२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गैरआवासीय नेपाली नागरिकता के हो ? कसरी पाइन्छ ? (भिडियो सहित)

एनआरएन अर्थात् गैरआवासीय नेपालीले पनि अबदेखि नेपालमा गैरआवासीय नागरिकताको प्रमाण पत्र लिन सक्छन्। संशोधित नागरिकता ऐनमा “विदेशी मुलुकको नागरिकता प्राप्त गरी सार्क सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको र साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने” व्यवस्था छ।

यो व्यवस्था अनुसार विदेशमा नागरिकता लिएका तर कुनै समय नेपाली नागरिक रहेका व्यक्तिका नातिनातिनासम्मले गैरआवासीय नेपाली नागरिकता पाउँछन्। नेपालको नागरिकता फिर्ता नगरी विदेशी नागरिकता लिएका व्यक्तिले गैरआवासीय नेपाली नागरिकता लिन पहिले लिएको नेपाली नागरिकता फिर्ता गर्नुपर्ने नियम छ।

यस्तो नागरिकता लिएका व्यक्तिले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्र हित विपरीत कार्य गरेको ठहरेमा सरकारले सम्बन्धित व्यक्तिको गैरआवासीय नागरिकता रद्द गर्न सक्ने कानुनी व्यवस्था समेत छ। गैरआवासीय नेपाली नागरिकताले नेपालमा रहेको पैतृक सम्पत्ति, घरजग्गा र व्यापार व्यवसायमा उनीहरूको अधिकार सुनिश्चित गरेको छ।

गत असोज ४ गते गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको नियमावली अनुसार गैरआवासीय नेपाली नागरिकता लिन आफ्नो वा आफ्नो आमाबुवा वा बाजे बज्यैको नेपाली नागरिकता जारी भएको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्नेछन्। गैरआवासीय नेपालीहरूले आफू बसिरहेको वा उक्त देश हेर्ने नेपाली राजदूतावास वा महावाणिज्य दूतावासबाट पनि निवेदन दिन सक्छन्। उक्त निवेदनमा आफ्नो नाम थर, गैरआवासीय नेपाली परिचयपत्र नम्बर, विदेशी मुलुकको नागरिकताको विवरण खुलाउनुपर्ने छ। यस्तो नागरिकता लिन हाल रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपि पनि अनिवार्य गरिएको छ।

प्रमुख जिल्ला अधिकारीले त्यसमा छानबिन गरेर नागरिकता पाउन उपयुक्त देखिएपछि मात्रै गैरआवासीय नेपाली नागरिकता दिने नियमावलीको व्यवस्था छ। प्रमुख जिल्ला अधिकारीले गैरआवासीय नेपालीले पेस गरेको विदेशी मुलुकको नागरिकता वा राहदानीको वैधताबारे पनि नेपाली नियोगमार्फत बुझ्न सक्नेछन्।

गैरआवासीय नागरिकता लिनका लागि कानुन अनुसार केही कागजातहरू बुझाउनुपर्ने अनिवार्य व्यवस्था नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ तोकिएको छ।

जसअनुसार १.निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साबिकमा नेपालको नागरिक रहेको प्रमाण, २.सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण र ३. दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनका सदस्य राष्ट्रबाहेकको देशमा बसोबास गरेको प्रमाण।

प्रकाशित: १९ माघ २०८० १९:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App