२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘पर्याप्त प्रमाण हुँदा पनि अजित मिजारले न्याय पाएनन्’

अजित मिजारको अन्तरजातीय विवाहको कारण हत्या भएको र हत्यामा संलग्न दोषीविरुद्ध आवश्यक प्रमाण हुँदा पनि राज्यले अहिलेसम्म उनलाई न्याय दिलाउन नसकेको भन्दै दलित संगठनहरूले आपत्ति जनाएका छन्।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी अगुवाहरूले मिजारले न्याय नपाएसम्म संघर्ष जारी राख्ने घोषणा गरेका छन्। एकीकृत दलित मुक्ति मोर्चा, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल, नेपाल राष्ट्रिय दलित अधिकार मञ्च नेपाललगायत दलित संगठनहरूले संयुक्त रूपमा सो घोषणा गरेका हुन्। 

उनीहरूले माघ ६ गतदेखि माघ अन्तिमसम्म विभिन्न चरणमा संघर्ष जारी राख्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले न्याय नपाएसम्म अर्को चरणमा पनि संघर्ष जारी राख्ने घोषणा गरेका हुन्।

काभे्र, होक्सेका १८ वर्षीया अजित मिजार २०७३ असार २९ गते स्थानीय बजारबाट सम्पर्कविहीन भएका थिए। उनको शव असार ३० गते धादिङको गजुरी फुर्के खोलाको प्रतिक्षालयमा घुुँडा टेकिएको र घाँटीमा त्रिपालको डोरीले झुण्डाइएको अवस्थामा फेला परेको थियो।

प्रहरीले स्थानीय स्वास्थ्यचौकीले बेवारिसे भन्दै गाडेको थियो। परिवारले सामाजिक सञ्जालमा छोरा झुण्डिएको थाहा पाएपछि धादिङ पुगेका थिए। परिवार र दलित अधिकारकर्मीले गाडेको शव माग गरेपछि प्रहरीले उत्खनन गरेको थियो। उत्खनन गरिएको शवलाई आफन्तले पोस्टमार्टमको लागि भनेर शिक्षण अस्पताल ल्याएका थिए।

सात वर्षदेखि अजितको शव अस्पतालमै छ। न्याय नपाएसम्म अन्त्येष्टि नगर्ने परिवारको अडानको कारण शव अन्त्येष्टि गरिएको छैन। जिल्ला अदालत धादिङ, उच्च अदालत पाटनले आरोपितलाई १० हजार धरौटीमा छोडेको थियो।

गत वर्ष उच्च अदालत पाटननले मिजारका आरोपितलाई सफाइ नै दिइसकेको छ। उच्च अदालतले सफाइ दिएपछि मिजार परिवारले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् भने आगामी फागुन ८ गते पेसी छ।

पत्रकार सम्मेलनमा बोल्दै जात व्यवस्था उन्मुलन मोर्चा नेपालकी अध्यक्ष शान्ति गजमेरले मिजारको आत्महत्या नभई हत्या नै भएको र हत्यामा संलग्न व्यक्ति स्थानीय व्यापारी कनैया कर्माचार्यको सहभागिता देखिएको र उनीसहित अन्य दोषीको खोजी गरी राज्यले कारबाहीको दायरामा ल्याउनुपर्ने उनीहरूको माग छ।

कर्मचार्यको मिजार बेपत्ता भएको दिन अजितलाई फोन आएको, घरमै फोन छोडेका अजितको नाममा राति १२ बजे कनैयाको नम्बरबाट फोन गरी धादिङ पुगेको भनिएको, अजित मिजारसँग पे्रम विवाह गरी अजितको घरमा दुई दिन बिताएकी युवतीले अदालतमा बयान दिँदा त्यही दिन भेटी कर्मचार्यले केटीको हात हेरी अजितको मर्ने ग्रह छ भनेको बयान दिनु जस्ता प्रमाणको आधारमा कर्मचार्यबाट घटनाको विस्तृत कुरा पत्ता लगाउन सकिने उनले बताइन्।

गजमेरले यति आधार हुँदा हुँदै पनि प्रहरी, राज्य, अदालत कसैले पनि प्रमाणसँग खोजी गर्नुको सट्टा धरौटीमा छोडिनुले न्याय दिनेमा कुनै पनि निकाय गम्भीर नरहेको बताइन्। त्यसैगरी, कहिल्यै अजितलाई फोन नआउने नम्बरबाट २९ गते पटक-फोन आउनु, अजित फोनमा रिचार्ज गर्छु भनी साँझपख घरबाट निस्कनु, फोन घरमै छोड्नु र पासो त्रिपालको डोरी हुनुले हत्या भएको पर्याप्त आधार भएको बताए।

कानुनबमाजिम सात दिन नपुगी बेवारिसे शवको अन्त्येष्टि गर्न नपाइने भनिए पनि धादिङ प्रहरीले दुइ दिनमै शव गाड्नु, स्थानीय स्वास्थ्य क्लिनिकले पोस्टमार्टम गरेको भनिए पनि शरीर नचिरी पोस्टमार्टम गरिनु जस्ता कमजोेरी थप प्रमाण भएको उनीहरूको दाबी छ।

यति प्रमाण हुँदाहुँदै पनि प्रहरी प्रशासनदेखि न्यायिक निकायले घटनामा संलग्नको थप खोजी नगर्नुले राज्य व्यवस्था नै न्यायको पक्षमा नदेखिएको उनीहरूको आरोप छ।

प्रकाशित: १० माघ २०८० ०२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App