२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

शुल्क नदिएको भन्दै विद्यालयले रोक्यो विद्यार्थीलाई परीक्षा दिन

विराटनगर–९ ठाकुरबाडी रोडस्थित सरस्वती माध्यमिक विद्यालयका एक सय बढी विद्यार्थी आइतबारको परीक्षा दिनबाट वञ्चित भएका छन्। अभिभावक लिएर आउनु भन्दै विद्यालयले रोकेपछि विद्यार्थीहरू परीक्षा दिनबाट वञ्चित भएका हुन्।

विद्यार्थीले विद्यालयलाई तिर्नुपर्ने शुल्क नदिएको भन्दै पुस १९ गतेदेखि सुरु भएको परीक्षाअन्तर्गत आइतबारको परीक्षाबाट वञ्चित गराएको छ। सरस्वती मावि सामुदायिक विद्यालय हो । यस विद्यालयमा दुई थरीको पढाई हुँदै आएको छ। नेपाली र अंग्रेजी माध्यममा यस विद्यालयसँगै विराटनगरका अधिकांश सामुदायिक विद्यालयमा पढाइ हुने गरेको छ।

विराटनगर महानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयले दुई थरीका शिक्षा प्रणाली लागू गरेसँगै विद्यार्थीसँग वार्षिक शुल्क बापत लिने गरेका छन्।

परीक्षा शुल्क नतिरेको भन्दै सरस्वती माविले आइतबार एक सयभन्दा बढी विद्यार्थीलाई परीक्षा दिनबाट वञ्चित भएका हुन्। विद्यालयले परीक्षा शुल्क बापत डेढ सयदेखि २ सय रुपैयाँसम्म उठाउने गरेको छ। विद्यालय स्रोतका अनुसार कक्षा ६ देखि १० सम्मका एक सय भन्दा बढी विद्यार्थीलाई परीक्षा शुल्क नतिरेको भन्दै परीक्षा हलमा प्रवेश गर्न दिइएन।

कुनै पनि सामुदायिक विद्यालयले कुनै पनि वहानामा विद्यार्थीसँग दस्तुर लिन नपाउने प्रावधान हुँदाहुँदै यहाँका सामुदायिक विद्यालयले विभिन्न वहानामा रकम असुल्ने गरेको बताउँदै, विद्यालय स्रोतले भन्यो,‘परीक्षा शुल्कका नाममा विद्यार्थीलाई परीक्षा हलमै बस्न नदिनु विद्यालय प्रशासनको गैर जिम्मेवारी कार्य हो। अंग्रेजी माध्यमको बहाना बनाउँदै सामुदायिक विद्यालयहरूले रकम असुल्ने गरेका छन्। एउटै विद्यालयमा दुई थरीको शिक्षा हुँदा विद्यार्थीहरूमै भिन्नता हुने गरेको छ। हुने खाने र हुँदा खानेबिचको शिक्षाको अन्तर सामुदायिक विद्यालयमा नहुनु पर्ने हो। तर, नियमनकारी निकायले चासो नदिँदा दुई थरीको शिक्षा एउटै विद्यालयमा हुनु गलत हो।’

हामीले विद्यालयको शैक्षिक स्तरलाई ध्यानमा राखेर विद्यार्थीहरूलाई आजको परीक्षाबाट वञ्चित गराएका हौँ, विद्यालयकी प्राचार्य अनिता नेपालले भनिन्, ‘विद्यार्थीहरूलाई परीक्षाबाट वञ्चित गराउने भनेका होइनौँ। उनीहरुलाई आफ्नो अभिभावक लिएर आउनु र छुटेको परीक्षा दिनु भनेको मात्रै हो। विद्यालयको शुल्कको कुरै छैन।’

परीक्षाबाट वञ्चित भएका विद्यार्थीको दैनिक विद्यालयको उपस्थिति कम देखिएको छ। उनीहरूको ७५ प्रतिशत बढी दैनिक हाजिरी नपुगेको पाइएपछि अभिभावक लिएर आउनु भनेर घर पठाएका हौँ, प्राचार्य नेपालले बताइन्। २५/३० जना विद्यार्थीमा यो समस्या देखिएको हो। उनीहरु विद्यालयमा नियमित नभएका कारण अभिभावक ल्याउनु र अन्तिम दिन परीक्षा दिन भनेको बताउँदै, प्राचार्य नेपालले भनिन्, ‘सबै विद्यार्थीहरू यहाँका मात्रै छैनन्। मधेस प्रदेशका समेत छन्। उनीहरु यहाँ डेरा लिएर बस्ने र विद्यालय नआउने गरेको हुँदा अभिभावक लिएर आउन भनिएको हो। धेरै जना विद्यार्थीले विद्यालयमा बुझाउनु पर्ने शुल्क बुझाउन बाँकी रहँदासमेत उनीहरुलाई परीक्षाबाट वञ्चित गराएका छैनौँ।’

अंग्रेजी माध्यमबाट पढ्ने विद्यार्थीका अभिभावकसँग ‘अभिभावक सहयोग’ भनेर लिने गरेको प्राचार्य नेपालले बताइन्। कक्षा ६–८ सम्म वार्षिक १० हजार र ९/१० कक्षाका सँग १२ हजार रुपैयाँ विद्यालयले लिँदै आएको बताउँदै, प्राचार्य नेपालले भनिन्, ‘शिक्षा नियमावलीमा सामुदायिक विद्यालयले शुल्क नलिने भनिए पनि हामीहरूले ‘अभिभावक सहयोग’ भनेर लिँदै आएको छौँ। किनभने अंग्रेजी माध्यममा पढाउने शिक्षकहरू ‘पार्टटाइम’ भएको हुँदा उहाँहरूलाई मासिक रुपमा शुल्क बुझाउनु पर्ने भएकाले अभिभावकसँग रकम लिएको हो। शुल्क बुझाउन नसक्ने गरिब तथा विपन्न विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गरिएको छ।’

विद्यार्थीले परीक्षा दिनबाट वञ्चित हुनु ठूलो दुर्भाग्य हो। उनीहरुलाई कुनै पनि बहाना गरेर परीक्षाबाट वञ्चित गराउनु नहुने बताउँदै, विराटनगर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख कृष्ण भट्टराईले भने, ‘मैले पनि विद्यालय बन्द भएपछि मात्रै घटना थाहा पाएको हो। विद्यालयको प्राचार्यसँग फोनमा घटनाका विषयमा कुरा गरे। विद्यार्थीहरूलाई किन परीक्षा दिनबाट रोकिएको विषय सोध्दा दैनिक हाजिर प्रतिशत कम भयो भन्नु भएको छ। सोमबार विद्यालय खुलेपछि थप कुरा लिने छौँ। विद्यार्थीहरूले बाँकी परीक्षा नियमित रुपमा दिन पाउने छन्। उनीहरूको परीक्षा राेकिँदैन र आज वञ्चित भएको परीक्षासमेत दिन पाउने छन्।’

हाजिरलाई लिएर वा शुल्कको कुरालाई लिएर विद्यालयले विद्यार्थीहरूलाई परीक्षा दिनबाट वञ्चित गर्नु हुँदैन। कानुनमा सामुदायिक विद्यालयमा शुल्क लिन नपाउने व्यवस्था भए पनि यहाँका विद्यालयमा व्यवहारिक कठिनाइ भएको हुँदा कानुन बमोजिम सहयोग शुल्क लिन पाउने व्यवस्था अनुसार नै शुल्क लिएको भट्टराईले बताए। 

प्रकाशित: २२ पुस २०८० १३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App