२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मित साइनो जोडेर गाउँगाउँमा चोरी गर्ने पक्राउ

कहिले ‘आफन्त’ र कहिले ‘मित’ को साइनो जोडेर इलामका गाउँगाउँमा पाहुना लाग्दै लुटपाट गर्ने भारतीय नागरिक पक्राउ परेका छन्।

प्रायः हुलिया मिल्ने एकै व्यक्तिले इलामको माई नगरपालिका र सन्दकपुर गाउँपालिकाबाट पाहुना भन्दै बास बसेर नगद, मोटरसाइकल, स्कुटी, गरगहना लुटेको प्रहरीले बताएको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित फारबिसगञ्ज अररियाको पोखरी बस्ती वडा १५ (उनका साथमा रहेको आधार कार्डमा उल्लेख भएअनुसार) का ३५ बर्से सन्तोष थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनका साथमा १० बर्से छोरा आर्यन थापासमेत छन्। उनलाई दानाबारी प्रहरी चौकीबाट खटिएको सिनियर सई कैलाशकुमार केसी नेतृत्वको टोलीले माई नगरपालिका ३ चियाबारीबाट पक्राउ गरेको हो। उनका साथमा ३८ प ११०५ नम्बरको पल्सर मोटरसाइकलसमेत रहेको प्रहरीले जनाएको छ।

गत मंसिर ५ मा राति माई नगरपालिकाको कालीखोलाका ५६ बर्से धनबहादुर केरुङ र ६८ बर्से पूर्णबहादुर आलेमगरको घरकोठाबाट १८ हजार आठ सय रुपैयाँ, एउटा ल्यापटप, एउटा टिभी, दुई मोबाइलसहित करिब एक लाख ६० हजार रुपैयाँबराबरको लुटिएको थियो।

प्रहरीले थापाका बाबु–छोरालाई गत २४ गते नै पक्राउ गरे पनि पुुष्टि गरेको थिएन। पक्राउ गरेको पुष्टि गरेपछि जिल्ला र विभिन्न स्थानबाट सामान लुटेको भन्दै पीडित आउने क्रम जारी रहेको डिएसपी जबेगुले बताए।

माईको घटनापछि थापाले सन्दकपुर गाउँपालिका ३ सुुलुबुङका ललित गुरुङकहाँ पुगेर मंसिर १४ गते वास बसी उनको मोटरसाइकल लिएर बेपत्ता भएका थिए। पोहोर साल माई नगरपालिकाकै शुक्रबारे बजारस्थित माया होटलमा वास बसेर उनले होटल सञ्चालिका माया गुरुङको स्कुटी लिएर गएका थिए।

प्रहरीका अनुसार पक्राउ परेका थापाले इलाम मात्र नभई झापा र मोरङका विभिन्न स्थानमा पनि यस्तै घटना गराएका थिए। उनका साथमा भएको मोटरसाइकल उर्लाबारीका व्यक्तिको भएको पाएपछि थापालाई घटना अनुसन्धानका लागि उर्लाबारी पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ पुस २०८० ०३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App