१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

सुनिल र विकललाई थप ७ दिन थुनामा राख्न अनुमति

विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई दोस्रोटपकट ७ दिन थुनामा राख्ने अनुमति दिएको छ।

एक साता अघि अदालतबाट लिइएको ७ दिन हिरासतमा राख्ने अनुमतिको म्याद आज सकिँदै थियो। त्यसकारण दोस्रो पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत पुगी म्याद थपेको हो।

अघिल्ला साता विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायण सिंह राई, मुरारीबाबु श्रेष्ठको इजलासले अनुसन्धानका लागि थुनामा राख्ने अनुमति दिएका थिए। आफूहरूलाई पक्राउ गर्न नमिल्ने र म्याद थप समेत गर्नु कानुन विपरीत भएको दाबी गरेपछि सुनुवाइ गरी अनुमति दिइएको थियो।

पौडेलद्वयले आफूहरू हिरासतमा नबस्ने जिकिर गरेका थिए। आफूहरूलाई पक्राउ गर्न नमिल्ने र म्याद थप समेत गर्नु कानुन विपरीत भएको दाबी गरेका थिए। विशेष अदालत पुराइएका पौडेलद्वयले कानुन व्यवसायी राखेर बहस गर्नुपर्ने माग राखेपछि सुनुवाइ भएको थियो।

विशेष अदालतले हिरासतमा दोस्रो पटक ७ दिनका लागि अनुमति दिइएको प्रवक्ता धनबहादुर कार्कीले बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अघिल्लो बुधबार दुवै जनालाई अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको थियो।

पौडेलद्वयलाई गैरकानूनी सम्पत्ति आर्जन गरेको भनी परेको उजुरीका सम्बन्धमा अख्तियारबाट अनुसन्धान भइरहेको जनाइएको छ। दुवै जनाले नेपाल राष्ट्र बैंकको स्वीकृतिबेगर विदेशी बैंकमा खाता खोली रकम जम्मा गरेको, नेपालको सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएको भेटिएको अख्तियारको दाबी छ।

विकल पौडेलको हकमा निजले संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमतिसमेत लिएको देखिएको र उनीहरूले कसुरसम्बद्ध प्रमाण नष्ट गर्न सक्ने र भागी जाने सम्भावना भएकाले पक्राउ पुर्जी दिई हिरासतमा लिइएको अख्तियारले जनाएको छ। 

‘अनुसन्धान कार्यमा बाधा पुग्ने देखिएकोले निजहरूलाई २०८० माघ १० मा नियमानुसारको जरुरी पक्राउ पुर्जी दिई हिरासतमा लिई थप अनुसन्धान भइरहेको छ’ अख्तियारले भनेको छ।

प्रकाशित: १७ माघ २०८० १०:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App