४ असार २०८१ मंगलबार
image/svg+xml
समाज

नागरिककर्मी ओलीलाई ‘सृजनशील सञ्चारकर्मी सम्मान’

नागरिककर्मी अर्जुन ओली लुम्बिनी प्रदेश सरकारबाट आइतबार पुरस्कृत भएका छन्। 

प्रदेश स्थापना दिवसको अवसरमा देउखुरीमा आयोजित विशेष समारोहमा नगद ५० हजार र प्रमाणपत्र सहित ‘सृजनशील सञ्चारकर्मी सम्मान’ बाट उनी पुरस्कृत भएका हुन्।

उक्त समारोहमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सभामुख तुलाराम घर्ती, गृहमन्त्री सन्तोषकुमार पाण्डेय, शहरी विकास मन्त्री कृष्णा केसी नमुना, कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिर, पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी लगायतले दोसल्ला ओढाएर पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरे।

नागरिक दैनिकका नेपालगन्ज संवाददाता ओलीलाई विगत लामो समयदेखि पत्रकारिताको मूल्य, मान्यता र आचार संहितालाई पालना गरी निष्पक्ष र उत्तरदायी रूपमा सन्तुलित सूचना तथा बिचार प्रवाह गर्दै निस्वार्थ रूपले राष्ट्र, समाज र पत्रकारिता जगतमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो।

प्रदेश स्थापना दिवसकै अवसरमा नगद १ लाख सहित ‘अग्रज सञ्चारकर्मी सम्मान’ दाङका कृष्णप्रसाद घिमिरेलाई प्रदान गरिएको छ।

यस्तै सृजनशील सञ्चारकर्मी सम्मान भैरहवाका पत्रकार रविन्द्रप्रताप गुप्ता, कपिलवस्तुका भुपाल थापा, दाङका चुमा आचार्य बन्जाडे, रुकुम पुर्वका जयमान बुढामगर, पाल्पाका माधवप्रसाद अर्याल, अर्घाखाँचीका बीरेन्द्र केसी, नेपालगन्जका सिराजुद्धिन खान, प्युठानका मधुसुदन भण्डारी, दाङका दशरथ घिमिरे, बर्दियाका रामप्रसाद चौहान र रुपन्देहीका तेजेन्द्र केसीलाई प्रदान गरिएको छ।

यसैगरी लामो समयदेखि पत्रकारिताको माध्यमबाट थारु कला, संस्कृतिको उत्थानमा महत्त्वपूर्ण योगदान पुर्‍याए बापत नगद ५० हजार सहित पत्रकार द्वय नेपालगन्जका पत्रकार बिमला चौधरी र दाङका सन्तोष दहितलाई पुरस्कृत गरिएको छ। 

प्रदेश सरकार र प्रदेश सभामा कार्यरत उत्कृष्ट कर्मचारी तथा सुरक्षाकर्मी पनि पुरस्कृत भएका छन्।

प्रकाशित: २१ माघ २०८० १९:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App