२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

अवैध काठसहित २ पक्राउ

सोमबार उदयपुर प्रहरीले पाँच सय क्युबिक फिट अवैध काठसहित २ जनालाई पक्राउ गरेको छ।

जिल्लाको चौदण्डीगढी नगरपालिका-६ रातमाटेस्थित ताप्लीबाट सुनसरीको इनरुवातर्फ लादै गरेको ना ५ ख १५१ नं.को ट्रकलाई रोकी जाँच गर्ने क्रममा अवैध काठ फेला परेपछि नियन्त्रणमा लिइएको हो।

इलाका प्रहरी कार्यालय बेलटारबाट खटेको टोलीले काठसहितको ट्रक तथा चालक पर्सा जिल्ला वीरगन्ज महानगरपालिका-१० का ३६ वर्षीय बलराम गिरी र सहचालक ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का २३ वर्षीय राजेश सुनुवारलाई नियन्त्रणमा लिएको छ।

पक्राउ काठ र चालक द्वयलाई इप्रका बेलटारमा ल्याई आवश्यक अनुसन्धानपछि थप अनुसन्धानका लागि सब डिभिजन वन कार्यालय बेलटार पठाइएको छ।

बरामद काठ उत्तिस जातको गोलीया रहेको प्रहरी भनाई छ। ट्रक भरी लोड गरिएको गोलीया काठमा वन कार्यालयको टाँचा नलगाएको तथा आधिकारिकता प्रमाणित हुने कुनै पनि कागजात नभेटिएकाले नियन्त्रणमा लिनु परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

फरार प्रतिवादी पक्राउ

यसैगरी इप्रका बेलटार चौदण्डीगढीकै टोलीले जारी मुद्दामा दोषी करार भए पनि फरार रहँदै आएका एक महिलासहित २ जनालाई सोमबारै पक्राउ गरेको छ।

जारी मुद्दामा अदालतले १/१ महिना कैद र १/१ हजार रुपैयाँ जरिवानाको सजाय सुनाए पनि फरार रहेका चौदण्डीगढी नगरपालिका-१० का ३९ वर्षीय देवकुमार खत्री र सोही वडाकी ४२ वर्षीय गीता खत्रीलाई पक्राउ गरेको हो।

पक्राउ दुवैलाई इप्रका बेलटारमार्फत जिल्ला प्रहरी कार्यालय ल्याई सोमबारै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पठाएको जनाइएको छ।

प्रकाशित: २२ माघ २०८० १८:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App