२२ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघीजस्ता चाडपर्वले नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्नेमा विश्वास व्यक्त गरेका छन्।  

माघी पर्वका अवसरमा शुभकामना सन्देश जारी  गर्दै  राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका  सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन्। उनले माघी पर्वजस्ता विशिष्ट र मौलिक पहिचान भएका जात्रा तथा पर्व मनाउँदै सांस्कृतिक तथा जातीय विविधतालाई आपसमा जोडेर साझा नेपालीको पहिचान निर्माण गर्न सकिए हाम्रो मुलुकलाई विश्वसामु परिचित गराउन महत्वूर्ण भूमिका रहने बताए ।  

“यस पर्वलाई नेपालका विभिन्न जातजातिले आ–आफ्नै तरिकाले हर्षोल्लासपूर्वक मनाउँदै आइरहेका छन् । थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउँदछन् भने मगर समुदायमा यस दिन तीरको निशाना लगाउने खेल प्रचलनमा छ।  तराईवासीले ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाउँदछन् । पवित्र नदी एवं त्रिवेणीहरूमा स्नानपश्चात् पूजाअर्चना गरी घीउ, चाकु, तरुल, सेलरोटी, तिलको लड्डु, ढिक्री र खिचडीजस्ता खाद्य परिकार सेवन गर्ने परम्परा छ”, राष्ट्रपतिद्वारा जारी शुभकामनामा उल्लेख छ।

सूर्य उत्तरायण हुने प्रक्रियासँग सम्बन्धित हुनाले माघी अर्थात् माघे सङ्क्रान्ति पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउने उनको भनाइ छ। 'हाम्रा धेरै पर्वहरू यसैगरी प्रकृतिसँग अन्योन्याश्रित रूपले जोडिएका छन्। नेपाली समाज प्रकृति र संस्कृतिको सुन्दर सङ्गम भएको हुनाले हाम्रा व्यवहारहरू पनि प्रकृतिमैत्री र वातावरण संरक्षणउन्मुख हुनुपर्दछ भन्ने अन्तर्निहित सन्देशलाई हामीले आत्मसात् गर्नुपर्दछ', उनले भने।  

त्यसैगरी नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वले नै अनेकतामा एकता कायम गरी राष्ट्रिय भावनाको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख  गरेका छन्।  

मकर सङ्क्रान्ति/माघे सङ्क्रान्ति’का अवसरमा शुभकामना व्यक्त गर्दै उनले  भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गरेको बताए।  साथै उनले सामाजिक सद्भावना बढाउँदै सबै जातजाति, धर्म, वर्ग र पेसा अवलम्बन गर्ने नेपालीका बीचमा सुमधुर सम्बन्ध कायम गर्न पर्वले सघाएको उल्लेख गरेका छन्।  

‘मकर सङ्क्रान्ति/माघे सङ्क्रान्ति’ नेपालका विभिन्न जातजातिले विशेष पर्वका रुपमा मनाउँदै आएका छन्। नेपाल प्राचीनकालदेखि विभिन्न जातजातिको बसोबासको सङ्गमस्थल रहेकाले यहाँ विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाडपर्वको आफ्नो बेग्लै विशेषता छ। एकले अर्काको यी हरेक विषयलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा रहेको उल्लेख  उनले गरेका छन्।  

सभापति देउवाले यस पर्वका अवसरमा यस दिनलाई विशेष पर्वका रुपमा मनाउनु हुने थारू समुदायलगायत अन्य समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा कांग्रेस र आफ्नोतर्फबाट सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।  

प्रकाशित: १ माघ २०८० ०३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App