२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नेपालीको नियति: १० पास, जागिरको आस

लोकसेवा आयोगले लिने परीक्षामा खरिदार पदमा सबैभन्दा बढी दरखास्त परेको पाइएको छ। खरिदारमा पनि प्राविधिक र अप्राविधिक (अप्रा.) दुईखाले पद हुन्छन्। यी दुईमध्येमा पनि अप्राविधिक खरिदार पदमा सबैभन्दा बढी दरखास्त पर्ने गरेको आयोगका वार्षिक प्रतिवेदनहरूले देखाएका छन्। ती प्रतिवेदनअनुसार सबैभन्दा बढी आवेदन अप्रा. खरिदार, त्यसपछि अप्रा. नायब सुब्बा (नासु) र अप्रा. शाखा अधिकृत पदमा बढी पर्ने गरेको छ।

आयोगका सूचना अधिकारी एकनारायण शर्माले अप्रा. खरिदार पदमा सबैभन्दा बढी दरखास्त पर्ने गरेको जानकारी दिँदै भने, ‘आर्थिक वर्ष २०७९/८० मा अप्रा. खरिदार पदमा २ लाख ९ हजार ५ सय ९५ दरखास्त परेको छ, जुन अरूको भन्दा बढी संख्या हो।’

शर्माका अनुसार उक्त आवमा सो पदमा १ लाख २२ हजार ४१६ महिला र ८७ हजार १ सय ७९ पुरुषले आवेदन दिएका थिए। खरिदार पदमा आवेदन दिन न्यूनतम शैक्षिक योग्यता एसएलसी/एसइई वा सोसरह हुनुपर्ने व्यवस्था छ। यसकारण पनि खरिदारमा सबैभन्दा बढी आवेदन पर्ने गरेको हो।

यसैगरी सोही आवमा अप्रा. नासु पदमा १ लाख ३३ हजार ६ सय ७७ जनाले आवेदन दिएका छन्। जसमध्ये ७३ हजार ८ सय ८४ पुरुष तथा ५९ हजार ७ सय ९३ महिला छन्।

यसैगरी अप्रा. शाखा अधिकृत पदमा ३५ हजार ६ सय ६ पुरुष तथा २२ हजार ३ सय ६३ महिला गरी ५७ हजार ९ सय ६९ आवेदन परेका छन्। खरिदार, नासु र शाखा अधिकृतपछि सबैभन्दा बढी आवेदन अप्रा. उपसचिव पदमा परेको आयोगको भनाइ छ।

 उक्त पदमा ८ हजार ६ पुरुष तथा २ हजार ४ सय ७६ महिलाको निवेदन परेको छ। त्यसपछि अप्रा. सहसचिव पदमा बढी निवेदन परेको छ। सहसचिव पदमा २ हजार ४ सय ८४ जनाको निवेदन परेकोमा २ हजार १ सय ३० पुरुष तथा ३ सय ५४ महिला छन्।

आयोगको वार्षिक तथ्यांकअनुसार सबैभन्दा कम आवेदन मानवअधिकार सेवाका विभिन्न पदमा परेका छन्। आव २०७९/८० मा मानवअधिकार सेवाका अधिकृत एघारौं तह (सहसचिवसरह) को पदमा चारजनाले मात्र आवेदन दिएका छन्।

एक वर्षमा सबैभन्दा कम आवेदन परेको पद यो नै हो। उक्त पदमा दुई महिला तथा दुई पुरुषले मात्र आवेदन दिएका छन्।

यसैगरी स्वास्थ्य सेवाको अधिकृत एघारौं (सहसचिवसरह) को पदमा एक वर्षमा १४३ जनाको आवेदन परेको छ। जसमा ७३ पुरुष तथा ७० जना महिलाको आवेदन परेको छ। मानवअधिकार सेवाका अधिकृत द्वितीय (उपसचिवसरह) पदमा २२१ जनाको आवेदन परेको छ। जसमा १४१ पुरुष तथा ८० महिला छन्।

आव २०७९/८० मा आन्तरिक र खुलातर्फ ४ लाख ८३ हजार २०३ जनाले लोकसेवा आयोगको परीक्षा दिन अनलाइन प्रणालीमार्फत दरखास्त दिएका थिए।

परीक्षाका लागि फाराम भर्नेमध्ये ३ हजार ६७५ जना उम्मेदवार मात्र स्थायी नियुक्तिका लागि सिफारिस भएका छन्। यसबाट आयोगको परीक्षा उत्तीर्ण गर्न झनै चुनौती देखिन्छ। त्यसमा पनि सरकारी सेवामा अवसर पाउनेमा महिला १ हजार ९९ जना र पुरुष २ हजार ५७६ जना छन्। आयोगले निकालेको तथ्यांकअनुसार सरकारी सेवाप्रति युवामा आकर्षण बढ्दै गएको देखिन्छ।

त्यस्तै अघिल्लो आव २०७८/७९ मा परेको कुल दरखास्त संख्याभन्दा आव २०७८/८० मा परेका दरखास्तको संख्या ३२.२३ प्रतिशतले बढी भएको पाइएको छ। आव २०७८/७९ मा ३ लाख ६५ हजार ४३४ जनाबाट दरखास्त परेको थियो।

आयोगका अनुसार पछिल्लो १० वर्षमा आयोगमा सबैभन्दा कम दरखास्त आव २०७५/७६ मा परेको थियो। सो आवमा वर्ष १ लाख ४३ हजार ७५३ जनाबाट मात्र दरखास्त परेको थियो। यसैगरी सबैभन्दा बढी दरखास्त आव २०७३/७४ मा परेको थियो। सो आवमा ८ लाख ४४ हजार २९७ जनाबाट दरखास्त परेको थियो।

आव २०७९/८० मा ५०३ बढुवा सूचना, १४७ आन्तरिक प्रतियोगितात्मक परीक्षा, २९९ खुला प्रतियोगितात्मक परीक्षा र ६६७ वटा विभिन्न समावेशी गरी १ हजार ६१६ वटा विज्ञापन तथा बढुवा सूचना प्रकाशन गरिएको थियो।

आयोगको तथ्यांकअनुसार लोकसेवा आयोगको परीक्षामा सहभागी हुनेमा किसानका सन्तति बढी देखिएका छन्। आव २०७९/८० मा दिइएका कुल दरखास्तमध्ये ७९ दशमलव ६४ प्रतिशत दरखास्त कृषि पेसा अँगालेका बाबुआमाका सन्ततिले दिएको आयोगको रिपोर्टमा जनाइएको छ।

कुल दरखास्त दिएका मध्ये १० दशमलव ६४ प्रतिशत व्यक्तिका आमाबाबुले मात्र व्यवसाय गरेको रिपोर्टमा जनाइएको छ। रिपोर्टअनुसार उक्त आवमा १ दशमलव ८५ प्रतिशत श्रमिकका छोराछोरीले आयोगको परीक्षाका लागि दरखास्त दिएका छन्।

प्रकाशित: ९ माघ २०८० ०१:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App