२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सार्वजनिक शौचालय निर्माणमा स्थानीयकाे विरोध

टीकापुर नगरपालिकाले भानुचोकमा सार्वजनिक शौचालय निर्माण थालेपछि स्थानीयले विरोध जनाएका छन्।

नगरपालिकाले लगभग जीर्ण अवस्थामा रहेको पुरानो सार्वजनिक शौचालय भत्काएर नयाँ निर्माण कार्य सुरु गरेपछि स्थानीयले विरोध जनाएका हुन।

उनीहरुले पुरानोलाई मर्मत गर्नुको सट्टा नगरपालिकाले भत्काएर अर्को बनाउनु गलत भएको बताए। विगत केही दिन अघि नै नगरपालिकाले सार्वजनिक शौचालय निर्माणको तयारी गरेको थियो। स्थानीयको विरोधका कारण निर्माणको काम अघि बढ्न सकेको थिएन।

टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारु आज शौचालय निर्माणको काम अघि बढाउन एक्स्काभेटर सहित भानुचोक पुगेका थिए। उनले त्यहाँ काम सुरु गर्न भनेपछि स्थानीयले चर्को विरोध गरे।

शौचालयको जग खन्न पुगेको एक्स्काभेटरलाई रोकेर स्थानीयले अवरोध सिर्जना गरेका थिए। केही समय मेयर र स्थानीयकाबीच विवाद भएको थियो। त्यहाँ बाक्लो संख्यामा सशस्त्र र नेपाल प्रहरीको उपस्थितिले स्थिति सामान्य रह्यो।

निर्माणाधीन सार्वजनिक शौचालयनजिकै घर भएका स्थानीय होमबहादुर तुलाचनले आफू शौचालय निर्माणको विपक्षमा नरहेको बताए। उनले नयाँ बन्ने शौचालय विगतको झैँ दुर्गन्धित अवस्थामा छोड्न नहुने बताए। ‘पुरानो शौचालय दुर्गन्धित भएर समस्या थियो’ उनले भने–‘अब बन्ने शौचालय व्यवस्थित होस्।’

उनले पुरानो शौचालयलाई मर्मत गरेर आवश्यकता अनुसार बजारको अन्य कुनै ठाउँमा नयाँ शौचालय बनाएको भए उत्तम हुने बताए।

मेयर थारुले पुरानो शौचालय मर्मत गर्ने अवस्थामा नरहेकाले नयाँ बनाउनु परेको बताए। उनले नयाँ बन्ने शौचालय निकै व्यवस्थित हुने बताए। ‘यो क्यान्टिन सहितको शौचालय हो। विगतका जस्तो अलपत्र अवस्थामा रहदैन’ उनले भने ‘नियमित एकजनाले शौचालयको रेखदेख गर्ने व्यवस्था हुन्छ।’

मेयर थारुले शौचालय निर्माणमा अवरोध गर्नेमा स्थानीय भन्दा धेरै बाह्य व्यक्तिहरु रहेको बताए। उनले शौचालय निर्माणको काममा अवरोध गरेर राजनीति गर्न खोजेको आरोप लगाए।

केही स्थानीयले विरोध गरेपनि आसपासका व्यापारीहरू भने शौचालय निर्माणको पक्षमा देखिएका छन्। उनीहरु मध्ये कतिपयले घरधनीले शौचालय प्रयोग गर्न नदिएका कारण पनि आफूहरु वर्षौँदेखि समस्या भोग्दै आएको गुनासो पोखे। ‘म दश वर्षदेखी व्यापार गर्दै आएको छु’ एक व्यापारीले भने ‘अहिलेसम्म घरधनीले शौचालय प्रयोग गर्न दिएको छैन।’

व्यापारीहरू शौचालयका लागि बैंक र होटलमा जान बाध्य छन्। उनीहरुले बैंक र होटलका शौचालयमा काम चलाए पनि उनीहरुका पसलमा आउने ग्राहकले झन् धेरै समस्या भोग्नु परेको छ। भानुचोक आम मानिसको चहलपहल हुने स्थान हो। त्यहाँ रहेको पुरानो शौचालय जीर्ण भएका कारण ग्राहकका रुपमा आएका आम मानिसले समस्या भोग्दै आएका थिए।

‘हामी आफै त घरधनीको शौचालय प्रयोग गर्न पाउँदैनौं’ अर्का एक व्यापारीले भने ‘ग्राहकलाई कसको शौचालयमा पठाउने ? यो हाम्रा लागि ठूलो समस्या हो।’ उनले व्यवस्थित सञ्चालन हुने गरेर सार्वजनिक शौचालय आवश्यक रहेको बताए।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा नगरपालिकाले सार्वजनिक शौचालय निर्माणको काम अघि बढाएको हो। सो शौचालय २० लाखको लागतमा निर्माण हुने बताइएको छ।

प्रकाशित: १४ माघ २०८० १५:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App