२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फिरौतीको ‘लिस्ट’ मा शीर्ष नेतादेखि व्यावसायीसम्म

अपहरण गर्ने, फिरौती लिने र सुटआउट गर्ने योजना

फिरौती माग गर्दा पक्राउ परेका लक्ष्मण दर्जी (पहेलो कपडा) र दीपक बहादुर क्षेत्री (कालो कपडा)। तस्बिरः नागरिक

पाँचकरोड रुपैयाँ माग्दै रकम नदिए ज्यान लिने धम्की दिने दुइजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार पोखरा महानगरपालिका–८ सिमलचौर बस्ने पर्वतको कुश्मा नगरपालिका–२ खुर्काेट घर भएका ३६ वर्षिय लक्ष्मण दर्जी र पर्वतकै कुश्मा नगरपालिका–१४ आर्थरका ४२ वर्षिय दीपकबहादुर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो।  

उनीहरुले पोखरा–१६ लामाचौर घर भई दीपस्थित सच्चाई सेवा केन्द्रका संचालक प्रकाशदीप गैरेसँग फोन तथा म्यासेजमार्फत धम्की दिँदै पाँच करोड रुपैयाँ रकम माग गरेका थिए। गैरे सच्चाई केन्द्र नेपालका केन्द्रीय अध्यक्ष समेत हुन। हिन्दी भाषामा कुराकानी तथा एसएमएसमार्फत गैरोसँग दर्जी र क्षेत्रीले रकम माग गरेको कास्की प्रहरीले बताएको छ।  

रकम नदिएमा गैरे र गैरेको परिवारको समेत ज्यान लिने धम्की उनीहरुले दिएका थिए। रकम माग गरेर ज्यान मार्ने धम्की दिएको भन्दै गैरेको निवेदनको आधारमा प्रहरीले खोजतलास गर्दै जाँदा पोखरा–८ सिमलचौरस्थित डेराबाट बुधबार दर्जी र क्षेत्रीलाई पक्राउ गरेको प्रहरीले बताएको छ। कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले मागेको रकम नदिए ज्यानै लिने भन्दै धम्की दिएपछि गैरेको निवेदनको आधारमा अनुसन्धान गरेर उनीहरुलाई पक्राउ गरेको बताए।  

‘हिन्दी भाषामा म्यासेज लेखेर शनिबारसम्म रकम नदिएमा ज्यानै जानेछ भनेर उनीहरुले धम्क्याएका रहेछन,’ थापाले भने, ‘गैरेले म्यासेज आएको नम्बरबारे प्रहरीमा जानकारी दिएपछि हामीले अनुसन्धान सुरु गरेका थियौ।’ प्रहरीले पक्राउ परेका उनीहरुको साथबाट पुस्तक, नोटबुक विभिन्न व्यक्तिको नाम संकलन गरेर राखेको आठपानाको विवरण, चारवटा मोवाइल, विभिन्न नम्बरका सीमकार्ड, भारतीय सहित नौवटा सिमकार्ड, खुकुरी, ५ सय ७२ ग्राम गाँजा, भरुवा बन्दुकमा लाग्ने २७ थान केप लगायतका सामाग्री पनि फेला पारेको छ।  

‘राजनीतिक दलका उच्च नेता, विभिन्न विवादमा मुछिएका व्यक्तिको पनि विवरण आठपाने नोटमा उनीहरुले समेटेका रहेछन। भ्रष्टाचारमा संलग्न व्यक्ति, राजनीतिक दलका लोकप्रीय नेता, सुनकाण्डमा संलग्न, भुटानी शरणार्थी प्रकरणमा परेका व्यक्तिहरुको नाम पनि उनीहरुले संकलन गरेका थिए,’ एसपी थापाले भने, ‘लघुवित्त देखि सहकारी ठगीमा संलग्न व्यक्तिको नाम पनि त्यो विवरणमा उल्लेख छ। उनीहरुले त्यो लिष्टमा ३५ जनाको नाम उल्लेख गरेका छन।’

एसपी थापाका अनुसार आठपाने लिष्टमा रहेका व्यक्तिलाई अपहरण गर्ने, उनीहरुसँग फिरौती लिने र सुटआउट गर्ने योजना पनि बनाएको पाइएको छ। ‘नेता, व्यापारी, गुण्डा, भूमाफिया, औद्योगिक, मेडिकल माफिया भन्दै व्यक्तिको किटान गरेर सूँची तयार पारेका थिए,’ उनले भने, ‘उच्च तहका व्यक्तिसँग पनि रकम माग गर्नेसम्मको योजना उनीहरुको रहेछ।’

सच्चाई सेवा केन्द्र चलाईरहेका गैरेले सामाजिक सञ्जाल युट्यूबमा राखेको भिडियो लक्ष्मण दर्जीले हेर्ने गरेका थिए । प्रहरीका अनुसार गैरेको बारेमा बुझन माघ १३ गते शनिबार गैरेको सच्चाई केन्द्रमा गएर करिब २ घण्टा बसेर गैरेको नम्बर लिएर फर्केका थिए। त्यसपछि माघ १८ गते फोन र तथा म्यासेजबाट धम्की दिई रकम माग गर्न थालेको प्रहरीको भनाई छ। गत शनिबार पनि दुवैजना पुन सच्चाई केन्द्रमा गएर घटनाको असरको बारेमा समेत बुझेर फर्केका थिए। गत मंगलबार समेत उनीहरु सच्चाई केन्द्र गई आधाघण्टा जति बसेका थिए।  

‘सच्चाई केन्द्र चलाएकोले पैसा दिन सक्ने व्यक्तिको रुपमा गैरेलाई उनीहरुले बुझेका थिए,’ एसपी थापाले भने, ‘त्यसपछि बल्ल म्यासेज लेख्न थालेका रहेछन। शनिबारसम्म रकम जोहो गरेपछि पैसा बुझाउने ठाउँ र समय तोक्ने पनि बताएका रहेछन। आफुले धम्की दिएपछि त्यसको प्रभाव कस्तो परेको रहेछ भनेर बारम्बार उनीहरु सच्चाई केन्द्र समेत धाउने गरेको देखिएको छ।’  

कास्की प्रहरीका अनुसार पक्राउ परेका दर्जी विगत चारवर्षदेखि कतारमा रहेको र एकमहिना अघिमात्र नेपाल फर्केका थिए। अर्का क्षेत्री भने बेरोजगार थिए। उनीहरु दुवैले १२ कक्षासम्म पनि अध्ययन गरेका छन । उनीहरु पहिलेदेखिका साथी भएकोले पनि पोखरामा डेरा लिएर योजनावद्ध तरिकाले रकम असुल्ने उपायमा संलग्न भएको प्रहरीले बताएको छ।  

पक्राउ परेका मध्ये क्षेत्री पटके कारवाहीमा परेका व्यक्ति रहेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय पवर्तले २०७९ मा हातहतियार तथा खरखजाना सम्बन्धि मुद्धामा खत्रीलाई पक्राउ गरेको थियो। त्यसअघि पनि २०७१ मा वडा प्रहरी कार्यालय बगर कास्कीबाट अभद्र व्यवहार सम्बन्धि मुद्धा चलेको थियो। पक्राउ परेका दुवैलाई लागुऔषध गाँजा, हातहतियार तथा खरखजाना र आपराधिक लाभ एक्सटर्सन सम्बन्धि मुद्धामा अनुसन्धान गरि कारवाही प्रक्रिया अघि बढाएको एसपी थापाले जानकारी दिए।

प्रकाशित: २५ माघ २०८० १६:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App