१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

घरमा कुकुर पाल्ने, बाटोमा फोहोर फाल्ने नगर्नुहोला नि!

के तपाईँले घरमा पाल्नुभएको कुकुरलाई शौच गराउन सार्वजनिक स्थानमा लैजाने गर्नुभएको छ ? यदि त्यसो गर्नुभएको छ भने आजैदेखि घरपालुवा कुकुरका लागि व्यवस्थित शौचालय निर्माण गर्नेतर्फ लाग्नुस्।

घरमा कुकुर पाल्ने बाटोमा फोहोर फाल्नेहरुलाई कुनै पनि बखत काठमाडौं महानगरपालिकाले कारबाही गर्न सक्छ। महानगरले घरपालुवा कुकुरलाई सार्वजनिक स्थलमा शौच गराइको पाइए सम्बन्धित कुकुर धनीविरुद्ध कारबाही सुरु गरेको छ।

मानव जीवनमा अत्यन्त हानिकारक मानिएको कुकुरको दिसा पिसाब जताततै भेटिन थालेपछि महानगरले सार्वजनिक स्थलमा शौच गराइएको भेटिए कारबाही थालेको हो।

स्वच्छ र सफा काठमाडौं बनाउने लक्ष्य लिएको महानगरपालिकाले अहिले नगरभरि छड्के चेकजाँचमा प्रहरी टोली खटाएको छ। यही क्रममा आइतबार एकाबिहानै नगर प्रहरी सादा पोशाकमा बानेश्वर, अनामनगर, घटेकुलो, स्वयम्भूलगायतका क्षेत्रमा चेकजाँचमा खटिएका थिए।

उक्त क्षेत्रमा बसोबास गर्नेहरु कुकुर पाल्न शौकिन रहेको तर कुकुरलाई सडकमा निकालेर दिसा पिसाब गराएर सडक नै फोहोर गराउनुका साथै पैदल यात्रीलाई सास्ती भएको गुनासोको आधारमा अनुगमनका लागि महानगर टाेली खटिएका थिए।

आइतबार अनामनगर र मइतिदेबि क्षेत्रबाट सडक र छिमेकीको दैलोमा शौच गराइरहेको अवस्थामा चार कुकुर पालक भिआइपीहरू समेत प्रहरीको फन्दामा परे। एकाबिहानै कुकुर सडकमा निकालेर दिसा पिसाब गराउने भिआइपी भन्नेहरूलाई नगर प्रहरी निरीक्षक धर्म भण्डारीको नेतृत्वमा खटिएको सादा पोशाकका प्रहरीले नियन्त्रणमा लियो।

प्रहरीले कुकुर र तिनका पालक दुवैलाई नियन्त्रणमा लिई महानगरमा पाँच घण्टा राखेर एक/एक हजार जरिवाना तिराएर छाडेको प्रहरी निरीक्षक भण्डारीले जनाए।

महानगर प्रमुख बालेन साहको महानगर सर-सफाई विशेष अभियान नै संचालन भइरहेकोले यस प्रति जोसुकै पनि सचेत हुनुपर्ने उनले जनाए।

‘सर-सफाईलाई विशेष अभियानको रुपमा लिएकोले महानगर प्रहरीले आफ्नो क्षेत्रमा सोही अनुसारको काम गरिरहेको छ। यही क्रममा महानगरले दैनिक जनचेतना जगाउने किसिमको सूचना प्रवाह र माइकिङ पनि गरिरहेकै छ,’ प्रहरी निरीक्षक भण्डारीले नागरिक न्युजसँग भने ‘महानगरले कुकुर पाल्नेहरूले कुकुरको सबै व्यवस्थापन आफ्नो घरभित्रै गर्न सचेत गराउँदै माइकिङ गरेकै छ। तर पनि अटेर गरि महानगरलाई हेपेर कसैले कुकरलाई सडक पेटीमै दिशा गराइदिने, झ्यालबाट सडकमा दिशा फाल्ने लगायतका गलत क्रियाकलाप गर्ने गरेको हाम्रो अनुगमनले देखायो।’

उनले थपे ‘सचेत गराउन पनि हामीले सादा पोशाकमा छड्के अनुगमन गर्‍यौँ। अर्को पटक पनि पुनः गल्ती गरे ५ हजार जरिवाना हुन्छ।’

यती मात्र होइन महानगरपालिकाले सडक पेटी छेउमा मोटरसाइकल वर्कसपहरूलाई पनि निगरानीमा राखेको छ। सडक पेटीमै मोटरसाइकल खोलेर पेटिका मोबिल पोखाएर कालो दाग लगाएर फोहोर पार्नेहरुलाई समेत दश हजार जरिवाना गरेको छ।

‘स्वयम्भू क्षेत्रबाट चार जना वर्कसपवालाहरुलाई पनि सडक पेटी फोहोर गरिरहेको अवस्थामा पक्राउ गरि दश/दश हजार जरिवाना गराएर छाडियो ,’ उनले भने ‘उनीहरुले पैदल यात्रु हिँड्ने सडक पेटीमै कालो मोबिल पोखाएर फोहोर पारेका थिए। पैदल यात्रुलाई असुविधा पुर्‍याएकोले पक्राउ र जरिवाना गरिएको हो।’ उनले थपे ‘अबदेखि पुनः गल्ती दोहराएको फेला परे वर्कसप नै बन्द गरिदिने सम्मको कारबाही गर्ने महानगरले तय गरेको छ।’

महानगरको सफाई अभियान निरन्तर चलिरहने उनले जनाए। घरमा कुकुर पाल्ने तर फोहोर सडकमा फाल्ने जोकोहीलाई पनि कारबाही गर्न महानगरको टिम सधैँ तैनाथ रहने उनले जनाए।

प्रकाशित: २४ पुस २०८० ०९:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App