। आयआर्जनको लोभमा परिवारले नै बालबालिकालाई प्रयोग गर्दै आएका छन्। त्यस्ता परिवारलाई पनि कानुनी दायरामा ल्याउन आवश्यक छ।
प्रकाशित: २७ माघ २०८० ०८:४६ शनिबार