१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

क्यानडाको प्रलोभनमा पारेर अन्तरवार्ता लिँदा प्रहरीकाे फन्दामा

क्यानडा लैजाने प्रलोभनमा पारेर शुल्क लिएर अन्तरवार्ता लिइरहँदा कास्की प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना विदेशी र चार नेपाली नागरिक छन्।

कास्की प्रहरीका अनुसार पोखरा महानगरपालिका–१० बुद्धचोकस्थित एक होटलमा क्यानडा लैजान्छु भनी प्रलोभन देखाई अन्तरवार्ता लिन विभिन्न व्यक्तिलाई बोलाएको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो।

कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१३ पाटनवेशी बस्ने वर्ष ६५ की पार्वती सुनार, पोखरा– ९ महेन्द्रपुलकी ३७ वर्षीया रिता सुनार, स्याङ्जाको फेदीखोला गाउँपालिका–३ की ३२ वर्षिया सिमा सुनार र काठमाडौं महानगरपालिका–१४ कलंकीका ३८ वर्षीय प्रदिप उपाध्याय रहेका छन्। 

त्यस्तै क्यानडामै स्थायी बसोबास भएका ४५ वर्षीय राकेश जैसवाल र भारतको मध्यप्रदेश भोपाल जिल्ला स्थायी घर भएका ३२ वर्षीय ईस्मित कौर पक्राउ परेका छन्।

पक्राउ परेकी पार्वती सुनारले आफ्नी छोरी क्यानडामा रहेकोले सहजै क्यानडाको भिषा लगाइदिने भनेर अन्तरवार्ताका लागि सर्वसाधारणलाई प्रलोभनमा पारेर अन्तरतवार्ताका लागि बोलाएकी थिइन।

‘छोरी क्यानडा भएकोले भिषा लाग्छ, राम्रो काममा पनि लगाइदिन्छौ। विदेशबाट अन्तरवार्ता लिन आएका छन् भनी प्रलोभन देखाई क्यानडा जानको लागि प्रतिव्यक्ति तीस लाख रुपैयाँ लाग्ने भनेर अन्तरवार्तामा बोलाएको पाइएको छ,’ प्रहरीले भनेको छ, ‘उक्त रकम अन्तरवार्ता पास भएपछि दिनु पर्ने र अन्तरवार्ताको लागि प्रतिव्यक्ति दुई हजार रुपैयाँ लाग्ने भन्दै प्रति व्यक्ति दुई हजार रुपैयाँ लिएर अन्तरवार्ता लिई रहेको अवस्थामा प्रहरीले फेला पारेका हो।’

पक्राउ परेका उनीहरुलाई कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको पनि प्रहरीले बताएको छ।

प्रकाशित: ११ माघ २०८० ०९:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App