जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले अहिलेसम्म एक सय पचासी जनालाई वैवाहिक अंगीकृत नागरिकता प्रदान गरेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलका अनुसार पुस महिनामा एक जनालाई वैवाहिक अंगीकृत नागरिकता प्रदान गरिएको छ। योसहित अहिलेसम्म जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट १८५ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन्।
नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलालाई संघीय कानुनबमोजिम वैवाहिक अंगीकृत नेपाली नागरिकता प्रदान गरिन्छ। जन्मका सन्तानलाई वंशका आधारमा भने अहिलेसम्म पाँचवटा नागरिकता जारी भएको प्रशासन कार्यालयले जनाएको छ। जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई वंशजको आधारमा यस्तो नागरिकता प्रदान गरिन्छ।
नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको ऐन (२०८०) लागु भएपछि जन्मका सन्तानलाई वंशका आधारमा नागरिकता प्रदान गर्न सुरु गरिएको छ। निवेदकको जन्म नेपालभित्र भएको र निज निरन्तर नेपालमा स्थायी रूपमा बसोबास गर्दै आएको व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरेको सिफारिस, आफ्नो वा परिवारको नामको जग्गाधनी दर्ता प्रमाणपुर्जा वा मोहियानी हकको प्रमाणपत्र वा घरधुरी प्रमाण वा निर्वाचन आयोगले तयार गरेको मतदाता नामावलीमा निजको वा निजको बाबु वा आमाको नाम समावेश भएको प्रमाणसहितका कागजातका आधारमा प्रशासन कार्यालयले जन्मका सन्तानलाई वंशका आधारमा नागरिकता प्रदान गर्ने गरेको छ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट पाँचजनाले यो प्रकृतिको नागरिकता लिएका छन्। तीनजनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन्। प्रशासन कार्यालयका अनुसार वंशजका नाताले भने अहिले सम्म १ लाख ८५ हजार २११ वटा नागरिकता जारी भएको छ।
प्रकाशित: १२ माघ २०८० ०५:०८ शुक्रबार