इलाम – इलामको देउमाई नगरपालिका साविक (धुसेनी–४) की ५७ वर्षीया तोरणकुमारी चापागाईंलाई बिहान–बेलुकै आफ्ना पति र छोराको झल्को आउँछ। बिहान उठ्न बित्तिकैदेखि राति सुत्नेबेलासम्म हरपल उनी आँगनतिर आँखा डुलाउँछिन्। उनलाई आशा छ, कतै पति र छोरा टुप्लुक्क घर आइपुग्ने पो हुन् कि !
तोरणकुमारीका पति पदम र छोरा प्रमोद बेपत्ता भएको ठ्याक्कै साढे ७ वर्ष बित्यो। उपचार गराउन घरबाट हिँडेका बाबु–छोराको अहिलेसम्म कुनै अत्तोपत्तो छैन। तोरणकुमारीलाई बाबु–छोरा कहिले आउलान् भन्ने ज्यादै चिन्ता छ। भन्छिन्, ‘बाटो हेर्दाहेर्दै आँखा टट्टाइसके। आज बाटो हे¥यो छैन, भोलि हे¥यो छैन। दिन, महिना र वर्ष पनि ७ वटा बितिसकेछन्।’ पति र छोराको सम्झनाले उनी बेलाबेला भक्कानिन्छिन्। ‘अरूबेला त जसोतसो मन बुझाइन्छ, घरमा मीठो–मसिनो पकाएका बेला र चाडबाडमा मन भत्भती पोल्छ,’ तोरणकुमारी सुनाउँछिन्।
२०६७ साउन १२ गते मानसिक अवस्था कमजोर रहेका छोरा प्रमोदको उपचार गराउन दुवै बाबु–छोरा भारत जान घरबाट हिँडेका थिए। तर, उनीहरू अहिलेसम्म फर्किएका छैनन्। उनीहरू बेपत्ता भएदेखि नै घरमा सधैंजसो रुवाबासी चल्छ। स्थानीय कालिकादेवी प्राथमिक विद्यालयका शिक्षकसमेत रहेका ५३ वर्षीय (त्यतिबेला) पदम र २५ वर्षका छोरा प्रमोद घर नफकिँदा गाउँबासीसमेत चिन्तामा छन्। ‘छिमेकी बाबु–छोरा बेपत्ता भएपछि स्कुलको पढाइसमेत निकै समय अवरुद्ध भयो,’ स्थानीय पूर्वशिक्षक नेत्र ढुंगेल भन्छन्, ‘ज्यादै रहस्यमय ढंगले उहाँहरू बेपत्ता हुनुभएको छ।’
घरबाट हिँडेको ४ दिनपछि पदमले ‘म अप्ठ्यारोमा फसें, मेरो सुर्ता नगर्नू’ भनेर घरमा फोन गरे । ‘कस्तो अप्ठ्यारो स्थान हो, कहाँबाट फोन गर्नुभएको थियो भन्ने केही खुल्न पाएन,’ तोरणकुमारीले भनिन्, ‘फोन आएदेखि झन् चिन्ता थपिएको छ।’ फोनमा पनि यताका कुरा जति सुनिसकेपछि श्रीमान् बोल्दै गरेको फोन अर्कैले खोसिदिएको अनुमान तोरणकुमारीले गरेकी छिन्।
बेपत्ता बाबुछोराको खोजीका लागि प्रहरीमा जानकारी गराएपनि पत्ता लाग्न नसकेको परिवारजनले बताए। ‘उनीहरू गएकै ठाउँतिरसमेत गएर खोजियो तर कतै सुइँकोसम्म पाइएन,’ तोरणकुमारीले बताइन्। उनीहरूको खोजीका लागि परिवारजनले सबैसँग आग्रह पनि गरेका छन्। चापागाईंका तीन छोरामध्ये प्रमोद माइला हुन्। तोरणकुमारी, उनका जेठा छोरासहितको परिवार र कान्छा छोरा घरमा छन्।
प्रकाशित: १५ फाल्गुन २०७४ ०९:५९ मंगलबार