जाजरकोट – भेरी नगरपालिकाको भवन बनाउँदा जिल्ला अस्पताल र जिल्लाकै सबैभन्दा पुरानो त्रिभुवन माध्यमिक विद्यालय जाने बाटो बन्द भएको छ । बाटो बन्द हुँदा विद्यालयमा ६ देखि १२ कक्षामा पढ्ने २ हजार विद्यार्थी र अस्पताल जाने सयौं बिरामीलाई आवतजावतमा सास्ती भएको छ । बाटो बन्द हुँदा स्थानीय पनि प्रभावित भएका छन्।
भवन निर्माणका कारण अवरुद्ध बाटो विद्यार्थीले ४२ वर्षदेखि र अस्पताल पुग्ने बिरामीले ३० वर्षदेखि प्रयोग गर्दै आएका थिए । बाटो बन्द भएपछि स्थानीयले विरोध गरेका छन् । नापी कार्यालय र स्थानीय तहको निर्वाचन हुनुअघिको राजनीतिक दलहरुको स्थानीय संयन्त्रको कम्जोरीका कारण ४२ वर्ष पुरानो बाटो हराउन पुगेको स्थानीयको भनाइ छ।
भवन निर्माणका कारण अवरुद्ध बाटो विद्यार्थीले ४२ वर्षदेखि र अस्पताल पुग्ने बिरामीले ३० वर्षदेखि प्रयोग गर्दै आएका थिए । बाटो बन्द भएपछि स्थानीयले विरोध गरेका छन् ।
विद्यालय र अस्पताल जाने वैकल्पिक बाटोको व्यवस्था नगरी भवन निर्माण गर्नु उचित नभएको स्थानीय मित्रगणेश श्रेष्ठले बताए । उनले ५० वर्षदेखि विद्यार्थी हिँडेको बाटो बन्द हुँदा पनि सरोकारवाला मौन रहनु दुःखलाग्दो भएको बताए । ‘ससाना विद्यार्थी हिँड्ने बाटो छैन । बिरामी बोकेर लैजाने बाटो पनि छैन तर कसैलाई कुनै वास्ता छैन’, उनले भने।
त्रिभुवन माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष सनतकुमार कार्कीले नगरपालिकाले विद्यालय र अस्पतालका लागि सहज बाटोको विकल्प दिनुपर्ने बताए । दशकौंदेखि विद्यार्थी हिँडेको सार्वजनिक बाटो नै नरहनेगरी नक्सा बदल्ने र वैकल्पिक बाटो नै नदिने काम नगरपालिकाको गैरजिम्मेवारी भएको कार्कीले बताए । विद्यालय पुग्ने बाटो नगरपालिका र अन्य निकायले जसरी पनि बनाउनुपर्ने विद्यालयका प्रधानाध्यापक हेरम्बबहादुर शाहले बताए । नगरपालिकाको भवन निर्माण सुरु भएका कारण विद्यार्थीलाई विद्यालय पुग्न समस्या परेकाले यसतर्फ सरोकारवालाले सोच्नुपर्ने उनको भनाइ छ।
भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले भने जिल्ला अस्पताल र विद्यालयका लागि नयाँ बाटो बनाउन बजेट छुट्याएको बताए । अहिलेको साँघुरो बाटोको विकल्पमा अन्यत्रबाटै फराकिलो बाटो बनाउने उनको भनाइ छ।
प्रकाशित: २१ फाल्गुन २०७४ ०४:०४ सोमबार