२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बिहेप्रति उदासिन जापानी युवा

यस्ताे पनि!

जापानमा बस्नुहुन्छ, एक्लो हुनुहुन्छ, उमेरमा अब लगभग ५० पुग्न लाग्नुभयो भने तपाईंले कहिल्यै पनि प्रेमिल सम्बन्धका लागि जोडबल नगर्नु भएको हुनसक्छ।

१२ सयभन्दा एकल पुरुष तथा महिलाहरूमाथि गरिएको सर्भेले देखाएअनुसार २० देखि ४९ वर्ष उमेर समूहका ३४ प्रतिशतले कहिल्यै आफू प्रेमिल सम्बन्धमा नरहेको खुलाएका छन्। प्रेम त भएन नै, बिहे गर्ने पनि कुनै मनशाय नरहेको उनीहरूले बताएका छन्।

रिक्रुट होल्डिङ संस्थाले गरेको सर्भेअनुसार, २० देखि ३० वर्ष उमेर समूहका एकल महिला तथा पुरुषहरूलाई सोध्दा निकै रोचक तथ्याङ्क फेला परेको छ। १९ प्रतिशत महिलाले र २३ प्रतिशत पुरुषले डेटिङमा जानु र प्रेमिल व्यक्ति खोज्नु समय र पैसा दुवैको बर्बादी भएको बताएका छन्। सन् २०२१ मा गरिएको यस्तै सर्भेको तुलनामा यस्तो ठान्नेहरूको यो १५ प्रतिशतले बढी हो।

जापानमा वैवाहिक सम्बन्ध घट्दै जाँदा सन्तान जन्माउने सम्भावना पनि कम हुँदै जान थालेको छ। चुओ विश्वविद्यालयकी समाजशास्त्री मासाहिरो यामादाले सन् २०२२ मा प्रति महिला सन्तान जन्माउने प्रतिशत १.२६ मा झरेको बताइन्। यो अन्य वर्षको तुलनामा निकै कम हो।

महिलाहरू बिहेमा केही लचिलो देखिए पनि पुरुषहरू नै अलि तर्किरहेको देखिन्छ। ४३ प्रतिशत विवाहयोग्य पुरुषहरूले वैवाहिक सम्बन्ध निकै खर्चिलो भएकाले विवाह गर्न डराएको बताएका छन्। यस्तै ४१ प्रतिशत महिलाहरू भने विवाह गरेपछि आफ्नो स्वतन्त्रता गुम्ने डरका कारण यसमा चासो राख्न छाडेको बताएका छन्।

सन् २०२१ मा महिलाहरू बिहेका लागि ५३ प्रतिशतले तयार देखिएका थिए। २०१७ मा भने ५५ प्रतिशत महिलाहरू बिहे गर्न तयार थिए। अहिले आएर ४६ प्रतिशत महिलाहरू मात्र बिहेका लागि सकारात्मक देखिएका छन्।

जापानको गत दशकलाई ‘लस्ट डिकेड (गुमेको दशक)’ मानिन्छ। आर्थिक विकास खुम्चेका कारण स्त्री/पुरुष दुवै पक्ष सन्तानलाई उचित वातावरण दिन नसक्ने डरका कारण बिहेका लागि डराइरहेका थिए।

हुन पनि धनी र गरिबबीचको दुरी बढ्दै जान थालेको छ भने युवाहरूले थप पैसा कमाउने कामहरू पाउन गाह्रो हुँदै जान थालेको छ। यस्तोमा नयाँ पुस्ताले आर्थिक रूपमा सबल साथी मात्र खोजिरहेका कारण जोडी बन्न कठिन भइरहेको यामादा बताउँछिन्।

धेरै युवाहरू पहिलेको तुलनामा आफ्नै अभिभावकसँग बढी बसिरहेका कारण खानेपिउने समस्या नभएको तर छुट्टै परिवार शुरु गर्न हिच्किचाइरहेको देखिएको हो। उमेर ढल्किदै जाँदा उनीहरूको बिहेप्रतिको रुचि कम हुन थालेको हो।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: २ माघ २०८० ०१:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App