२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाजुरामा जोडिदैं केन्द्रीय प्रसारण लाइन

लाइन विस्तार गर्दै विद्युत् प्राधिकरणका कर्मचारी। तस्बिर: नागरिक
बाजुराको आधा बढी जनसंख्या अझै विद्युतको पहुँच बाहिर छ। नौ वटा स्थानीय तह मध्ये हिमाली गाउँपालिकामा त अझै झरो, टुकी बाहेकको विकल्प छैन। केही आर्थिक पहुँच भएकाहरूले मात्रै सौर्य विद्युतको उपयोग गरिरहेका छन्। विद्युतको पहुँच भएका पालिकामा पनि साना लघुजलविद्युत आयोजना, केही पोल्ट्रिक सेटको मात्रै सुविधा छ।
 
लाइन विस्तार ढिलो गरी मात्रै सुरु हुँदा जिल्लाका १० प्रतिशतको घरमा पनि केन्द्रीय प्रसारणको विद्युत् पुगेको छैन। तर पछिल्लो केही समय यता भने केन्द्रीय प्रसारण लाइन विस्तारको कामले निकै तीव्रता पाएको छ। २०७५ पछि मात्रै बाजुरामा केन्द्रीय प्रसारण लाइन विस्तारको प्रक्रिया सुरुवात गरिएको थियो।
 
२०७७ साल पछि मात्रै औपचारिक कार्यालय राखेर काम थालनी गरिएको हो। सुरुमा बुढीगंगा नगरपालिकाको २ र ३ नम्बर वडामा केन्द्रीय प्रसारण लाइनको विद्युत् जडान गरिएको हो। लगत्तै खप्तड छेडेदह गाउँपालिका ७ को लम्गाउँ र बुढावाडा टोलमा विद्युत् लाइन विस्तार सहित उज्यालो बाल्न थालियो। 
 
मार्तडीको ठुलीसाँघमा कार्यालय राखियो र बाजुरा सदरमुकाम मार्तडीमा त्रिवेणी साना जलविद्युत केन्द्रको सम्झौता फिर्ता गराएर केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको थियो। त्यस लगत्तै भने बाजुरामा केन्द्रीय प्रसारण लाइन विस्तारले गति लिएको देखिन्छ। कर्णाली कोरिडोरको बाटो भएर जगन्नाथ बुढीनन्दा, स्वामिकात्र्तिक खापर गाउँपालिकासम्म लाइन विस्तारको काम अघि बढेको बाजुरा वितरण केन्द्रका प्रमुख राजेश कुमार झाले जानकारी दिएका छन्।
 
कार्यालय प्रमुख झाका अनुसार २ वर्षभित्र कम्तीमा बाजुराका २० परिवारले केन्द्रीय प्रसारण लाइनको विद्युत् उपयोग गर्न पाउने गरी काम भइरहेको बताएका छन्। सोही क्रममा माघ २१ गते मात्रै खप्तड छेडेदह गाउँपालिकाको ५ नम्बर वडा डोगडीमा लाइन विस्तारको औपचारिक उद्घाटन गरिएको छ। गाउँपालिका अध्यक्ष दिलबहादुर रावत र कार्यालय प्रमुख राजेश कुमार झाले पालिकाको कार्यालयमा बत्ती बालेर उद्घाटन गरेका हुन्। 
डोगडीमा विद्युत् विस्तारसँगै स्थानीय ७ सय ६० बढी परिवारले उज्यालो पाएका छन्। गाउँमा ४ र ६ किलोवाट क्षमताको पोल्ट्रिक सेट र १४ किलोवाट क्षमताको विद्युत् आयोजना ७० को दशकमै निर्माण गरेर जलाउन थालिएको थियो। तर त्यो क्षमताले नामको मात्रै उज्यालो थियो, केन्द्रीय प्रसारण लाइन जडानसँगै सिङ्गो डोगडी झिलिमिली भएको वडा अध्यक्ष जीतबहादुर रावतले बताएका छन्। छोटो समयमै लाइन विस्तार, विद्युत् जडान र मिटर वितरण सहित उज्यालो बाल्न पाएकोमा रावतले खुसी व्यक्त गरे।
 
बाजुरा वितरण कार्यालय मार्तडीमा ११ केभी लाइन जडान गरी, बडीमालिका, बुढीनन्दा, खप्तड छेडेदह, गौमुल सहितका पालिकामा विद्युत् विस्तार गर्ने योजना अघि सारेको छ। बाजुराबाट सरुवा हुनु पूर्व छप्तड छेडेदह गाउँपालिकाका ७ वटै वडाका सबै बस्ती र परिवारलाई विद्युत् पुर्‍याउने कार्यालय प्रमुख झाले प्रतिबद्धता जनाएका छन्। 
 
डोगडीमा केन्द्रीय प्रसारण लाइन पुगेसँगै गाउँपालिकाको कामकाजमा समेत सहज हुने भएको छ। हालसम्म सोलारको भरमै कार्यालय सञ्चालन गर्नु पर्ने बाध्यता रहेको थियो। अब कार्यालय सञ्चालनसँगै साना उद्यम र उद्योग सञ्चालनमा समेत सहज हुने गाउँपालिका अध्यक्ष दिबहादुर रावतले विश्वास व्यक्त गरेका छन्। अध्यक्ष रावतले सबै वडामा उज्यालो पुर्‍याउनु पहिलो लक्ष्य भएकोले त्यसमा वितरण केन्द्रको सहयोग र सहकार्य रहनु पर्नेमा जोड दिएका छन्।
 
गाउँमा झिलिमिली बिजुली जलेपछि डोगडीबासी खुसी भएका छन्। मोबाइल समेत चार्ज गर्न समस्या थियो। गाउँको विद्युतको भर नै थिएन, विद्युत् आउने समस्या भइरहन्थ्यो, सबैसँगै सोलार सुविधा थिएन, अब त्यो अवस्थाबाट मुक्त हुने अवस्था आएको स्थानीय अमरजन रावतले बताएका छन् । लाइन विस्तार हुने हो, विद्युत् जल्ने हो होइन, विश्वास नै थिएन, ६ महिनाको अवधिमै विद्युतको उज्यालो पाउँदा खुसी लागेको भन्छन्, स्थानीय माघी नेपाली। 
 
केही दिनमै खप्तड छेडेदह ७ को ओलीगाउँ र दानीगाउँका २ सय बढी घरमा पनि केन्द्रीय प्रसारण लाइन जडान हुने वडा अध्यक्ष खगेन्द्र रावतले बताएका छन्। लम्गाउँ र बुढाबाडामा पहिले नै जडान भइसकेको र बाँकी दुई बस्तीमा जडानसँगै सिङ्गो बस्ती केन्द्रीय विद्युतको पहुँचमा पुग्ने र उद्यम सञ्चालनमा समेत सहज हुने रावतको विश्वास छ।
 
विद्युतका पोल गाड्ने, लाइन तान्ने काम हिमाली बाहेक सबैतिर भइरहेको निर्माण कार्यमा सक्रिय ठेकेदार पदम बहादुर साउँदले बताएका छन्। पोल हराउने, वर्षौँसम्म लाइन विस्तारमै समय बित्ने अवस्थाको आरोपबाट मुक्त हुने काम आफूबाट भइरहेको र केही समय भित्र बुढीनन्दाको पाण्डुसैन क्षेत्र, कोल्टी सहितका बस्तीमा पनि विद्युत् विस्तार भइसक्ने साउँदले जानकारी दिएका छन्।
 
दुर्गम गाउँमा केन्द्रीय प्रसारण लाइन जडानपछि झरो युगको अन्त्य हुने भएको छ। भने सहरको विद्युत् विकासले गाउँसम्म सम्पर्क बढाउने अवस्था आउने देखिन्छ। सहरको उद्यम र उज्यालोको विकासले गाउँलाई समेत जोड्ने विश्वास बाजुरा वितरण कार्यालयको छ। स्थानीयले निर्माण गरेका आयोजना पुराना हुँदै मर्मतमै हैरानी बेहोर्नु पर्ने र भनेको समयमा विद्युत् सेवा लिन नपाउने, क्षमता पनि निकै कम हुने, नामको उज्यालोबाट मुक्ति मिलेकोमा स्थानीय खुसी देखिन्छ। 
 
विद्युत् दैनिक जीवन निवार्हका लागि अनिवार्य छ। तर अझै विकट बस्तीहरू विद्युतीकरण हुन सकेका छैनन्। धेरै गाउँ बस्तीमा बिजुली पुगेको छैन। झरो र मट्टितेलकै भरमा रात काट्नु पर्ने बाध्यता हट्न बाँकी नै छ। बाजुरामा अझै ३० प्रतिशत बढी उज्यालोको पहुँच भन्दा बाहिर छन्। भने उज्यालो पाएका मध्ये पनि २० प्रतिशत बढीले नामको विद्युत् मात्रै उपयोग गरिरहेका छन्।
 
त्यही बाध्यता हटाउने अभियानलाई सार्थक बनाउन र सबै नेपालीलाई उज्यालो दिन विद्युतको पहुँच बाहिर रहेका गाउँ बस्तीमा उज्यालो पुर्‍याउने अभियानमा नेपाल विद्युतप्राधिकरण लागि परेको छ। त्यसको प्राथमिकता बाजुरालाई पनि राखिएको पछिल्लो लाइन विस्तार र विद्युत् जडानका कामले देखाउने गरेको छ। 

प्रकाशित: २१ माघ २०८० १४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App