७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

मुगुमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

मुगुको खत्याड गाउँपालिका–२ गाडेखोला टोलमा आगलागी हुँदा २ जना बालबालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार गाडेखोला टोलका सञ्ज्याल तीन दाजुभाइको घरमा आइतवार राति १ बजेतिर आगलागी हुँदा २ जना बालबालिकाको मृत्यु भएको हो।

मृत्यु हुनेमा लालु सञ्ज्यालका १४ वर्षीय छोरा विशाल सञ्ज्याल र १२ वर्षीया छोरी झरना सञ्ज्याल रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए।

थापाका अनुसार आगलागीबाट तीन दाजुभाई लालु सञ्ज्याल, नरदीप सञ्ज्याल र दीपराज सञ्ज्यालको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ।

खाना पकाउने भान्सा कोठाबाट आगो गोठमा सल्केर आगलागी भएको खत्याड गाउँपालिकाका वडाध्यक्ष हेमराज मल्लको भनाइ छ।

इलाका प्रहरी कार्यालय रातापानी र श्रीकोट प्रहरी चौकीबाट सुरक्षाकर्मी आगलागी भएको घटनास्थलमा पुगेर शव निकालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आगोका कारण घरमा रहेका नगद, लत्ताकपडा, सरसामान लगायत सबै जलेर नष्ट भएको हो। आगलागीमा भएको क्षतिको यकिन विवरण निकाल्ने काम भइरहेको रातापानी इलाका प्रहरी चौकीका इन्चर्ज निवेन्द्र बुढाले बताए।

आगलागी भएको खबर पाए पछि श्रीकोट प्रहरी चौकीबाट गएको सुरक्षाकर्मी र गाडेखोला टोलका स्थानीयले आगो नियन्त्रणमा लिएका थिए।

यस्तै हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिका–२ मा पर्ने त्रिपुरा माध्यमिक विद्यालयमा पनि आगलागी भएको छ।

विद्युत लाइन सर्ट भएर सुरु भएको आगलागीबाट विद्यालयको चार कोठे प्रशासनिक भवन पुस्तकालय, स्टोर कोठा सहितको दुई तले भबन जलेर नष्ट भएको हो। आगलागीबाट प्रशासनिक कागजातहरू जलेर नष्ट भएको प्रधानाध्यापक जयबहादुर बस्नेतले बताए।

आगो नियन्त्रणमा लिनका लागि डोजर लगाएर भवन भत्काइएको उनको भनाइ छ । आगलागीमा भने कुनै मानवीय क्षति नभएको पनि उनले बताए।

प्रकाशित: २२ माघ २०८० १४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App