१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बालेनद्वारा सहरी विकास मन्त्रालयलाई जवाफ दिन इन्कार

धरहरा क्षेत्रमा खुला गरिएको पार्किङ एक महिनाका लागि भए पनि बन्द गर्न आग्रह गर्दै सहरी विकास मन्त्रालयले पठाएका दुईवटै चिठीको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जवाफ दिन इन्कार गरेका छन्।

मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले यही माघ १४ र १८ गते गरी दुईवटा चिठी पठाएको थियो। तर मेयर शाहले अहिलेसम्म त्यसको जवाफ दिएका छैनन्। यसबाट मन्त्रालयका उच्च कर्मचारीले मेयर शाहको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्।

‘चिठीको जवाफ त आउनुपथ्र्यो। जे भए पनि केही न केही कुरा आउनुपथ्र्यो। जवाफ नै नआउनु अति नै अपमान हो,’ कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले भने, ‘हामीले अहिलेसम्म दुई पटक चिठी पठाइसकेका छौं।’

मन्त्रालय स्रोतका अनुसार मन्त्रालयका उच्च कर्मचारीले धरहराको पार्किङ खुला गरेको विषयमा मेयर शाहसँग पनि कुरा गर्न खोजेका छन्। ‘तर मेयरज्यू सम्पर्कमै आउन चाहनुहुन्न। मेयर सम्पर्कमा आउन नचाहेपछि हामी महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई सम्पर्क ग¥यौं। उहाँले पनि म बुझ्छु मात्र भन्नुभयो। जवाफ दिनुहुन्न,’ मन्त्रालयका एक उच्च कर्मचारीले भने।

धरहराको काम गरिरहेको रमन कन्स्ट्रक्सनले अहिले पनि धरहरामा पार्किङको काम भइरहेको भन्दै काम भइरहेको बेला पार्किङ खुला गर्ने निर्णयले काममा अवरोध आएको जनाएको छ। यसबापत उक्त कम्पनीले मन्त्रालयसँग क्षति पूर्ति माग्ने भएको छ।

यसैगरी धरहरा क्षेत्रमा काम गरिरहेका मजदुरहरूका लागि बनाएको क्याम्प टुँडिखेलबाट हटाइएको विषयमा रमनले मन्त्रालयसँग दुई करोड क्षतिपूर्ति माग गरेको छ। रमन कन्स्ट्रक्सनका मालिक पवन महतोले रक्षा मन्त्रालयसँग अनुमति लिएर धरहरामा काम गर्ने मजदुरका लागि टुँडिखेलमा क्याम्प राखिएको र महानगरले विना जानकारी क्याम्प हटाउँदा कन्स्ट्रक्सनलाई क्षति पुगेको बताए।

गत माघ १४ गतेदेखि महानगरले धरहरा क्षेत्रमा निःशुल्क पार्किङ खुला गरिदिएको थियो। महानगरले मन्त्रालयसँग समन्वय र जानकारी नगराई एकलौटी ढंगबाट पार्किङ खुला गरेको भन्दै सहरी विकास मन्त्रालयले आपत्ति जनाएको हो। यसबाट सहरी विकास र काठमाडौं महानगरबीच टकराव उत्पन्न भएको छ।

प्रकाशित: २७ माघ २०८० ०६:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App