१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

आगलागीबाट कोसेली घर क्षतिग्रस्त, लाखौंका अर्गानिक वस्तु जलेर नष्ट

जुम्लाको चन्दननाथ नगरपालिका ५ खलंगा बजारस्थित आगलागीबाट क्षतिग्रस्त कोसेली घर। तस्बिर : नागरिक

जुम्लाको चन्दननाथ नगरपालिका ५ स्थित खलंगा बजारमा खोलिएको अर्गानिक कोसेली घरमा आगलागी हुँदा लाखौं मूल्यबराबरका अर्गानिक सामान जलेर नष्ट भएका छन्।

अर्गानिक पसलमा राति एक बजे विद्युत सर्टका कारण आगलागी भएको थियो। आगलागीबाट अर्गानिक कोसेली घर पूर्ण रुपमा जल्नुका साथै जोडिएको चियापसल र उद्योग वाणिज्य संघ जुम्लाको भवनमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

कोसेली घरका सञ्चालक गोविन्द आचार्यले आगलागी भएको खबर राति साढे एक बजे आफूलाई प्राप्त भएको बताए। उद्योग वाणिज्य संघको हलसँगै टॉसिएको चन्दननाथ भैरवनाथ मन्दिरको जग्गामा एक कोठाको कच्ची भवनमा अर्गानिक कोसेली घर स्थापना गरिएको छ। आगलागीका कारण ३५ लाखबराबरको सामान नष्ट भएको आचार्यले बताए।

नेपाली सेनाका अनुसार घरमा विद्युत तार सर्ट भई आगलागी भएको अनुमान गरिएको छ। आगलागीबाट उद्योग वाणिज्य संघका झ्यालसमेत जलेका छन्। नेपाली सेनाको नन्दाबक्स गण,नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा झन्डै डेढ घन्टामा आगो नियन्त्रणमा लिइएको थियो।

नेपाली सेना नन्दाबक्स गणका उपसेनानी सन्तोष के।सीको कमान्डमा नेपाली सेना, सशस्त्र प्रहरी नायब उपरीक्षक दीपक चन्द र जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढामगरको नेतृत्वको टोली आगो नियन्त्रणमा खटिएका थिए।

आगो नियन्त्रणमा चन्दननाथ नगरपालिकाको दमकलसमेत प्रयोग गरिएको थियो। आगलागीबाट चार क्विन्टल जुम्मो, एक लाख ५० हजार दाना दाँते ओखर, ३० केजी स्याउका चाना, राडीपाखी, खरायोको टोपी, भोटे कपडा, गलैंंचा गरी सात लाख ५० हजार मूल्यबराबरका सामान नष्ट भएको प्रहरीले नजनाएको छ।

यसैगरी मार्सीचामल, सिमी, कादो, जौ, मकै, भट्मास, फापरको पिठो गरी चार लाख ५० हजार र जडिबुटी चिया मात्रै ३० हजार रुपैयाँबराबरको सामान पनि नष्ट भएको छ।

त्यस्तै दयार र ओखरको ३० हजार मूल्यबराबरको तेल जलेको छ। कोसेली घरभित्रको सबै सामान पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ।कोसेली घर सञ्चालक आचार्यले आगलागीका कारण ठूलो क्षति पुगेको बताए। उनले भने, ‘परिवार पाल्ने नै कोसेली घर थियो। आगोले सबै जलाइदियो। अब कसरी गुजारा चलाउने होला?’

आगो नियन्त्रणका क्रममा अर्गानिक सामान यत्रतत्र छरिएर राखिएको थियो। कोसेली घरभित्रका कुनै पनि सामान काम नलाग्ने अवस्थामा रहेको उनको भनाइ छ।

प्रकाशित: ७ माघ २०८० ०३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App