४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

तालाबन्दीले ३८ दिनदेखि काम ठप्प

३८ दिनदेखि तालाबन्दी गरिएको सुकीदह गाउँपालिका कार्यालय । तस्बिर : नागरिक

रोल्पा – गाउँपालिकाको नाम परिवर्तनको विषयलाई लिएर सुकिदह गाउँपालिका कार्यालयमा गरिएको तालाबन्दी ३८ दिनसम्म पनि खुलेको छैन । पटकपटकको सर्वपक्षीय छलफलबाट पनि निकास ननिस्किएको भन्दै कार्यालयमा माघ ८ गते ताला लगाइएको थियो।

लामो समयसम्म गाउँपालिकामा तालाबन्दी हुँदा कामकाज ठप्प छ । कामकाज ठप्प भएपछि सेवाग्राही सकसमा परेका छन् । ताला खोल्ने विषयमा कसैले पनि चासो  दिएका छैनन्।‘यति धेरै दिन भयो ताला खुलेको छैन । कार्यालय बन्द छ । हामी कहाँ जानु । फाइल सबै भित्र छन् । प्रमुखज्यू पनि दाङतिर जानुभएको छ । ताला खुलाउने विषयमा कसैले पहल  गरेका छैनन् । काम गर्न ढिलो भइसक्यो,’ गाउँपालिका उपप्रमुख रिता डागी घर्तीले भनिन् । ‘जिल्लामा गएर सिडिओलाई पनि भनेको तर प्रशासनले पनि ताला खुलाउनेबारे चासो दिएको छैन।’

जिल्लामा शान्तिसुरक्षा व्यवस्था मिलाउने जिम्मा पाएका प्रमुख जिल्ला अधिकारी पनि राजनीतिक मुद्दा भएकाले सकेसम्म सहज मिलोस् भन्नेमा देखिन्छन् । ‘उस्तै हो । केही भएको छैन । हेराै २-४ दिनमा सहमति भएछ भने भयो नत्र हामीले ताला फोड्छौं,’ प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले भने । संघर्ष समिति बनाएको तालाबन्दी गर्ने पक्षले भने ताला खुलाउने विषयमा कुनै सहमति नभएको जनाएको छ । ‘१८ गते छलफलका लागि बस्ने भन्ने कुरा मात्र भएको छ । ताला खुलाउने कुनै सहमति छैन,’ संघर्ष समिति संयोजक रोशनकुमार वलीले बताए।

सुकिदह गाउँपालिकाको नाम र केन्द्र फेर्ने निर्णय भएपछि विवाद सुरु भएको थियो । माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका प्रमुख वीरबहादुर खत्रीले माओवादी द्वन्द्वका क्रममा मारिएकी आफ्नी श्रीमती गंगा वली र अर्का देवबहादुर वलीको नामबाट गंगादेव गाउँपालिका नामाकरण गर्ने निर्णय गराएपछि तनाव सुरु भएको हो । त्यसैगरी हाल केन्द्र रहेको सुखाओढारबाट सानडाँडा सार्ने तयारी गरिएको छ । खत्रीले गाउँसभा र गाउँ कार्यपालिकाको बहुमतबाट नाम फेर्ने र केन्द्र सार्ने निर्णय गराएका हुन् । केही समयअघि खत्रीसँग फरक नाममा दुइटा नागरिकता भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत परेको छ ।

 

प्रकाशित: १७ फाल्गुन २०७४ ०४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App