२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सुन तस्करी आयोगमा सहसचिव अधिकारीको बयान

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीमा संलग्न रहेको आरोपमा सहसचिव झलकराम अधिकारीलाई बयान लिइएको छ। सुन तस्करी सम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले सह–सचिव अधिकारीलाई गृहमन्त्रालयको पुरानो भवनमा बयान लिएको हो।

उनी अध्यागमन विभागमा हुँदा तस्करीमा संलग्न रहको भनिएका बेल्जियन नागरिक दावा छिरिङसँग नजिकको सम्बन्ध राखेको आधारमा उनलाई बयान लिएको हो। उनकै अनुमतिले पानी तान्ने मेसिन मार्फत सुन तस्करी भएको आरोप लागेको छ। अधिकारी अध्यागमन विभागमा हुँदा बेल्जियन नागरिक दावा छिरिङले ह्वाटसएप मार्फत पानी तान्ने मेसिनको तस्वीर पठाउने गरेको त्यसलाई छाड्न अधिकारीले सहयोग गरेको स्रोतको दावी छ।

सो प्रकरण बाहिरिएपछि उनलाई विभागबाट सरुवा गरेर  सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पठाइएको छ। हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादी दावासँग अधिकारीले ह्वाट्स एपमा शंकास्पद कुराकानी गरेको मात्र होइन उनले तस्करीलाई सहजीकरण गरेको समेत सिआइबीका अधिकारीहरुले बताएका थिए।

तर, राजनीतिक दबाबका आधारमा प्रहरीले  प्रतिवादी बनाउन सकेन। सिआईबीले उनलाई सरकारी साक्षी बनाएर अनुसन्धान प्रतिवेदन बुझाएको थियो। उनलाई सुन तस्करी मुद्दामा प्रतिवादी नबनाएकोबारे प्रश्न उठेपछि आयोग मार्फत अनुसन्धान गर्ने भनेर छाडिएको थियो। असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी)नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गरेको थियो। सुरुमा ३ महिना समय दिइएको आयोगको समयसिमा थप २ महिना थप्ने निर्णय गरिएको छ।

आयोग उच्च अदालतका पूर्वन्यायधीश डिल्लीराम आचार्यको संयोजकत्वमा बनेको छ। विद्युतीय चुरोट (भेप) र सवारी साधनका ब्रेक सु लगायतमा लुकाएर ल्याएको सुनसम्बन्धी छानबिन गरी संलग्नमाथि कारबाही सिफारिस गर्न सरकारले पूर्वन्यायधीश आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो । पूर्वएआईजी सहकुल थापा र पूर्वसहसचिवद्वय किशोरजंग कार्की र प्रेमराज जोशीसमेत सम्मिलित चार सदस्यीय आयोगलाई पुस १६ सम्म काम सक्न समय तोकिएको भएपनि काम नसकिएको भन्दै आयोगको समयावधि थप गरेको हो।

आयोगले अहिलेसम्म नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान दायरामा ल्याएका ३३ जनासँग बयान लिनुका साथै विज्ञ तथा सम्बन्धित निकायका प्रतिनिधिसँग राय/परामर्श समेत लिइसकेको छ। २०७९ पुस १० मा दुबईबाट भेपमा ९ किलो सुन भित्रिएको थियो भने हङकङबाट विमानमा कार्गो गरी ल्याएर भन्सार जाँच पार गरिसकेको अवस्थामा साउन २ गते सिनामंगल सडकबाट ६० किलो बढी सुन बरामद भएको थियो ।आयोगले यसअघि गठन गरिएका सुन तस्करीसम्बन्धी आयोग र प्रतिवेदनलाई समेत आधार मानेर अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २९ पुस २०८० १५:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App