१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

किसानलाई निःशुल्क कृषि एम्बुलेन्स

क्याप्सनः खोटाङ खार्मीका किसान बन्दा कोवी बजार पठाउनका लागि तयारी गरिँदै। तस्बिरः महेश्वर

खोटाङमा उत्पादित कृषि उपजको बिक्री वितरणलाई सहज बनाउन शुभम् फाउण्डेसनले कृषि एम्बुलेन्स प्रदान गरेको छ। कृषि वैज्ञानिक डा. मदन राईले सञ्चालन गरेको फाउण्डेसनले किसानको उत्पादन बजारसम्म लगेर विक्रीवितरणमा सहजीकरण गर्ने उदेश्यले कृषि एम्बुलेन्स खरिद गरेर नगरपालिकालाई प्रदान गरेको हो।

फाउण्डेसनले दिएको कृषि एम्बुलेन्समार्फत दिक्तेल रुपकोट मझुवागढी नगरपालिकाका किसानले उब्जाएको कृषि उपज, फलफुल तथा नगदे बालीको निःशूल्क ढुवानी हुन थालेको छ। फाउण्डेसनले दिएको कृषि एम्बुलेन्स आईतबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ। कृषि एम्बुलेन्समार्फत नगरपालिकाका विभिन्न वडामा उत्पादित कृषि उपज किसानको घरघरबाट उठाएर विक्री वितरण गर्न सदरमुकाम दिक्तेल बजारसम्म लगिदिने व्यवस्था मिलाइएको छ।

जस अनुसार पहिलो दिन सोमबार ११ नं. वडाको खार्मीस्थित सोती बहुउदेश्यीय कृषक समूहले उत्पादन गरेको कृषि उपज निःशूल्क ढुवानी गरेर दिक्तेल बजार ल्याइएको छ। खार्मीका किसानले उत्पादन गरेको ८ सय किलो बन्दाकोवी दिक्तेल बजारका विभिन्न तरकारी बिक्री केन्द्रसम्म लगेर वितरण गरिएको कृषक समूहका अध्यक्ष हर्कराज राईले बताए।

उनका अनुसार खार्मीमा परीक्षणका लागि ३ रोपनी क्षेत्रफल जमिनमा बन्दा कोवीको खेती लगाइएको छ। जसबाट उत्पादित २ हजार किलो बन्दा कोवी विक्रीका लागि बजार पठाइएको हो। उनका अनुसार परीक्षण वर्षमै बन्दा कोवीको उत्पादन राम्रो भएको छ। बन्दासँगै खार्मीका किसानले फुल कोवी, प्याज, लसुन, खुर्सानी, बोडी र राया सागलगायत सब्जी पनि लगाएका छन्।

अध्यक्ष राईका अनुसार खार्मीमा सामुहिक रुपमा व्यवसायिक तरकारी खेती सुरु भएको छ। आगामी वर्षदेखि थप व्यवस्थित र व्यवसायिक रुपमा खेती गर्ने योजना समूहले बनाएको पनि अध्यक्ष राईले बताए। कृषि एम्बुलेन्स लिएर नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख बिसन राई, शुभम फाउण्डेसनका प्रवन्ध निर्देशक सूर्यबहादुर राई र कृषि शाखा प्राविधिकहरु खार्मीस्थित किसानको घरदैलोमै पुगेर उपज संकलन गरी बजार ल्याएका हुन्।

पहाडी भूगोल भएकाले सडकको कठिनाईले गर्दा किसानहरुले उत्पादन गरेको उपज बजारसम्म लगेर विक्री वितरण गर्न समस्या पर्दै आएको गुानासो आएपछि फाउण्डेसनले जीप खरिद गरेर कृषि एम्बुलेन्सको रुपमा प्रयोग गर्न नगरपालिकालाई दिएको प्रवन्ध निर्देशक राईले बताए। गाउँका कृषक नागरिकको जनजीवन उकास्न व्यवसायिक कृषि उद्यम नै प्रमुख माध्यम भएको ठहर गर्दै त्यसलाई प्रबद्र्धन गर्न फाउण्डेसनले यस्तो सहयोग गरेको राईको भनाई छ।

एम्बुलेन्स पाएपछि स्थानीय कृषकहरु खुसी भएका छन्। यसअघि कृषक उत्पादन गर्ने सामग्री विक्री नभएर बारीमै कुहाउनुपर्ने बाध्यता भईरहेको बेला एम्बुलेन्स पाएपछि अव बेच्न सहज हुने आसा उनीहरुलाई लागेको छ। विगत ३÷४ वर्षदेखि व्यवसायिक तरकारी खेती गर्दै आएका समूहमा आबद्ध कृषक रनशेर राईले अब भने आफुहरुको मेहनेत खेर नजानेमा बताए। ‘वर्सेनि तरकारी उत्पादन गर्दै आएको तर, बेलामा विक्री गर्न नपाउँदा घाटा बेहोर्दै आएका थियौँ’ राईले भने ‘फाउण्डेसनको सहयोगमा नगरपालिकाले अव घरघर आएर सामान ढुवानी गर्न थालेको छ। यसले पक्कै पनि हामीलाई फाईदा पुग्ने आस जागेको छ।’

नगरप्रमुख भट्टराईले फाउण्डेसनको सहयोगले नगरबासी कृषकले उत्पादन गरेको कृषि उपज ढुवानी र विक्री वितरण गर्न थालिएको बताए। कृषि नै आयआर्जन र समृद्धिको आधार भएको भन्दै भट्टराईले कृषि प्रबद्र्धन गर्न नगरपालिकाले वर्षेनी बजेट छुट्याउने प्रतिबद्धता पनि जनाए। अबदेखि कृषकको मेहनेत खेर जान नदिन चालु आर्थकवर्षदेखि नै गाउँगाउँमा उत्पादित कृषि उपज नगरपालिकाले खरिद गरेर विक्री गर्ने व्यवस्था मिलाउन थालिएको उनको भनाइ छ। किसानको घरमै पुगेर उनीहरुले उत्पादन गरेको कृषि उपज बजारसम्म लगेर बेच्न सहजीकरण गर्ने बताउँदै मेयर भट्टराईले नविकेको खण्डमा नगरपालिकाले चलेको बजारभाउ अनुसार खरिद गरेर गोदाममा राख्ने र विस्तारै विक्री गर्ने बताए।

नगर उपप्रमुख बिसन राईल नगरपालिकाले ‘उत्पादनमा नगर उपप्रमुख’ कार्यक्रम घोषणा गरेर किसानको हितका लागि चालुवर्षदेखि बजेट विनियोजन गरेर सञ्चालनमा ल्याएको बताए। किसानलाई नयाँ र आधुनिक खालको विउविजन निःशूल्क उपलब्ध गराउनेदेखि उत्पादित कृषि उपज व्यवस्थापन विक्री वितरण गर्नेसम्मका लागि चालु वर्ष १० लाख रकम विनियोजन गरिएको उपमेयर राईले बताए। उपमेयर राईका अनुसार नगरपालिकाका १५ वटै वडामा मौसम र हावापानी अनुसार विभिन्न तरकारी खेती तथा फलफुलको ब्लक र जोन बनाएर किसानमैत्री कार्यक्रम सञ्चालन गर्दै आएको छ।

जस अनुसार चालु वर्ष परीक्षणका लागि बन्दा कोवी, फुल कोवी, ब्रोकाउली, प्याज, लसुन, धनीया, मेथी, सिमी, खुर्सानी, बोडी, फर्सीलगायत तरकारीको विउ र बेर्ना उत्पादन गरेर निःशूल्क किसानलाई वितरण गरिएको छ। त्यसैगरी फलफुल, दलहन र तेलहनका लागि पनि नगरपालिकाले विउ विजन र बेर्ना किसानलाई उपलबध गराउन थालेको छ। फलफुलतर्फ चालु वर्ष कफीको बेर्ना ३ लाख, व्याजको बेर्ना ७० लाख, किवी ४० हजार र लसुनको बेर्ना ४ लाख वितरण गर्ने कार्यक्रम नगरपालिकाले बनाएको छ।

नगरपालिकाको समग्र कृषि कार्यक्रमका लागि चालु वर्षको नगरसभाले ४० लाख रुपैँया बजेट स्वीकृत गरेको उपमेयर राईले बताएका छन्। आगामी वर्षहरुमा कार्यक्रमको उपलब्धी मापन गर्दै बजेटको आकार बढाउँदै लाने योजना बनाइको पनि उपमेयर राईले बताएका छन्।  

प्रकाशित: २३ माघ २०८० १२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App